✍ रामचन्द्र ढकाल ‘कोमल’
कता हिँड्यौ बाबु तिमी, यति साह्रै लम्किएर
बोल्न पनि गाह्रो मान्दै, गयौ तिमी गम्किएर
हामी सबै आफन्त हौँ, हित तिम्रो सोचेको हो
कति ठुलो बन्यौ र हो, हिँड्छौ हात हम्किएर ।
सत्य गरी बस्यौ भने, डर हुन्छ यहाँ केको
लाज मान्ने काम छैन, बस्नु हुन्न कोही भोको
निष्ठा हो नि चाहिएको, संरक्षण गर्नु पर्छ
हिंड्नु पर्छ हामी सबै, तारा जस्तै चम्किएर ।
बच्चालाई ज्ञान देऊ, भोको भए खाना राम्रो
निन्द्रा राम्रो पर्नु पर्छ, आकाश् छ नि छाना हाम्रो
मिठो बोल्नु शुद्ध बन्नु, परम्परा धान्नु पर्छ
गुरू सँग नबोल्नु है, कहिल्यै पनि बम्किएर ।
बाल बच्चा बुढा बुढी, रोगी अनि बिरामीको
ख्याल गर्नु सधैं सधैं,छोड्नु शोख सलामीको
हुँदै हुन्न एकनास, दिन रात चाँद तारा
बगी जाने छैन पाप, गंगा जल छम्किएर ।
श्रृगार् गर्नु चट्ट पर्नु, सधैं सधैं खुशी हुनु
सबेरैमा उठ्नु अनि, लिप्नु घर सफा पार्नु
नारी धर्म यही भन्छ, आँखा छल्ने गर्नु हुन्न
पल्याक् पुलुक् नगर्नु है, सिन्दुरमा झम्किएर ।
प्रतिक्रिया