धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश


मुलुकलाई केही नेताहरूले धर्मनिरपेक्ष बनाएपनि एक हनुमानभक्त चमत्कारी युवालाई देख्न-भेट्नका लागि जम्मा भएको विशाल भीड नेपालीहरूको हिन्दु धर्मप्रतिको आस्था र सम्मान पनि हो ।
✍ बबिता बस्नेत

‘बागेश्वर धाम सरकारलाई हेर्ने गर्नुभएको छ ? धीरेन्द्र शास्त्री…?’ करिव डेढ वर्षअघि कसैको प्रश्नपछि मैले सोधेँ- ‘के हो यो भनेको ? त्यसअघि मैले यस्तो नाम कहिल्यै सुनेकी थिइनँ । ‘धीरेन्द्र शास्त्री’ भनेर सर्च गर्दा हँसिलो अनुहार भएका एक युवाले आफूअगाडि रहेको लाखौँको भीडलाई सम्बोधन गरिरहेको देखेँ । हेर्दै जाँदा एकपछि अर्को चमत्कारिक कुराहरू देखिए । मानिसको मनका कुराहरू लेखिदिने, उनलाई भेट्नका लागि कहाँ-कहाँदेखि मानिसहरू जम्मा हुने, हिन्दु सनातनी भनेर बोलिरहे पनि अन्य धर्म मान्ने मानिस पनि उनको अघिल्तिर गएर आफ्नो बारेमा जिज्ञासा राख्ने, विभिन्न देश जहाँ गएपनि उत्तिकै भीड ! हँसिमजाक पनि त्यत्तिकै, सेन्स अफ ह्युमरसहितको सशक्त युवा जसले सनातनी हिन्दु धर्मका बारेमा सर्वसाधारण, विभिन्न क्षेत्र, पेशा, ब्यवसायमा संलग्न ब्यक्तिहरू मात्र नभइ वर्षौंवर्ष धार्मिक र आध्यात्मिक अध्यास गरेका सन्यासी, जोगी बाबाहरूलाई समेत प्रवचन दिइरहेको छ ।

२६ वर्षको युवाको त्यो चमत्कारिक ब्यक्तित्वलाई फलो गर्दै जाँदा महाशिवरात्रीका दिन आफूले अविभावकत्व ग्रहण गरेर १ सय २५ जना युवतीको सामूहिक विवाह गरिदिएको देखेँ । यस्ता युवती जसमध्ये कतिका अविभावक थिएनन् र, कतिपयका अविभावक भएपनि आर्थिक रुपले कमजोर थिए । दाइजोविरोधी उनका अभिब्यक्ति निकै राम्रो लाग्यो । उनी आफै निकै दुःखको पृष्ठभूमिबाट गुज्रिएका रहेछन् । घरमा खाना नहुँदा आमाले कसरी आफूले नखाइ उनीहरूलाई रोटी खुवाउँथिन् र घरको छानाबाट पानी चुहिएर ओछ्यान भिज्दा कसरी उनीहरू रात कटाउँथे… अर्काको घरमा टेलिभिजन हेर्न जाँदा कसरी उनलाई ह्युमिलेट गरियो… जस्ता कुराहरूले उनीप्रतिको आकर्षण झनै बढ्यो । रजत शर्मासँगको अन्तवार्ता हेरेपछि ‘यो मान्छेसँग एक पटकचाहिँ भेट्नैपर्छ’ भन्ने लागेको थियो । आफूलाई लागेको कुरा सबै पूरा हुँदैनन् तर आत्मविश्वासले भरिएका यी युवालाई भेट्ने अवसर भने बरुण चौधरीले पूरा गरिदिए ।

धर्म र अध्यात्म फरक कुरा हुन् । म धार्मिक प्रवचनहरू ज्यादै कम सुन्छु, आध्यात्मिक प्रवचन या कुराकानी भने सुन्न मन लाग्छ । ओशोका विचारहरू मैले अहिलेसम्म सुनेकामध्ये सबैभन्दा उच्च विचार हुन् । तर म ओशोधाममै गएर ध्यान या त्यहाँ हुने नाचगानमा सहभागी भएकी छैन । सद्गुरुलाई फलो गर्छु र उहाँको ‘इनर इन्जिनियरिङ कोर्ष’ एकपल्ट गर्नुपर्छ कि भन्ने लागेको छ । गौतम बुद्धसम्बन्धी पुस्तकहरू भेटेसम्म पढ्छु, ध्यान गर्छु । धीरेन्द्र शास्त्री आध्यात्मिक गुरु नभइ हनुमानका परम् अनुयायी हुन् । उनी आफैले भन्ने गरेका छन्- मैले जे गरिरहेको छु त्यो हनुमानजीको कृपा हो, मलाई होइन हनुमानजीलाई धन्यवाद भन्नुस् र उहाँलाई आफ्नो मन-मष्तिष्कमा राख्नुस् । जसरी त्रेता युगमा रामलाई हनुमानले मन, मष्तिष्कमा सजाएर रामलाई नै जिन्दगीको केन्द्रबिन्दु मान्नुभएको थियो त्यसैगरी कलियुगमा धीरेन्द्र शास्त्रीले हनुमानजीलाई केन्द्रबिन्दु मानेर अगाडि बढेको देखिन्छ । हनुमान चालिसाका लेखक तुलसी दासलाई हनुमानले प्रत्यक्ष दर्शन दिएको र कुराकानीको क्रममा आफू सबै युगमा रहने र कलियुगमा मान्छेको रूपमा हुने भन्नुभएको कुरा विभिन्न धार्मिक दस्ताबेजमा उल्लेख छ ।

मध्यप्रदेशस्थित बागेश्वर धाममा प्रत्येक दिन मान्छेको भीड लाग्न थालेपछि धीरेन्द्र शास्त्रीप्रति चासो हुनु स्वभाविक नै हो । भारतीय मिडियाले उनको बारेमा के बोलेनन्, के लेखेनन् ? कतिले चाहिँ आफै गएर प्रयोग पनि गरे । सात महिनाअघिको केही दिन भारतीय मिडियामा धीरेन्द्र शास्त्री र बागेश्वर धामबाहेक भारतमा कुनै समाचार नै छैन कि, घटना नै केही घटेको छैन कि… जस्तो थियो । त्यतिबेलै बनाएका केही बिकाउ भिडियोहरू अहिले केहीले नेपालमा सेयर गरिरहेका छन् । धीरेन्द्र शास्त्रीले गरेका विभिन्न देशका भ्रमणलाई हेर्दा ती देशमा रहेका हिन्दु मात्र नभइ सबै धर्म/सम्प्रदायले न्यायो स्वागत गरेको देखिन्छ । तर अचम्म त के भने केही वर्ष अघिसम्म हिन्दुराष्ट्र भएको र अहिले ८१.३४ प्रतिशत हिन्दु जनसंख्या भएको छिमेकी देश नेपाल आउन लाग्दा मूल प्रवाहका केही मिडियाले सुरुमै ‘अतिवादी हिन्दु नेपाल आउन लाग्यो’ भनेर नकरात्मक समाचार लेखी उनको भ्रमणलाई विवादित बनाउन लागि परे ।

मूलप्रवाहका मिडियाले लेखेको कुरासँग मानिसलाई साँच्चिकै वास्ता हुन छोडेछ । जसरी धीरेन्द्र शास्त्रीको भ्रमणप्रति नकरात्मक धारणा बनाउन मद्दत पुग्ने सामाग्रीहरू प्रकाशित गरिएको थियो, तिनका आधारमा त्यतिका धेरै मानिसहरूको उपस्थिति नहुनुपर्ने थियो । तर, मानिसहरूले त्यस्ता कुरालाई वास्तै गरेनन् ।

हामीकहाँ कुनैपनि कुरा बाहिर आएपछि ‘यो के होला ? किन लेखियो ? यसका पछाडि के कारण हुनसक्छ ? जुन विषयमा लेखिएको छ त्यो कत्तिको सही छ ?’ भनेर विश्लेषण गर्ने कमै चलन छ । यो मान्छेले राम्रो गरेका केही कुरा छन् कि भनेर खोज्ने मानिसहरूको सङ्ख्या त झनै कम छ । कतिपय मानिसहरूले ती सामाग्री सेयर गर्दै देश बर्बाद गर्ने मान्छे आउन लागे झैँ गरेर सेयर पनि गरे । तर त्यस्ता सामाग्रीले मानिसहरूको आस्थालाई रोक्न सकेन । उनी जहाँ गयो त्यहीँ हजारौँको संख्यामा मानिसहरू जम्मा भएर उनको जयजयकार गर्दै न्यायो स्वागत गरे ।

पशुपतिनाथदेखि शाश्वत धामसम्मको बागेश्वर सरकारको यात्रालाई हेर्ने हो भने युवा जमातको सहभागिता धेरै देखियो । ‘धर्म त बुढाबुढीले मान्ने हो या अशिक्षितले मान्ने हो, जान्नेसुन्ने, पढे-लेखेका, युवाहरूले कहाँ धर्म मान्छन् !’ भन्ने धारणलाई धीरेन्द्र शास्त्रीको कार्यक्रममा युवाको सहभागिताले र सामाजिक सन्जालमा उनीप्रतिको सकारात्मक सामाग्री सम्प्रेषणले ताडिदिएको छ । मिडियाकर्मीको रूपमा मलाई लागेको अलि आफैलाई कस्तो-कस्तो लाग्ने सन्देशचाहिँ के हो भने मूलप्रवाहका मिडियाले लेखेको कुरासँग मानिसलाई साँच्चिकै वास्ता हुन छोडेछ । जसरी धीरेन्द्र शास्त्रीको भ्रमणप्रति नकरात्मक धारणा बनाउन मद्दत पुग्ने सामाग्रीहरू प्रकाशित गरिएको थियो, तिनका आधारमा त्यतिका धेरै मानिसहरूको उपस्थिति नहुनुपर्ने थियो । तर, मानिसहरूले त्यस्ता कुरालाई वास्तै गरेनन् ।

खासमा नेपालबाट भारतमा र भारतबाट नेपालमा हिन्दु धर्मका अनुयायीहरू आवतजावत गर्नु अत्यन्त सामान्य कुरा थियो, हो । बाँचुञ्जेल देवी, देवताको दर्शन मात्र नभइ मरेपछि आप्mनो अस्तु त काशीमा सेलाउने चाहने नेपालीको सङ्ख्या ठुलो छ । वनारस, विध्याञ्चल, गया, बद्री–केदारनाथ लगायतका भारतमा रहेका धर्मस्थल नेपालीका लागि र पशुपतिनाथ, मुक्तिनाथ जस्ता धार्मिक स्थल भारतीयका लागि साझा झैँ छन् । काशी विश्वनाथमा नेपाली पूजारी, पशुपतिनाथमा भारतीय पूजारी… धार्मिक आस्था भएका मानिसहरू आउने-जाने गर्नु सामान्य अभ्यास भएपनि धीरेन्द्र शास्त्रीलाई नेपालीहरूले असामान्य र अद्भूत स्वागत-सम्मान दिएका छन् । मुलुकलाई केही नेताहरूले धर्मनिरपेक्ष बनाएपनि एक हनुमानभक्त चमत्कारी युवालाई देख्न-भेट्नका लागि जम्मा भएको विशाल भीड नेपालीहरूको हिन्दु धर्मप्रतिको आस्था र सम्मान पनि हो ।

धीरेन्द्र शास्त्रीको भ्रमणको अर्को सन्देश के पनि हो भने हाम्रा नेताहरू मनमा आस्था हुँदाहुँदै पनि अरुले के भन्लान् भनेर डराउने अवस्थामा पुगेछन् । प्रधानमन्त्री प्रचण्ड उनलाई भेट्न मन नभएर रोकिनुभएको होइन, अरुले के भन्ने हुन् कि भनेर नभेट्नु भएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ कम्युनिष्ट भएपनि आध्यात्मिक भएकाले भेट गर्नुभयो तर किन भेटेँ भनेर उहाँले पनि स्पष्टीकरण दिनुप¥यो । आफ्नो आस्थाका प्रतिनिधिहरूलाई भेट्न स्पटीकरण दिनुपर्ने अवस्था आउनु राम्रो कुरा होइन । जुनसुकै ओहदामा पुगेपनि आफ्नो आस्थालाई मानिसले प्रकट गर्न पाउने परिस्थिति हुनुपर्छ । त्यस्तो परिस्थिति अरुले नभइ सम्बन्धित ब्यक्ति आफैले बनाउने हो ।

धर्मगुरुहरू विवादमा परेर निराशा छाएको र भएका गुरुहरूको आकर्षणमा स्थिरता आएको बेला धीरेन्द्र शास्त्रीको प्रकटीकरणले युवा समूहका पनि गुरु हुनसक्छन् है भन्ने सन्देश दिएको छ । भोलि के हुन्छ भन्न सकिन्न तर अहिलेसम्मको उनको आत्मविश्वासले युवाहरूमा धर्मप्रति आकर्षण बढाएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सार्वजनिक समारोहमा गएर ‘म यो देशको प्रधानमन्त्रीको हैसियतमा नभएर हिन्दु धर्मावलम्बीको हैसियतमा उभिएको छु’ भन्दै गणेश, हनुमानजी लगायत विभिन्न देवी-देवताको नाम लिएर बोल्न हुने अनि हाम्रा उपप्रधानमन्त्रीले चाहिँ ‘आँ… म… यो कारणले…’ भनिरहनु पर्ने किन ? डर-धक बिना आफ्नो आस्था विश्वमा कुनैपनि पदमा पुगेका मानिसले प्रकट गर्ने गरेकै देखिएको छ । यद्यपि, हिन्दु एक धर्म मात्रै नभएर जीवन-पद्दति हो । सनातन यस्तो धर्म हो जहाँ ‘ओम’ नाम भएकाले पनि विरोध गर्न पाउँछन्, गरिरहेको देखिन्छ ।

हिन्दु धर्मका नाममा ढोँग गर्नेहरूको सङ्ख्या ठुलो छ । विभिन्न नामका धर्मगुरुहरू विगतमा विवादमा परेका, धर्मका नाममा अधर्म गरेका उदाहरणहरू पनि धेरै छन् । धर्म गुरुहरू विवादमा परेर निराशा छाएको र भएका गुरुहरूको आकर्षणमा स्थिरता आएको बेला धीरेन्द्र शास्त्रीको प्रकटीकरणले युवा समूहका पनि गुरु हुनसक्छन् है भन्ने सन्देश दिएको छ । भोलि के हुन्छ भन्न सकिन्न तर अहिलेसम्मको उनको आत्मविश्वासले युवाहरूमा धर्मप्रति आकर्षण बढाएको छ ।

पूर्वीय दर्शनमा भगवत गीताको पहिलो अध्याय नै ‘धर्म’ शब्दबाट सुरु भएको छ । प्रथम अध्यायमा धृतराष्ट्रले भनेका छन्- ‘धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः । मामका पाण्डवाश्चैव किमकुर्वत संजय ।।’ नेपालीमा यसको अर्थ हुन्छ- ‘हे संजय, कुरुक्षेत्रको पवित्र भूमिमा युद्ध गर्ने इच्छाले एकत्रित भएपछि मेरा र पाण्डुका छोराहरूले के गरे ?’ गीता बुझ्नका लागि पहिला महाभारत बुझ्नुपर्छ । धर्म र स्वधर्मका बारेमा महाभारतमा कृष्णले अर्जुनलाई लामो समय खर्च गरेर सम्झाएका छन् । धर्म शब्द कुन अर्थमा प्रयोग भएको छ त्यसमा भरपर्छ । धर्मसँग कसैले डराउनु या आफ्नो आस्था प्रकट गर्न हिच्किचाउनु पर्ने केही छैन, यसको सही सदुपयोग भए पुग्छ । प्राणी जगतमा जसले जे गरिरहेको छ त्यो इमान्दारीपूर्वक गर्नु धर्म हो ।