विद्याको आवश्यकता बोध गरेकोले स्पष्टीकरण !

विद्याको आवश्यकता बोध गरेकोले स्पष्टीकरण !


नेकपा एमालेका नेता कर्ण थापासँग पार्टीले स्पष्टीकरण लिने निर्णय गरेको छ । थापाले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा एमालेको आन्तरिक एकता बलियो बनाउन र, वामपन्थीहरूको बृहत्तर शक्ति निर्माण गर्न पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउनुपर्ने धारणा प्रकट गरेका थिए । थापाको आशय केपीपछि एमालेको नेतृत्व विद्या भण्डारीले लिनुपर्छ भन्ने थियो ।

उनको यस्तो अभिव्यक्तिलाई एमालेका अन्य नेताहरूले सामान्य रूपमा लिएपनि अध्यक्ष केपी शर्मा ओलीले गम्भीरतापूर्वक लिए । पार्टी सचिवालयको बैठकमै केपीले विद्याजीप्रति कटाक्ष गर्दै ‘चुपचाप बस्नु उपयुक्त हुने’ सुझाव दिएका थिए र, कर्ण थापालाई पार्टीबाट कारवाही गर्न प्रस्ताव राखेका थिए । तर, शङ्कर पोखरेल र बिष्णु रिमालबाहेक बैठकका अधिकाङ्श सहभागीले कारवाही गर्ने कुरामा सहमति जनाएनन् । केपीले पार्टी नेतृत्वमाथि अविश्वास र आशङ्का उत्पन्न हुनेगरी अभिव्यक्ति दिने छुट कसैलाई नहुने भन्दै कारवाही गर्नुपर्नेमा अड्डी लिएपछि अन्ततः थापासँग स्पष्टीकरण लिने निष्कर्षमा बैठक पुगेको थियो ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आफै सक्रिय राजनीतिमा आउन इच्छुक भएको बुझिन्न र, उहाँले त्यस्तो अभिब्यक्ति या सङ्केतसम्म पनि दिनुभएको छैन । तर एमालेभित्र केपीपछिको नेतृत्वलाई लिएर धेरैले चिन्ता गरेको पाइन्छ र, उनीहरूले विद्या भण्डारीबाहेक अरू कसैले एमालेको नेतृत्व सम्हाल्न नसक्ने धारणा पनि प्रकट गर्ने गरेका छन् । एमालेका कतिपय नेता र स्वतन्त्र बुद्धिजीवीहरूले विद्या भण्डारीलाई भेटी केपीपछिको नेतृत्व सम्हाल्न आग्रह गरिरहेको पनि बुझिन्छ । यसो भन्नेहरूलाई विद्याले ‘केपीले राम्रै गरिरहनुभएको छ’ भन्ने जवाफ दिएर निरास बनाइदिने गर्नुभएको पनि बुझिएको छ । त्यस्तै, अर्का एकथरी मानिसले विद्या भण्डारीकै नेतृत्वमा बृहत वामपन्थी एकता हुनसक्ने भन्दै त्यसनिम्ति पहल गरिरहेका पनि छन्, तर विद्याले कसैलाई कुनै ठोस वचन दिनुभएको छैन ।

यसरी विद्या भण्डारी संयमित रहँदारहँदै पनि केपी किन ज्यादा तरङ्गित भएका हुन् भन्ने प्रश्न एमालेभित्र गम्भीर ढङ्गले उठिरहेको छ । स्पष्टीकरण लिइने भएपछि कर्ण थापा आश्चर्यचकित परेका छन्, उनले आफ्नो धारणा स्पष्ट गर्दै चुनौतीपूर्ण जवाफ फर्काउने मानसिकता बनाएको बुझिएको छ ।