‘विप्लव’ समूहको दोधारको राजनीति

‘विप्लव’ समूहको दोधारको राजनीति


यतिबेला हेर्दा विप्लव नेतृत्वको पार्टी ‘नेकपा’ राजनीतिकरूपले दक्षिणपन्थी, सुधारवादी, यथास्थितिवादी दलदलमा फस्दै गएको देखिएको छ, जसले क्रान्तिकारी आन्दोलन र पार्टीलाई विसर्जनको अवस्थामा पुऱ्याउने निश्चित छ । यो नेपालको कम्युनिष्ट आन्दोलनको एक प्रकारको विचित्रको दृश्य पनि हो ।
✍ डा. केशव देवकोटा

नेपालका कम्युनिष्ट पार्टीहरू तीव्र ध्रुवीकरणमा रहेका छन् । यसैक्रममा हालै कपिलबस्तुको शिवगढीमा गत २८ गतेबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रिय समितिको बैठक जारी छ । सो बैठक मूलतः माओवादी केन्द्रसँगको पार्टी एकतामा केन्द्रित रहेको देखियो । नेतृत्व माओवादी केन्द्रजस्तै संसद्वादी राजनीतिमा आकर्षित भए पनि अन्य नेताहरू आफ्नो पुरानै राजनीतिक अडानमा रहे । ०७१ मंसिर ८ गते मोहन बैद्य नेतृत्वको तत्कालीन नेकपा-माओवादीसँग तीनबुँदे असहमतिपत्र पेश गरेर अलग भएको सो समूह हाल माओवादी केन्द्रसँग अर्को सहमतिको पत्र तयार गरेर संसदीय राजनीतिमा प्रबेशगर्ने बाटो तयगर्दैछ । त्यसले चन्द समूहको हालको ‘दोधारे राजनीतिको झ्याल’बाट नेपालको समग्र कम्युनिष्ट राजनीतिलाई चिहाउन सकिन्छ । यो आलेखमा चन्दले ०७१ मा तत्कालीन नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्यसमक्ष पेश गरेको तीनबुँदे असहमतिपत्र र गत २८ गते हालको चन्द नेतृत्वकै नेकपाको नवौँ केन्द्रिय समितिको चौथो पूर्ण बैठकमा दिइएको उद्घाटन मन्तव्यमा ब्यक्त गरेका कुराहरूलाई विश्लेषण गर्ने प्रयास गरिएको छ ।

त्यतिबेला चन्दले पेश गरेको पत्रमा नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी बनाउने भन्ने विषयमा तत्कालीन नेतृत्वसँग गम्भीर अन्तरहरू देखापरेको उल्लेख थियो । उहाँले दोश्रो बुँदामा ‘राजनीतिक परिस्थिति निकै जटिल बिन्दुमा पुगेको’ उल्लेख गर्दै ‘साम्राज्यवादी, विस्तारवादी र दलाल पूँजीवादीहरू देशमा प्रतिक्रान्ति गर्दै पुरानै प्रतिक्रियावादी राज्यसत्ता लाद्ने ठाउँमा पुगेका छन् । माओवादीलाई सम्पूर्णरूपले बदनाम गर्दै सखाप पार्ने अभियानमा छन् ।

माओवादी आन्दोलन विकेन्द्रित बन्दै कमजोर अवस्थामा पुग्दैछ । यो अवस्थामा माओवादी आन्दोलन र पार्टीलाई एक गुणात्मक राजनीतिक पहलसहित केन्द्रीकृत र ध्रुवीकृत गर्न जरुरी छ’ भन्नुभएको थियो । उक्त बुँदामा ‘प्रतिक्रान्ति र प्रतिक्रियावादी षड्यन्त्रबाट देश र जनतालाई बचाउँदै नेतृत्व गर्नुपर्ने जिम्मेवारी लिनुपर्ने विषयमा आफूहरूका बीचमा सहमति हुननसकेपछि आफ्नो दस्ताबेजसँग सहमति राख्नेहरूलाई देशभरिबाट बोलाई सुझाव लिने काम गर्नुपर्ने अवस्था आएको’ उल्लेख थियो ।

त्यसैगरी तेश्रो बुँदामा- ‘पार्टी गम्भीर मोडमा पुगेको स्थितिमा पनि नयाँ आधारमा नयाँ सहमतिभई अग्रगामी समाधान आउँछ भने त्यो उचित हुन्छभन्ने ठानी हामी केन्द्रीय समितिको पूर्ण बैठकमा सहभागी बन्यौँ । परन्तु अपेक्षाविपरीत अध्यक्षले हदै मनोगत, अमर्यादित, पूर्वाग्रही, फुटपरस्त प्रस्ताव पेश गर्नुभएकाले अभिव्यक्तिहरू पनि पूर्वाग्रहले खचाखच भरिएका एवम् असहिष्णु अनुभूत गरियो । उहाँको यो प्रस्ताव र भनाइहरूलाई स्वीकार्ने हो भने पार्टी राजनीतिकरूपले दक्षिणपन्थी, सुधारवादी, यथास्थितिवादी दलदलमा त फस्ने नै छ, साथसाथै क्रान्तिकारी आन्दोलन र पार्टीलाई विसर्जनको परिणाममा पुऱ्याउने छ । उल्लिखित परिस्थितिमा हामीले एउटै पार्टीमा रहेर सहकार्य गर्न असम्भव देख्यौँ । जब क्रान्ति, पार्टी, क्रान्तिकारी आन्दोलनलाई हेर्ने र प्रयोग गर्नेमा आधारभूतरूपले अन्तर पर्न जान्छ भने त्यहाँ सँगै रहेर काम/कार्यमा एक-अर्कालाई बाधा पार्नु उचित र नैतिक हुँदैन । यसर्थ हामीले आजका मितिदेखि नेतृत्वसँग सम्बन्धविच्छेद गऱ्यौँ’ भनिएको थियो ।

आज करिव १० वर्ष पुग्न लाग्दा चन्दले तिनै आफ्ना असहमतिका बुँदालाई आफै अपनाउन लागेको जस्तो देखिएको छ । नेकपाका अन्य नेताहरूले बैठकमा तिनै कुरालाई पुनः दोहोऱ्याएको अवस्था छ । चन्द समूहले विस्तारवादको विरोधलाई चटक्कै छाडेको छ । भारत पक्षीय अन्य समूहहरूसँग समाजवादी मोर्चामा गोलबन्द भइसकेको छ । नेपाली काङ्ग्रेस र नयाँ एमाले (एकीकृत समाजवादी) सहितको वर्तमान सरकारको खुलेर प्रशंसक भएको छ । देशलाई दलाल पूँजीवादबाट मुक्त गरेर समाजवादका लागि पुष्पकमल र माधव नेपाल तयार हुनुभएको ठहर गर्दै त्यसलाई प्रगतिशील कदम भनेको छ । त्यति हुँदाहुँदै पनि चन्दले गत २८ गतेको आफ्नो मन्तब्यमा ‘देश यतिबेला सम्पूर्णरूपमा सङ्कटग्रस्त छ, विदेशी हस्तक्षेप विशेषतः अमेरिकी साम्राज्यवादी हस्तक्षेप प्रत्यक्ष अगाडि आएको छ, यसको मुख्य कारण देशमा विद्यमान दलाल पूँजीवाद हो’भन्नु भएको थियो । तर उहाँले यसबाट मुक्त गर्न र समाजवादको बाटोमा अगाडि बढ्न दाहाल र नेपालले लिएको कदम प्रगतिशील भएकाले त्यसलाई सकारात्मकरूपमा लिएको उल्लेख पनि गर्नुभयो ।

उहाँले भूमण्डलीकृत पूँजीवाद र अमेरिकी साम्राज्यवादसँग मुख्य अन्तरविरोध अगाडि आएको आफूहरूले निष्कर्ष निकालेको पनि उल्लेख गर्नुभएको छ । तर नेपालमा अमेरिकी हप्तक्षेप (एमसीसी) भित्र्याउन मुख्य भूमिका निर्वाहगर्ने माओवादी केन्द्रसँग पार्टी एकता गर्न पनि प्रयासरत रहनुभएको छ । चन्दले केन्द्रिय समितिको बैठकमा पेश गरेको २२ पृष्ठ लामो लिखित प्रतिवेदनमा अमेरिकी साम्राज्यवादले नेपालका पुराना दलालको सट्टा नयाँ दलाल खडा गरेर साम्राज्यवादी हस्तक्षेप लाद्न खोजेको, साम्राज्यवाद एमसीसी, एसपीपी, धार्मिक, गैरसरकारी संस्था, आर्थिकलगायत अनौपचारिकरूपमा देशभित्र प्रवेश गरिसकेको र अहिले देशमा देखिएको आर्थिक सङ्कटसमेत उनीहरूले प्रायोजितरूपमा पैदा गरेको दाबी गर्नुभएको छ । खासमा नेपालमा नेपालमा उपरोक्त परिस्थिति ल्याउने को हुन् ? भन्ने बारेमा भने उहाँ मौन देखिनुभएको छ । त्यसैगरी सो पार्टीको गत २७ र २८ गते भएको राजनीतिक समितिको बैठकमा पनि देशमा विद्यमान अन्तरविरोधको फेरबदलले माओवादी केन्द्रका अध्यक्ष दाहालमा रुपान्तरणको सम्भावना देखापरेको बताउनुभएको थियो, जुन ठम्याइ आफैमा सरारस गलत छ ।

कुनैबेला विप्लवले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई संशोधनवादी भासमा जान लागेको आरोप लगाउँदै ‘महापतन’ भन्ने पुस्तक नै लेख्नुभएको थियो । सो पुस्तकको सार पुष्पकमल र बाबुरामले क्रान्तिका नाममा थालनी गरेको जनयुद्धमा त्यत्रो बलिदान गराए, जसका विरुद्ध लडे आखिर उनीहरूकै सामु आत्मसमर्पण गरे र वैचारिक-राजनीतिकरूपमा पतन भए भन्ने रहेको थियो ।

समाजवादी मोर्चा गठन भएपछि त्यसभित्र पनि माओवादी केन्द्र र चन्द समूह एकापटी र एकीकृत समाजवादी र जसपा अर्कोपटी रहेको देखिएको छ । मोर्चामा गोलबन्द रहेकै अवस्थामा उपरोक्त दुई समूहले माओवादी केन्द्रसँग सम्बन्ध बिच्छेद गर्ने तयारी गरिसकेका छन् । यदि चन्द समूहले आफूलाई एमसीसीविरोधीका रूपमा खडा गरेको खण्डमा माओवादी केन्द्रसँगको सम्बन्ध बिच्छेद हुने अवस्था छ । चन्दले ०७१ मंसिर आठगते परित्याग गर्नुभएको तत्कालीन नेकपा-माओवादी हाल क्रान्तिकारी कम्युनिष्ट पार्टीको नामले क्रियाशील रहेको छ । विचारका हिसाबले पनि दृढ देखिन्छ । सो पार्टीले माओवादी केन्द्रलगायतका दलहरूलाई प्रतिक्रियावादी शक्तिका रूपमा परिभाषित गरेको छ । चारदलीय समाजवादी मोर्चाले भन्नेगरेको समाजवाद प्रतिक्रियावादी समाजवाद भएको बताएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपाले बनाएको चारदलीय समाजवादी मोर्चा त्यही दलाल संसदीय सत्तामा जाने भऱ्याङका रूपमा प्रयोग गर्न खोजिएको तथा सो मोर्चा देशको स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्याको पक्षमा नरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको ठहर रहेको देखिन्छ । यस्तो अवस्थामा नेकपाका महासचिव चन्दले हालै ब्यक्त गर्नुभएका विचारहरू यहाँको बस्तुस्थितिभन्दा ठीक विपरीत रहेका छन् ।

चन्द समूहले ०७१ मा तत्कालीन नेकपा माओवादीसँग राखेका विमतिका बुँदाहरू केवल अलग हुने बहानामात्र थिए भन्ने कुरा पछिल्ला भनाइ र गराइले स्पष्ट गरेका छन् । अमेरिकाले गत महिना सार्वजनिक गरेको नेपालसम्बन्धी एक प्रतिवेदनमासमेत चन्द समूहलाई सन् २०२१ देखि नै शान्तिपूर्ण राजनीतिमा ल्याउन सफल भएको उल्लेख गरिएको छ । त्यसैले चन्द समूह र माओवादी केन्द्रलाई मिलाउन परिचालित शक्ति कुन हो भन्ने स्पष्ट भएको छ । चन्द समूहमा पछिल्ला दिनमा आएका कतिपय धारणात्मक परिवर्तनले समेत उपरोक्त कुराको पुष्टि गरेका छन् । चन्द पछिल्ला दिनमा ‘द्वन्द्वात्मक भौतिकवाद अपुरो भइसकेको, जसले समाजवाद दिएको तर रक्षा गर्न नसकेको’ निष्कर्षमा पुग्नुभएको छ । साउन सात गते नेपाल एकेडेमीमा पुष्पलाल स्मृति दिवसमा आयोजित एक कार्यक्रममा उहाँले ब्यक्त गर्नु भएका विचारले नै चन्द नेतृत्वको नेकपामा सैद्धान्तिक विचलन तीव्र भएको सङ्केत गरेको थियो । उहाँले त्यसक्रममा द्वन्द्वात्मक भौतिकवादका कुनै नियम काम नलाग्ने, त्यो एकमा दुई विभाजन भन्ने नियम पनि काम लाग्दैन । निषेधको निषेध भन्ने नियम पनि काम लाग्दैन । समाजले त्यसलाई अस्वीकार गरिसक्यो भन्ने आशय ब्यक्त गर्नुभएको थियो । एकीकृत जनक्रान्तिको नारा दिएर विद्रोहमा उत्रिएका नेत्रविक्रम चन्द पछिल्लो समयमा समाजवादी मोर्चा हुँदै शान्तिपूर्ण संसदीय राजनीतिमा होमिने अन्तिम तयारीमा रहनुभएको देखिएको छ ।

कुनैबेला माओवादी केन्द्रका अध्यक्ष दाहाललाई नै संशोधनवादी भासमा जान लागेको आरोप लगाउँदै उहाँले ‘महापतन’ भन्ने पुस्तक नै लेख्नुभएको थियो । सो पुस्तकको सार पुष्पकमल र बाबुरामले क्रान्तिका नाममा थालनी गरेको जनयुद्धमा त्यत्रो बलिदान गराए, जसका विरुद्ध लडे आखिर उनीहरूकै सामु आत्मसमर्पण गरे र वैचारिक-राजनीतिकरूपमा पतन भए भन्ने रहेको थियो । माओवादी केन्द्रले आफूलाई खुलेआम र औपचारिकरूपमै (०६३ पछि) संसद्वादी पार्टी भनेको छ । उ स्वदेशमा नेपाली काङ्ग्रेस र विदेशमा भारतको संस्थापन पक्ष (भाजपा) लाई छोड्नै नसक्ने अवस्थामा पुगेको देखिन्छ । अमेरिकासँग पनि सम्बन्ध बढ्दो छ । हिजो चन्दले जसका विरुद्ध कडा अभिव्यक्ति दिनुहुन्थ्यो, आज उसैको प्रसंशामा समय बिताउन थाल्नुभएको छ ।

चन्द पनि कहिल्यै थिर हुन सक्नुभएन । माओवादी केन्द्र आफै संगठित हुन नसकिरहेकै बेला चन्दले सो पार्टीमा प्रवश गर्ने बाटो तय गर्नुले नेपालको कम्युनिष्ट आन्दोलनलाई थप छरप्रष्ट गराउने देखिएको छ । यतिबेला हेर्दा विप्लव नेतृत्वको पार्टी ‘नेकपा’ राजनीतिकरूपले दक्षिणपन्थी, सुधारवादी, यथास्थितिवादी दलदलमा फस्दै गएको देखिएको छ, जसले क्रान्तिकारी आन्दोलन र पार्टीलाई विसर्जनको अवस्थामा पुऱ्याउने निश्चित छ । यो नेपालको कम्युनिष्ट आन्दोलनको एक प्रकारको विचित्रको दृश्य पनि हो ।