गृह र अर्थमन्त्रीलाई चर्को गाली गरेर चर्चामा आएका सुनिल शर्मा आफूलाई अपराधबाट उन्मूक्ति दिलाउनसक्ने ब्यक्ति र शक्तिको खोजीमा घर-घर धाउन थालेका छन् ।
दुई औपचारिक नाम, दुई जिल्लाको नागरिकता र शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र भएका शर्मामाथि हिंसा र बल प्रयोग गरेर अर्काको मेडिकल कलेज कब्जा गरेको आरोप लागेको छ । तर, अहिले मेडिकल कलेज कब्जासम्बन्धी मुद्दाका कारण उनी तनावमा परेका होइनन् ।
नेपाल प्रहरीको सीआइबीले शर्मामाथि अनुसन्धान गर्दा उनले नक्कली शैक्षिक प्रमाणपत्र र दुई जिल्लाको नागरिकता प्रयोग गरेको प्रमाण फेला पारेको छ । अनुसन्धानका क्रममा पक्राउ परेर पनि अदालतको आदेशले छुटेका सुनिलमाथि सीआइबीले अनुसन्धान पूरा भएपछि मुद्दा दायर गर्ने तयारी गरिरहेको छ । यसको जानकारी स्वयं सुनिललाई पनि छ, त्यसैले उनि उक्त मुद्दा अदालतसम्म जान नदिइ प्रहरीमै टुङ्ग्याउन लागिपरेका छन् ।
शर्माले एक सूत्रमार्फत आफू नारायणकाजीसँग मिल्न चाहेको भन्दै अनुसन्धान अन्त्य गरिदिनुपर्ने शर्त अघि सारेका थिए, तर नारायणकाजीले उनको प्रस्तावलाई कुनै वास्ता गरेनन् । त्यसपछि उनले माओवादी र काङ्ग्रेसका अनेक च्यानलमार्फत नारायणकाजीलाई सन्देश पठाए, तर अनुसन्धानको प्रक्रियामा रहेको विषयमा कसैको कुरा सुन्न गृहमन्त्रीले आवश्यक ठानेनन् । त्यसपछि शर्मा देशी र विदेशी शक्तिकेन्द्रहरूकहाँ धाउन थालेको पाइएको छ ।
अहिले शर्माको भनाइ छ- ‘मैले नक्कली प्रमाणपत्र नै लिएको भएपनि त्यसलाई प्रयोग गरेर मैले कहिल्यै सरकारी सेवामा प्रवेश गरेर तलब सुविधा लिने काम नगरेकोले मलाई यसमा मुद्दा चलाउन मिल्दैन । ‘तर शर्माले सांसदको रूपमा बुझ्ने गरेको तलब भत्ता पनि सरकारी सुविधा नै भएको चाहिँ बिर्सिएजस्तो देखिएको छ ।
प्रतिक्रिया