जीवनलाई हेर्ने दृष्टिकोण फेरियो, अनि जिन्दगीले पूरै कोल्टे फेऱ्यो : पवन ढकाल

जीवनलाई हेर्ने दृष्टिकोण फेरियो, अनि जिन्दगीले पूरै कोल्टे फेऱ्यो : पवन ढकाल


  • विकाश रौनियार

मुलुक उर्जा क्षेत्रमा आत्मनिर्भर बन्नका लागि विभिन्न स्थानमा साना ठूला जलविद्युत आयोजना सञ्चालनमा छन्, तर दक्ष जनशक्तिको सधैं अभाव हुने गरेको छ । जलविद्यूतको क्षेत्रमा काम गर्ने जनशक्ति अभावलाई मध्यनजर गर्दै धादिङको धुनिवेसीमा जलविद्युतको क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई लक्षित गरी प्राविधिक शिक्षालय सञ्चालनमा छ भने पछिल्लो समय विद्यार्थीको आकर्षण पनि बढेको छ ।

यसरी प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने व्यक्ति हुन् धादिङ धुनिवेशी-५ का पवन ढकाल, जो २५ वर्षपहिले इन्जिनियरिङ अध्ययनको सिलसिलामा जर्मनी पुगेका थिए ।

जर्मनी पुगेपछि त्यहाँको यूनिर्भसिटी अफ ब्रेमेनमा एरोस्पेस इन्जीनियरिङबाट उनले स्नातकोत्तर गरे । स्नातकोत्तर सकिएलगत्तै जर्मनीकै एयरवस जर्मनी हुँदै हाल इटलीस्थित ‘ट्रोयर (Troyer) हाइड्रो’को प्रबन्धकको रूपमा कार्यरत छन् । उनी सोही हाइड्रोको लगानीकर्ता पनि हुन् ।

उनको अनुभवमा २०१५ को भूकम्पले उनको जीवनलाई हेर्ने दृष्टिकोण फेरियो, अनि जिन्दगीले पूरै कोल्टे फेऱ्यो । नेपालको त्यो कष्टकालसँगै विदेशमा बस्ने अरु नेपाली जस्तै उनले पनि आफ्नो मातृभूमिमा केही न केही गर्ने अठोट गरे । यसै क्रममा जर्मनीमा विगत सयौँ वर्षदेखि जीवन्त रूपमा सफलतापूर्वक सञ्चालन भइरहेको Dual Vocational concept मा आधारित शिक्षा प्रणाली नेपालमा ल्याउन पाए नेपालको यूवा बेरोजगारी समस्या र खाडी मूलुकमा जाने परिपाटीको अन्त्य हुन्छ भन्ने उनलाई लाग्यो ।

उनी आफ्नो व्यावहारिक काममा सफल हुँदै आफ्नो समाज र आफू जन्मेको मूलुकको सेवामा निस्वार्थ रुपमा काम गर्दै आफ्नो, ज्ञान, धन र बुद्धि निःशुल्क रुपमा प्रदान गर्दै आएका छन् । यसमा उनको एउटा मात्र स्वार्थ छ । त्यो हो आफू जस्तै आफ्ना गाउँ-ठाउँका युवाको लागि गुणस्तरीय शिक्षा दिन सकियोस् र आफ्नो पेट पाल्नको लागि मात्र कुनै पनि युवा २२ वर्षअघि आफू गएजस्तै विदेशमा जान नपरोस्, भौँतारिन नपरोस् ।

धादिङको धुनीबेंसीस्थित ढकाल खोलामा केही वर्षअघि सुरु गरिएको जर्मन प्राविधिक शिक्षालयमा पछिल्लो समय प्राविधिक तथा इन्जिनियरिङ विषय अध्ययन पूरा गरेका विद्यार्थीहरूको आकर्षण बढेको छ । कार्यक्षेत्रमा जानुअघि यहाँ प्रयोगात्मक ज्ञान दिइने भएकाले विद्यार्थीहरू आर्कषिक भएका हुन् ।

नेपनालमा उर्जा क्षेत्रमा आत्मनिर्भर बन्न विभिन्न स्थानमा साना-ठूला जलविद्यूत आयोजनाहरू बन्ने क्रममा रहे पनि दक्ष जनशक्तिका भने अहिले पनि अभाव छ । जनशक्तिको अभाव पूरा गर्न जलविद्यूतको क्षेत्रमा काम गर्ने प्राविधिकहरूलाई लक्षित गरिएको प्राविधिक कक्षामा अहिले ३० जना सहभागी छन् । प्राविधिक कक्षामा सहभागीले तालिमले आफूहरूलाई कार्यक्षेत्रमा आउने समस्या तथा चुनौतीको सामना गर्ने विश्वास दिएको तालिममा सहभागीले बताए ।

पढाइ पुरा गरेर आउँदा पनि आफूहहरू पूर्ण रूपमा दक्ष नहुने भएकाले तालिम आवश्यक भएको विद्यार्थीहरू बताउँछन् ।

सिधै आयोजनामा काम गर्न जाँदा सिक्न नै एक वर्ष लाग्ने अवस्थामा तालिम लिँदा तीन महिनामै आफूहरू दक्ष हुने तालिममा सहभागीहरूको भनाइ छ । दक्ष जनशक्तिको अभाव पुर्तिका लागि तालिमको आयोजना गरिएको जलविद्यूत विज्ञको भनाइ छ ।

केही वर्ष अघिदेखि सुरु भएको यो तालिम नेपालमै मात्रै नभएर दक्षिण एसियाकै पहिलो भएको आयोजकको दाबी छ । यसले प्राविधिक विषय पढेका विद्यार्थीलाई प्रयोगात्मक कक्षा लिन पाउने व्यवस्था गरेको छ ।

पवन ढकालले परिकल्पना गरेको एकिकृत विश्वविद्यालय स्थापना गर्ने योजनाको सुरुवातको रुपमा लिन सकिन्छ । यसलाई उपलब्धितर्फ एउटा कोेशेढुङ्गाको रुपमा उनले साबित गरेका छन् ।

धुनिबेंसी नगरपालिका धादिङका प्रमुख बालकृष्ण आचार्य आफू स्थापित हुँदहुँदै पनि विदेशमा गएर आफ्नो भूगोल सम्झिएर आएकामा यो तालिमका लागि धुनिबेंसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य सघाउन नीति निर्माणमा जुटेको बताउँछन् ।

शिक्षालयमा अहिले जलविद्युतसँगै मेटल वर्कसप, काठका कामसम्बन्धी दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि ३ देखि १२ महिनाको कक्षासमेत सञ्चालन गरिरहेको छ ।

जलविद्यूतमा आवश्यक जनशक्तिमा आत्मनिर्भरका लागि प्राविधिक शिक्षा उपलब्ध गराउन राज्यले नै लगानी बढाउन आवश्यक छ ।