सुदूरपश्चिमका पहाडी जिल्लामा हर्षोउल्लासका साथ मनाईदै ओल्के पर्व

सुदूरपश्चिमका पहाडी जिल्लामा हर्षोउल्लासका साथ मनाईदै ओल्के पर्व


  • डम्बर निदाल, डडेल्धुरा

आज भदौ १ गते ओल्के संक्रान्ति पर्व । डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा हर्षोेउल्लासका साथ मनाइँदैछ । हरेक बर्ष भाद्र संक्रान्तिका दिन मनाइने यो पर्वमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप बाँडेर हर्षोउल्लासपूर्वक मनाइने प्रचलन रहेको छ । सुदूरपश्चिमेली भाषामा ओल्के भन्नाले सौगात, उपहार अर्थात कोसेली भन्ने बुझिन्छ ।

ओल्केको अर्थ आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार हो । डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशमा परम्परागत रुपमा मनाइने मौलिक चाँड ‘ओल्के’ संक्रान्तिका रुपमा मनाईन्छ । आजका दिन बन्ढुनी बार्ने । ओल्को रुपमा एक अर्का लाई घरायसी चिज, वस्तु, सामाग्री उपहार दिने प्रचलन छ । बुढेली संगै यँहाका स्थानियले एक महिना पछि बुढी पोल्ने पर्व (बन्ढुनी) मनाउछन । यसका लागी आजै गाउँघर नजिक परम्परागत रुपमा सदियौ देखि चलि आएको प्रचलन अनुसार रुखका हागाबिंगा एकै ठाँउमा थुपारी बन्ढुनी बारिन्छ ।

बिसुँ खानु मरुँलो भनि, ओल्के खानु बाँचुलो भनी, भन्ने मान्यताका साथ यो पर्व मनाईन्छ । खास गरी सुदूरपश्चिमका पहाडी क्षेत्रमा आजैै बन्ढुनी बारिन्छ र ठिक एक महिना पछि बुढी पोल्ने भन्दै घर घर बाट आगोको राँको निकाली जलाईन्छ । आउँदो असोज १ गते मनाइने सुदूरपश्चिम प्रदेशमा बन्ढुनी संक्रान्तिका लागि बन्ढुनी पोल्ने ठाउँमा विशेष गरि सल्लाको रुख निश्चित एक स्थानमा गाडेर अन्य बोटविरुवा काठी वरपर राखी जमा पारेर बन्ढुनी बारिन्छ । जसलाई असोज १ गतेका दिन बुढी पोल्ने भनि जलाउने गरिन्छ ।

ओल्के पर्वमा बिवाहित छोरी लाई माइती घरमा आमन्त्रण गरी सेल, पुरी, माणा, डुब्का,खिर लगायतका सुदुरपश्चिमका प्रख्यात खानाका मीठा मिठा परिकार पकाएर खाने खुवाउने प्रचलन छ । ओल्के पर्वका दिन भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाउने गरिन्छ । भँगेरी फूलको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने र यसले बर्षातको मौसममा खेतबारीमा काम गर्दा हात, खुट्टामा देखिने छाला सम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहि आएको छ । ओल्के संक्रान्ति बाटै हिन्दु धर्माबलम्बिका अन्य चाँड बाँड शुरु हुने पण्डित रामचन्द्र भट्ट बताउँछन् ।

ओल्के पर्वलाई गर्मीयामको प्रकोप र महामारी बाट बचेर नवजीवनको प्राप्ति भएको खुशियालीमा मनाईदै आएको जनविश्वास छ । सुदूरपश्चिममा ग्रिष्मयामलाई संकटकालको रुपमा र भदौ पछाडिको समय लाई नवजिवन प्राप्तिको रुपमा लिने गरिन्छ । आजका दिन श्रद्धालु भक्तजनहरु नजिकैको जलाशयमा गई स्नान गर्नुका साथै मन्दिर एवं देवस्थलमा ओल्को अर्थात हरिया सागपातहरु चढाउने गर्दछन । यस पर्वमा महिलाहरु माईत जाने एवं अघिल्लो दिन घर परिवारमा मिष्ठ भोजन लिने प्रचलन रहेको छ । द्धापरी युगमा भगवान श्री कृष्णले कुटना बुढीलाई दाह गरेको सम्झनामा असोज एक गते बुढी पोल्ने परम्परा छ । भगवान श्री कृष्णले कुटुना बुढीलाई दाह जलाउन अघि एक महिना सम्म युद्ध गरेकाले ओल्के पर्वका दिन बुढी बनाई ठिक एक महिना पछि जलाईने पण्डित भट्ट बताउँछन् ।

मानिसमा भएका दुव्र्यवहार, मानवमा आउने नरम्रा कुराहरु, रिस, घमण्ड लाई जलाउने रुपमा आश्विन संक्रान्तिका दिन जलाईने पण्डित भट्टको भनाई छ । सदियौँ देखि मनाइँदै आइएको यो चाडको रौनक र महत्वका बारेमा बृद्धबृद्धा केही जानकार रहे पनि नयाँ पिँढीका युवायुवती माँझ भने यो पर्वले प्राथमिकता पाउन छोडेको छ । फलस्वरुप सुदूरपश्चिमका मौलिक संस्कृती ओल्के जस्ता थुप्रै चाडपर्वको मौलिकता नै हराउन थालेको पण्डित भट्टले बताए ।