✍ बलराम उपाध्याय सिलवाल
तीन भाइ/चार भाइ/बाह्र भाइको राइँदाइँ । आफ्नो स्वार्थ पूरा गर्न पाए पुग्यो, पाप-धर्मको छ्यानब्यान रहेन । हल्लैहल्लाको देश, हल्लाले देश चलाउँदो । निःस्वार्थी मनुवा स्यालको सिङ झैँ दुर्लभ । प्रत्युन्मतियुक्त आँ.. गर्दा अलङ्कार बुझ्ने मनुष्यको अभाव । कसैको स्वार्थमा आफूले साथ नदिँदा उसको मुख बाङ्गो । मुनासिव काममा पूर्वाग्रहीले दुराग्रह राख्छ । देहात्माको नाऊँ जीवन । दुईदिने चक्र बुझ्न त धर्मराज-नचिकेताको दोहोरी आत्मसात् गरे भैहाल्यो नि । किन ठेलीका ठेली पोस्तक पढ्नुपरो ? किन धर्मान्ध तथाकथित धार्मिक ठेक्दारको पिछलग्गु हुनुपरो र ?
सत्य त तितेकरेली । को ठिक को बेठिक छुट्याउन गाह्रो । हिजो ठिक कहलिएका दलहरू आज बेठिक; हिजो ठिक कहलिएको व्यवस्था आज बेठिक हुँदा छन् । यो भन्ने कुरो होओइन, मनन गर्नुपरो । कसको भनाइ पत्याउने कसको नपत्याउने । सबै एकसेएक माहिर, कोही भन्दा कोही कम छैन । मुलुक हाँक्ने दुई तिन्टा गतिलो दल भए पुगिहाल्छ नि, किन चाहियो सितिकसो दल ?
अखण्ड मुलुक विभाजित तुल्यायो, तोर्मे नेताहरूले । कतै जातको नाऊँमा, कतै प्रदेशको नाऊँमा, कतै नश्लको नाऊँमा । नियामक छैन, गैर सर्कारी संस्थाहरू अराजकता, साम्प्रदायिकता र धर्म प्रचारमा । युरो/डलरको खेती । मानवता शून्य । स्वधर्म संस्कृतिको विनाश । पाजीहरू अ.त. ।
लबस्तरो कुरो चलाउँछ, घुस हजमोला झैँ पचाउँछ । बेफ्वाँकमा जिन्दगी रित्याउँदो । असामयिक मृत्युवरण गर्दो, पिशाच बन्दो । मनुले स्त्रीलाई नजरअन्दाज गरे नि मैले सम्मान गर्दो छु किन्तु शकुनी चरित्रवालीले संशय पैदा गर्दो छ । एकजना एशियाली विद्वान् घुम्दैफिर्दै अम्रिका पुगेछन् । उनीलाई अम्रिकानेले सोधेछ, ‘तिमी एशियालीहरू रङ्गीविरङ्गी देखिन्छौ, हामीहरू चैँ एकै रङका छौँ, यसो भयो किन ?’ प्रत्युत्तरमा उनले भनेछन्, ‘हामी एशियालीहरू घोडा झैँ रङ्गीविरङ्गी हुन्छौँ, तिमेरु चैँ गधा झैँ एक रङका हुन्छौँ । ’ यसो भनेसि गधा बन्नुपरो भनेर अम्रिकाने चुप लागेछ । हो, मान्छे भनेको घोडा झैँ हुनुपर्छ, गधा झैँ होओइन । घोडा फरक तर गधा एक समान । सबैमा चेतना भया ।
बहुदलीय पद्धति चाम्रो व्यवस्था हो । यसले चोटिलो प्रहार सहन्छ । निर्दलीय/एकतन्त्रीय परिपाटी मौलिक हकहरूउपर असहिष्णु हुन्छ । दुर्गुणसित सगुण नि छ परन्तु कार्यान्वयन नहुने । धनी सम्भ्रान्त हुँदै जाने, गरिब तन्नम् हुँदै जाने बहुलाहा निर्विवेकी व्यवस्था । समाजवाद त देखाउने दाँत, परिवारवाद/नातावाद/कृपावाद चपाउने दाँत । सर्वत्र हाहाकार । स्वत्व रहेन, परचक्रीको रजाइँ । मऱ्यो ज्युँदै त्यो जसले बिर्स्यो देशको माटो । प्रबन्ध हो, लामु किन लेख्नुपरो र ? बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।
प्रतिक्रिया