बस्तीमा देखिन थालेको बाघलाई नियन्त्रणमा लिने प्रयास अझै असफल

बस्तीमा देखिन थालेको बाघलाई नियन्त्रणमा लिने प्रयास अझै असफल


symbolic image

बस्तीमा देखिन थालेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जको प्रयास असफल बन्दै आएको छ ।

पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २६, २७, २८ लगायतका क्षेत्रमा देखा परेको बाघ नियन्त्रणका लागि निकुञ्जले प्राविधिक टोली खटाएको छ । साउन २५ गतेदेखि निकुञ्जको टोली परिचालन भएको भए पनि अहिलेसम्म बाघलाई नियन्त्रणमा लिन सकेको छैन ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अहिले वाघ मेघौली क्षेत्रमा रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिनका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा २२ जना खटिएका छन् ।

यस्तै, दैनिक सात हात्ती परिचालन गरिएको बताइएको छ । हात्तीलाई आवश्यकताअनुसार थपघट गरिँदै आएको छ । टोलीले बाघ भेटेको भए पनि डार्ट गर्न नसक्दा नियन्त्रणमा लिन कठिन भएको हो ।

तिवारीका अनुसार अनुमानित आठ वर्षको यो बाघ बस्तिको छेउ छाउमा आउने, पशु चौपायमाथि आक्रमण गर्न थालेपछि यसलाई नियन्त्रणमा लिन लागिएको हो । उनले भनेका छन्, “बाघ बस्ती क्षेत्रमा बस्न नरुचाउने जनावर हो । यो किन बस्तीको नजिक बस्न थाल्यो भन्ने विषयमा बुझ्दै छौँ ।”

बस्ती क्षेत्रआसपासमा बस्न खोज्नुले बाघको अवस्थाबारे बुझ्न र नियन्त्रणमा लिएर निकुञ्ज आसपासका जनतालाई त्रासमुक्त बनाउन टोली खटाइएको हो ।

निकुञ्जले बाघ नियन्त्रणमा लिए पनि राख्ने ठाउँको भने अभाव भएको छ । बाघ राख्ने खोरको अभावका कारण नियन्त्रणमा लिएपछि बाघलाई कहाँ राख्ने भन्ने अन्यौल छ । केही महिनाअघि नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्जमा लगेर छोडिएको थियो भने साउनमा नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जको भित्री क्षेत्रमा लगेर छोडिएको थियो ।

निकुञ्जको खोरमा अहिले पनि पाँच बाघ रहेका छन् । कसरामा रहेका तीन बाघमध्ये एउटा चार वर्ष घि बाँकेमा हिंस्रक बनेर मान्छेको सिकार गर्न थालेपछि नियन्त्रणमा लिएर यहाँ ल्याइएको हो । सो अन्दाजी १० वर्षको भाले बाघ हो । गत वर्ष चितवनकै माडीमा मानिसलाई आक्रमण गरी मारेपछि अन्दाजी १३ वर्षको पोथी बाघ नियन्त्रणमा लिएर खोरमा राखिएको छ । अर्को देवनगरबाट तीन वर्ष अघि ल्याइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ ।

तीन वटै बाघलाई कसरामा पक्की खोरमा राखिएको छ । सौराहामा रहेका दुई बाघमध्ये एउटा यही साउन महिनामा खैरहनीबाट नियन्त्रणमा लिएर खोरमा राखिएको छ । उक्त बाघ अन्दाजी चार वर्षको भाले हो । अर्को गत वर्ष मेघौलीबाट ल्याइएको अन्दाजी १० वर्षको भाले रहेको छ ।

  • रासस