आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना मसँग छ : स्वस्तिमा खड्का

आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना मसँग छ : स्वस्तिमा खड्का


  • तस्बिर : रासस

अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उनले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गरेकी छन् ।

राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको प्रतिक्रिया दिएकी छन् । उनले भनिन्, “एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ । कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ ।” उनले आफू कुनै पार्टीको विचारसँग नभई केही व्यक्तिसँग प्रभावित रहेको पनि बताएकी छन् ।

सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री खड्काले आफू अभिनित चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताइन् । आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएकाले यसपटक दर्शकले फरकरूपमा पाउने उनको भनाइ थियो । अभिनेत्री खड्काले भनिन्, “मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ । यो पूर्णरूपमा व्यावसायिक हो । त्यसैले यो मेरा लागि महत्वपूर्ण छ ।”

निर्देशक कृषा चौलागाईंले आफ्नो लगावका कारण चलचित्र निर्देशन यात्रा सुरु गरेको जानकारी दिँदै भनिन्, “म यो क्षेत्रमा सानै उमेरदेखि निर्मात्रीका रूपमा जोडिएँ । त्यसपछि केही छोटा चलचित्र र विज्ञापनमा काम गरेको अनुभवका आधारमा निर्देशन गरेकी हुँ । यो म एक्लोभन्दा पनि सम्पूर्ण समूहकै प्रयासले सफल भएको हो ।”

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गरेका छन् । यसमा अभिमन्यू निरवीको कथा, पुरुषोत्तम प्रधानको छायाँङ्कन, कविराज गहतराजको नृत्य निर्देशन, सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत, रेनिश फागोको रङ्ग संयोजन, विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।