- तस्बिर : रासस
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सरकारले सुरुआत गरेको भ्रष्टाचारविरुद्धको अभियानमा कोही निर्दोष नफस्ने र कोही पनि दोषी उम्कन नसक्ने बताउनुभएको छ ।
गोरखाको अजिरकोट गाउँपालिका-३, भच्चेकस्थित भच्चेक आधारभूत अस्पतालको शुक्रबार उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान सरकार रहुञ्जेलसम्म भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताउनुभएको हो ।
‘कोही निर्दोष पस्ने काम हुँदैन’, उहाँले भन्नुभयोे, ‘तर कोही दोषी र अपराधीलाई छोड्ने काम पनि हुँदैन, जुन दिनसम्म सरकार रहन्छ त्यति बेलासम्म सुशासनको अभियानलाई सरकारले अझ प्रभावकारी रूपमा निरन्तर अगाडि बढाउनेछ ।’ उहाँले अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा कानुनको दायरामा ल्याएर दण्डित गरेरै छाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
‘आम मिटरब्याजी पीडित जनतालाई न्याय दिन मिटरब्याजीविरुद्धको अभियान पनि चल्दैछ’, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘जतिजति सुशासनको अभियान चल्दैछ र जनताको पक्षमा काम हुँदैछ, त्यतित्यति नै भ्रष्टाचारी र तस्कर आत्तिएर सरकारलाई अगाडि बढ्न नदिन, भाँजो हालेर रोक्नका लागि विभिन्न षडयन्त्र गरिरहेका छन् ।’ उहाँले राम्रो काम गर्दा खराब प्रवृत्तिका विरुद्धमा जुध्नुपर्छ भन्ने कुरा आफूहरूले राम्रोसँग बुझेको बताउनुभयो ।

‘सरकारले राम्रो काम गर्न थालेपछि नराम्रो काम गर्नेले त्यसलाई सहजै अगाडि बढ्न दिँदैनन्’, उहाँले भन्नुभयो, ‘यो नियम नै हो, यसकारण अहिले दलाल, ठग, भ्रष्टाचारी र तस्कर छटपटियो तिनका संरक्षक सल्बलायो, सरकारलाई अप्ठेरो पा¥यो भनेर तै चुपमै चुप भएर बस्ने पक्षमा सरकार छैन, त्यसरी हामी बस्दैनौँ ।’
गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्ने र आमनागरिकको दैनिक जीवनका आवश्यकता पूरा गर्दै आनन्दले बाँच्न पाउने गरी जनताले नयाँ जीवनको अनुभूति गर्ने खालको समाज रुपान्तरण गर्न चाहेको बताउनुभयो । ‘अब नागरिकले आनन्दले बाँच्न पाइयो, दैनिक जीवनका आवश्यकता पूरा पनि भयो र हामीले नयाँ जीवन पायौैँ भनेर अनुभूति गर्न पाओस्’, उहाँले भन्नुभयो, ‘भ्रष्ट, अपराधी, दलाल र तस्करले भने अब हाम्रा दिन गएछ भनेर बुझ्ने दिन आओस्, हामी त्यस्तो देश बनाउन चाहन्छौँ ।’
उहाँले सङ्घीय सरकारले देशको सामाजिक र आर्थिक क्षेत्रको रुपान्तरणका लागि सुशासन र सम्बृद्धिको अभियानलाई केन्द्रविन्दु राखेर अघि बढेको बताउनुभयो । ‘सरकार सबै खालका अपराधमाथि नियन्त्रण गर्दै र त्यसमा संलग्न दोषीलाई कानुनको कठघरामा ल्याउने र कारबाही गर्ने प्रक्रियामा अघि बढिरहेको छ’, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘दोषीलाई कारबाही गर्दा अब त पुग्यो भनेर विश्राम लिने पक्षमा छैनौँ, नेपालमा सुशासन स्थापित गर्न र जनतालाई विकासको प्रतिफल दिनका लागि हामी निरन्तर दृढतापूर्वक अगाडि बढ्नेछौँ ।’
गृहमन्त्री श्रेष्ठले मन्त्रीलाई धक्की दिएर, घेराबन्दीमा राखेर गलत प्रवृत्ति बोकेका कसैको पनि सपना पूरा हुन नदिने बताउनुभयो । ‘मन्त्रीलाई काम गर्न नदिएर, सरकारलाई अप्ठेरो पारेर भ्रष्टाचारविरुद्धको अभियान रोकिन्छ भनेर कसैले नसोचे हुन्छ’, उहाँले भन्नुभयो, ‘हामी पदका लागि पदमा गएका होइनौँ, देश र जनताको निम्ति काम गर्न गएका हौँ, जुन दिनसम्म पदमा बस्छौँ, देश र जनताका निम्ति सर्मपित भएर काम गर्छौं र यो अभियान विर्सजित गर्दैनौँ, यो अभियानलाई निरन्तर अगाडि बढाउँछौँ ।’
पालिकास्तरीय अस्पतालको उद्घाटन
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले गोरखाको अजिरकोट गाउँपालिकाको पालिकास्तरीय आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको छ । अजिरकोट गाउँपालिका-३, स्थित भच्चेकमा रहेको भच्चेक आधारभूत अस्पतालको एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो ।
विस २०३४ सालमा स्थापना भएको स्वास्थ्यचौकीलाई पाँच शय्यामा स्तरोन्नति गरी पालिकास्तरीय अस्पतालको रुपमा विकास गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । अस्पतालबाट चिकित्सकीय सेवा दिन सुरु भइसकेको उहाँको भनाइ छ ।

चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी १८ जनाको दरवन्दी रहेको अस्पतालमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि पालिकाले प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै अध्यक्ष देवकोटाले भन्नुभयो, ‘पालिकाले आफ्नै पहलमा उक्त अस्पतालबाट गत आर्थिक वर्षका साउनदेखि नै २४ चौविसै घण्टा आकस्मिक स्वास्थ्य उपचारसेवा प्रदान गर्दै आएको छ ।’
भच्चेक आधारभूत अस्पतालबाट अजिरकोट गाउँपालिकासहित सिरानचोक, बारपाक सुलिकोट गाउँपालिका र लमजुङको दूधपोखरी गाउँपालिकाका बासिन्दाले स्वास्थय उपचार सेवा लिन सहज हुने हुने गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया