पृथ्वी, लखन, शालिक : हैन… यो मुलुकलाई के भएको ?!

पृथ्वी, लखन, शालिक : हैन… यो मुलुकलाई के भएको ?!


✍ विश्वप्रकाश सुवेदी

उतिबेलै (पचास वर्षजति अघि ?) काठमाडौं पोखरा जोड्ने राजमार्गको नाम पृथ्वी राजमार्ग राख्ने र पृथ्वीचोकमा पृथ्वीनारायणको शालिक राख्ने काम भएको रहेछ । सरकारको निर्णयानुसार त्यो बेला बनेको शालिक र भएकै स्थानको नामाकरणलाई विना कारण यसरी हटाउनु हुन्छ ? यो कसैको घरको मामिला हो ? यो खालको विवाद र बखेडा झिक्नेहरूलाई लाज र अपराधबोध हुनुपर्ने होइन ? नेपाल हो, यहाँ जे-जस्ता अनर्थ पनि हजम हुन्छन् ।

जसले जे भनोस्, जसरी उफ्रोस् तर पृथ्वीनारायण शाह नै यो राष्ट्रका नं. एक विभूति र राष्ट्रपिता नै हुन् । यिनको त्यहाँको शालिक राखेर र नराखेर इतिहास बदलिन्न, बरु तपाईं र हाम्रो दरिद्र सोचमात्र उदाङ्गिइरहेछ ।

पोखरालाई लखन थापाको कति योगदान छ या उनी गोरखामा ठडिन उपयुक्त छन् ? यस्ता कुरा हेरी शालिक स्थानान्तरण गर्दा राम्रो । यसो गर्दा कुनै राम्रो ठाउँ छानेर त्यहाँ नयाँ विकास गरेर गरियोस् । जस्तो, पोखरामा अमरसिंह विद्यालय खडा गर्ने वीरसिङ गुरुङ (?), त्यहीँ योगदान गर्ने अन्य ऐतिहासिक र सांस्कृतिक व्यक्तित्वहरूको देनलाई सम्झिनुपर्छ भने गोर्खाले पृथ्वीनारायण शाह, भीमसेन थापा, लखन थापा, अमरसिंह (दुवै), भक्ति थापा (लमजुङ), आदिबारे सोच्न सकिन्छ ।…

अनि विभूतिहरू तिनले मुलुक र नेपाली समग्र जातिलाई दिएको योगदानको आधारमा नभइ आजभन्दा भोलि झन्-झन् जातीय, दलीय र नश्लीय बन्दै जानुले हाम्रो धेर्यको परीक्षा लिइरहेछन् ।…

….अनि केही काम नपाएर शालिकको खेती गरेर उधुम मच्चाउनु भने काम छैन । अर्को वितण्डाको लहर चल्ला फेरि

र, १७४ किलोमिटर लामो नौबिसेदेखि पोखराको बाटोलाई पृथ्वीराजमार्ग नामाकरण गरेको र अन्तिम विन्दुमा नेपाल सरकारको निर्णय र सहयोगमा चीनियाँ सरकारले नै शालिक स्थापना गर्दै उदघाटन भएको यो शालिक नै ऐतिहासिक हो भने यो तथ्यलाई ह्याकुलाले मिचेर त्यही ठाउँमा जबर्जस्ती लखन थापालाई जुधाएर पाखुराठेलाइ काम छैन । यसले लखनको उचाइ र कद घटाउने मात्र काम गर्छ ।

अनि शहीद र विभूति जातीय हैन राष्ट्रिय हुन्छन् र, हुनुपर्छ । नत्र तिनलाई खोपीको देउता या कुलपुजाका गुफातिर घुसारे भइहाल्यो नि !! सार्वजनिक स्थलमा उभ्याएर तमासा किन बनाउनु ? देखिनेगरी कुनै योगदान दिएको र, यो-यो उपलब्धि फलानो शहीद या विभूतिले गरे भन्ने देखाउने र शोध गर्ने चासो र चिन्ता नहुनु तर स्नेहवश शाहराजाले ‘राणाशाहीलाई हटाउने र राजाशाहीलाई बलियो बनाउने’ भनेर आवाज उठाएको प्यारो दिवंगत प्रजालाई माया मानेर अभिलेखमा राम्रो विचार र शोध नगरी, या झुक्किएर या गलत सूचनाको आधारमा ‘पहिलो शहीद’ भनी दर्ज गरेको देखियो । बिडम्बना, तिनै ‘प्रथम शहीद’को शालिक उभ्याउन राष्ट्रका एकीकरणकर्ताको निशानीलाई हटाउने ?? अरु ठाउँ पाइएन ?

कुनै पनि मुलुकका शहीद र विभूतिहरू सीमित जातीय, नश्लीय, पारिवारिक या सानो समुदायको लागि हैन सर्वोपरि राष्ट्रिय हितको लागि ठोस देखिने काम गरेको हुुनुपर्छ र हुन्छन् । नत्र त्यस्ता महान्हरूलाई खोपीको देउता या कुलपुजाका गुफातिर घुसारे भैहाल्यो नि !! सार्वजनिक स्थलमा उभ्याएर तमासा किन बनाउनु ? देखिने गरी कुनै योगदान दिएको र यो यो उपलब्धि फलानो शहीद या विभूतिले गरे भन्ने देखाउने र शोध गर्ने चासो र चिन्ता नहुनु तर प्राविधिक रूपमा राजा वीरेन्द्रले राणाशाहीलाई हटाउने र राजाशाहीलाई बलियो बनाउन योगदान दिन खोजेका उत्साही मनकामाना र कालीभक्त दिवंगत युवालाई उचित कदर गर्नैपर्दा पनि यो ढंगले गर्नु तिनको त्यतिखेरको भावनाको मान भयो कि अपमान ?

अर्को कुरा नेपालका शाह, राणा, थापा आदि सबका सब मगरका हाँगाबिँगा हुन् । राजकाजमा गएकाले उतिखेरको आवश्यकताले मगर भनिएनन्, तर मगर नै हुन् । यस पृष्ठभूमिमा पृथ्वीनारायण शाहलाई बाहुनक्षेत्रीले र लखनलाई मगर, तामाङ, गुरुङले बोकेर तमासा र बेतुकका काम भएको देख्दा लाज लाग्छ । …हैन यो मुलुकलाई के भएको हो ?