उपप्रधानमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीलाई शुभकामना

उपप्रधानमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीलाई शुभकामना


उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्ल्ड तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना दिनुभएको छ ।

आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले आगामी भदौ १ देखि १० गतेसम्म काजकिस्तानको अस्तानामा हुने प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई शुभकामना दिनुभएको हो ।

उक्त प्रतियोगितामा विभिन्न तौल समूहमा चार खेलाडी सहभागी हुँदैछन् । ९३ देशका नौ सय बढी खेलाडी उक्त प्रतियोगितामा सहभागी हुने बताइएको छ ।

प्रतियोगितामा रुविका खड्का (तौल समूह ४७), सुस्मिता थापा (५२), पुकार केसी (६४) र अजय बुढामगर (तौल समूह ७०)मा सहभागी हुँदै हुनुहुन्छ । नेपाली टोलीमा अम्पायर अन्जन धमला, कोच रुपसिंह मोक्तान तथा अफिसियल धनबहादुर थापा र विक्रम बुढामगर सहभागी हुने बताइएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले खेलाडी राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताउनुभयो । सरकारले आवश्यक नीति र योजना बनाएर खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने उहाँको भनाइ छ ।

  • रासस