आत्महत्याको ‘महामारी’ : नियन्त्रणको उपाय के ?

आत्महत्याको ‘महामारी’ : नियन्त्रणको उपाय के ?


नेपाललगायत विश्वका हरेक देशमा अहिले एकदम डरलाग्दो समस्याको रूपमा रहेको आत्महत्याको विषयलाई लिएर आज सबै देश चिन्तित छन् । जीवन कति मुल्यवान छ भन्ने कुराको हेक्का राख्न छाडेकै कारण आत्महत्या लगायतका सामाजिक घटनाहरू हुने गरेका छन् । परिवारका सदस्यहरू बीचमा नै एकको लागि अर्को सदस्य बोझ बन्दै गइरहेको समेत पछिल्ला घटनाले देखाउँदै गएको छ ।
✍ भोजराज पाण्डेय

समाजमा मानिसको लागि आफ्नो मुल्य अन्य बस्तुको तुलनामा नगन्य बनेको छ । आफ्नो तथा परिवारको जीविकोपार्जनको लागि वैदेशिक रोजगारीको कारण पनि लामो समयसम्म पारिवारिक मिलन नहुँदा परिवारकै सदस्यहरू बीचमा आपसी सद्भाव, माया ममता र अपरिहार्यता हराँंदै गएको छ । मानिसको पहिचान केवल पैसासँग मात्र तुलना हुन थालेको छ । वैदेशिक रोजगार मानिसको लागि अपरिहार्यता वा अनिवार्य आवश्यकता बनेको छ । किनभने देखासिकी र विदेश गएपछि सहज तरिकाले धेरै पैसा आर्जन गर्न सकिन्छ भन्ने भाष्य स्थापित हुनु र, स्वदेशमा अनेकन सम्भावना हुँदाहुँदै वैदेशिक रोजगार बाहेक अरु विकल्प नदेख्ने परिपाटीले हाम्रो सामाजिक संरचना नराम्रो गरि खल्बलिएको छ ।

अस्ति मात्रै एक जना मित्र कार्यालयमा आउँदा गुनासो गर्दै थिए, ‘सर ! विदेश नजाउँ श्रीमती पाल्न गाह्रो, विदेश जाउँ श्रीमती जोगाउन गाह्रो !’ सामाजिक सञ्जालको सर्वसुलभ पहुँचको कारण पनि यो समस्या अहिले हरेक परिवारको टाउकोदुखाइ बनेको छ । परिवार पाल्ने चाहाना र बाध्यताले वैदेशिक रोजगारीमा जाँदा घर परिवारबाट अवश्य पनि टाढा रहनुपर्ने हुन्छ । रातदिन केवल घर–परिवार र परिवारका सदस्यहरूको लालनपालनको गर्जो टार्ने र सकेसम्म धन सम्पत्ति आर्जन गर्ने महत्वकाङ्क्षासहित कठिन मेहनत गरेर घरमा फर्किंदा धेरैको सपना भताभुङ्ग भएको छ । एयरपोर्टमा श्रीमान् लिन जान्छु भनि हिँडेका कतिपयका जीवनसंगिनी बीचबाटोबाटै श्रीमान्ले विदेशबाट पठाएको पैसाको पोको बोकेर आफूले जन्माएका बालबच्चाहरू समेत घरमा छोडी अर्कैसँग भागेर परिवारको बिचल्ली पारेका घटनाहरू छन् । पुरुष अथक मेहनत गरि वैदेशिक रोजगारीबाट घरमा फर्कंदा न परिवार घरमा हुन्छ ? न आफूले आर्जन गरिपठाएको धन सम्पत्ति नै ? यसले गर्दा पारिवारिक विचलन आइ विविध प्रकृतिका सामाजिक अपराधका घटनाहरू समेत हुने गरेका छन् ।

हाम्रो समाजले अहिले हरेक घटनाहरूलाई सामान्य रूपमा लिन थालेको अवस्था छ । पहिले एक जना मानिसको मृत्युमा रेडियो तथा पत्रपत्रिकामा बनेको समाचारले धेरैका कान ठाडा बनाउँथ्यो । अहिले अवस्था फेरिएको छ । बाटोमा बेवारिसे अवस्थामा मृत्यु भएको मानिसको पहिचान खुलाउन महिनौँ लाग्दछ । मानिसले मानिसको सोधखोज गर्न छोडेको जस्तो देखिन्छ । किनभने, मानिसको महत्व घट्दै गइरहेको आभाष भइरहेको छ । परिवारका सदस्यहरू बीचमा नै एकको लागि अर्को सदस्य बोझ बन्दै गइरहेको समेत पछिल्ला घटनाले देखाउँदै गएको छ ।

मानिसले प्राण त्याग गर्ने कुरालाई सामान्य र हल्का रूपमा लिन थालेको कारण यस्ता घटनाहरू दैनिक रूपमा पुनरावृत्ति हुन थालेका छन् । जीवन कति मुल्यवान छ भन्ने कुराको हेक्का राख्न छाडेकै कारण आत्महत्या लगायतका सामाजिक घटनाहरू हुने गरेका छन् । सामान्य विषयमा आफ्नो भावावेगलाई नियन्त्रण गर्न नसक्दा यस्ता प्रकृतिका घटना दिनानुदिन बढ्दै गइरहेका छन् । नेपाललगायत विश्वका हरेक देशमा अहिले एकदम डरलाग्दो समस्याको रूपमा रहेको आत्महत्याको विषयलाई लिएर आज सबै देश चिन्तित छन् ।

मानिसको मस्तिष्कमा सकारात्मक र नकारात्मक दुवै सोच रहेको हुन्छ । सकारात्मक सोचमा परिवर्तन आइ कुनै परिवेश, घटनाविशेषलाई लिई त्यही विषयमा निरन्तर मानसिक उल्झन गरि उक्त समस्या समाधान गर्न असमर्थ भएको कारण अथवा अब यो समस्यालाई म कुनै पनि हालतमा समाधान गर्न सक्दिनँ भन्ने नकारात्मक र निरासावादी सोच मनमा हावि भइ सोको कारण आफ्नो जीवनप्रति नै अत्यन्त घृणा भाव महसूस गरि अस्वभाविक रूपमा मृत्युवरण गर्नुलाई आत्महत्या भनिन्छ ।

मानिसले समस्यालाई दुई प्रकारले लिएको हुन्छ- एउटा सरल र अर्को कठिन । सरल समस्यालाई उसले आफ्ना साथिभाइ र साथीहरूसँग सेयर पनि गर्दछ र, त्यसको तत्काल समाधान पनि हुन्छ । किनभने समस्यालाई सेयर गर्दा सहज तरिकाले त्यसको समाधान निकाल्न सकिन्छ । तर कठिन समस्यालाई उसले आफन्तजन तथा साथीहरूलाई सेयर गर्दैन । किनकि उसले पहिले नै कल्पना गरिसकेको हुन्छ कि यो समाधान हुँदैन, जुन सेयर गरेमा समाजमा उसको बेइजती हुने वा अवगाल आउने हुन सक्छ भन्ने उसलाई लागिरहेको हुन्छ । समस्या समाधान हुन नसकेको कारण मन अशान्त हुन्छ र भित्रभित्रै नैराश्यताले उसमा जरा गाड्न थाल्छ । अन्ततोगत्वा उसले उक्त समस्याको समाधान केबल मृत्यु नै हो भन्ने ठान्छ र सहजै मृत्युवरण गर्दछ ।

यसै तथ्यलाई मनन गरि नेपाल सरकारले मुलुकी अपराध (संहिता) ऐन २०७४ मा आत्महत्यासम्बन्धी विषयलाई पहिलो पटक कानूनी दायरामा ल्याएको छ । उक्त ऐनको परिच्छेद १२ को दफा १८५ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुदैन भन्ने उल्लेख छ । उक्त ऐनको दफा १८५ विरुद्ध कसूर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिवाना हुनेछ भन्ने उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष विश्वभर करिव आठ लाख मानिसहरूले आत्महत्या गरि मृत्युवरण गर्दछन् । हरेक ३ सेकेण्डमा एकजनाले आत्महत्याको प्रयास गर्दछ भने प्रत्येक ४० सेकेण्डमा १ जनाको आत्महत्याको कारण मृत्यु हुने गर्दछ । विश्वभरमा हुने गरेका आत्महत्याका घटनाहरूलाई हेर्ने हो भने प्रायः पुरुषहरूको तुलनामा महिलाहरूले बढी आत्महत्या गर्दछन् । तर नेपालको सन्दर्भमा महिलाभन्दा पुरुषहरूले बढी आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ । आत्महत्याको दर गृहणी, विद्यार्थी, मजदुर र बेरोजगारमा बढी भएको पाइन्छ । आत्महत्या गर्नेमा विश्वमा रहेका देशहरूको तुलनामा नेपाल तेह्रौँ स्थानमा रहेको छ । प्रायः गरेर १५ वर्ष देखि ४५ वर्षको उमेरकाहरूले बढी आत्महत्या गर्ने गरेको पाइन्छ । त्यसमा पनि खास गरि सहाराविहीन, निको नहुने रोगले ग्रसित र पीडादायी रोगको बिरामी (६० वर्षदेखि माथि) भएकाहरूले पनि पीडासँग संघर्ष गर्न नसकी आत्महत्या गर्ने गरेको पाइन्छ ।

नवलपरासी (ब.सु.प.) जिल्लामा पनि आत्महत्या लगायतका सामाजिक अपराधहरूको तथ्याङ्क डरलाग्दो छ । आत्महत्याको अवस्थालाई हेर्दा महिलाको तुलनामा पुरुषहरूले बढी आत्महत्या गर्ने गरेको तथ्याङ्कले देखाएको छ । नवलपरासी जिल्लाको आत्महत्याको पछिल्लो त्रिवर्षीय तथ्याङ्कलाई विश्लेषण गर्दा यहाँ आर्थिक वर्ष ०७७÷७८ मा ७४ जना पुरुषले आत्महत्या गरेका छन् भने ३९ जना महिलाहरू आत्महत्याको शिकार भएका छन् । त्यसमा पनि झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क बढी छ । उक्त आ.व.मा आत्महत्याको कारण मृत्यु भएका ११३ जना मध्ये ५१ जना पुरुष र २५ जना महिला गरि जम्मा ७६ जनाले झुण्डिएर आत्महत्या गरेका थिए भने विष सेवन गरि आत्महत्या गर्नेको संख्या त्यसपछि रहेको छ । झुण्डिएर आत्महत्या गर्दा धेरैले आफूले ओढ्ने सल, पछ्यौरी वा नाइलनको मसिनो डोरीको पासो लगाई झुण्डिने गरेको घटनाको अनुसन्धानले देखाएको छ । विष सेवन गरि आत्महत्या गर्नेमा २० जना पुरुष र १३ जना महिला गरि जम्मा ३३ जना रहेका छन् । विष सेवन गरि आत्महत्या गर्दा धेरैले खेतबारीमा किरा मार्न प्रयोग हुने विषादीको बढी प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी आर्थिक वर्ष ०७८/७९ मा ७२ जना पुरुष र २९ जना महिलाहरू गरि जम्मा १०१ जनाले आत्महत्या गरेका छन् । यस आ.व.मा पनि झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्क नै बढी छ । जसमा आत्मत्याको कारण मृत्यु भएका १०१ जनामध्ये ५६ जना पुरुष र २० जना महिला गरि जम्मा ७६ जना छन् । अघिल्लो आ.व.को तुलनामा यस आ.व.मा पुरुष आत्महत्या गर्ने संख्या ५ जनाले बढेको छ भने महिला आत्महत्या गर्नेमा ५ जना कमी छ । यास आ.व. मा पनि विष सेवन गरि आत्महत्या गर्नेको संख्या त्यस पछि रहेको छ । विष सेवन गरि आत्महत्या गर्नेमा १४ जना पुरुष र ७ जना महिला गरि जम्मा २१ जना रहेका छन् । विष सेवन गरि आत्महत्या गर्दा यस आ.व.मा पनि खेतबारीमा किरा मार्न प्रयोग हुने बिषादीको नै बढी प्रयोग भएको पाइएको छ ।

त्यसै गरि आर्थिक वर्ष ०७९/८० मा ४९ जना पुरुष र ३७ जना महिलाहरू गरि जम्मा ८६ जनाले आत्महत्या गरेका छन् । यस आ.व.मा पनि झुण्डिएर आत्महत्या गर्ने नै बढी छन् । जसमा आत्मत्याको कारण मृत्यु भएका ८६ जना मध्ये ३१ जना पुरुष र २९ जना महिला गरि जम्मा ६० जनाले झुण्डिएर आत्महत्या गरेका थिए । अघिल्लो आ.व.को तुलनामा यस आ.व.मा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ । यस आ.व.मा डुबेर आत्महत्या गर्नेको संख्या त्यसपछि रहेको छ । जसमा ११ जना पुरुष र ३ जना महिला गरि जम्मा १४ जनाले पानीमा डुबेर वा हाम फालेर मृत्युवरण गरेका थिए ।

आत्महत्याको यो अवस्थालाई विश्लेषण गर्दा बिगतका वर्षहरू भन्दा तुलनात्मक रूपले संख्या घट्दै गइरहेको देखिन्छ । आत्महत्याको दर घट्नुमा विविध कारणहरू हुन सक्छन् । नेपाल सरकारका सरोकारवाला निकायहरू प्रहरी र स्थानीय तह तथा विभिन्न सरकारी, अर्धसरकारी र गैर सरकारी संघ-संस्थाहरूले यसको न्यूनीकरणको लागि सचेतनामुलक तथा घरदैलो लगायतका कार्यक्रमहरू गरेको कारण पनि यसको दर घट्नुमा टेवा पुगेको हुन सक्छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले समाजमा आत्महत्या लगायतका विभिन्न सामाजिक अपराध रोकथाम तथा न्यूनीकरणको लागि स्थानीय तहसँगको सहकार्यमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । आ.व. ०७७÷७८ मा यस कार्यालयले सम्पन्न गरेका समुदाय लक्षित २२४ वटा सचेतनामुलक कार्यक्रमहरूमध्ये १४ वटा आत्महत्या न्यूनीकरणका कार्यक्रमहरू संचालन गरेको थियो भने आ.व. ०७८/७९ मा ३५१ वटा सचेतनामुलक कार्यक्रमहरू मध्ये २५ वटा आत्महत्या न्यूनीकरणका कार्यक्रमहरू संचालन गरेको थियो । त्यसैगरि आ.व.०७९/८० मा सम्पन्न गरेका ४९७ वटा समुदाय तथा विद्यालय लक्षित सचेतनामुलक कार्यक्रमहरू मध्ये ३४ वटा आत्महत्या न्यूनीकरणमा कार्यक्रमहरू रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले संचालन गरेका समुदाय तथा विद्यालय लक्षित आत्महत्या न्यूनीकरणका सचेतनामुलक कार्यक्रमहरूको कारण पनि केहि हद सम्म यसको दर घट्नुमा भूमिका निर्वाह भएको हुन सक्छ भन्ने कुरा यस तथ्याङ्कले देखाएको छ ।

समाजमा अपराध न्यूनीकरणको लागि प्रहरी कार्यालयको अलावा अन्य निकायहरूले संचालन गर्ने सचेतनामुलक कार्यक्रमहरूको भूमिका पनि कम महत्वपूर्ण छैन । तथापि प्रहरीको बर्दीसहित सञ्चालन गरिने सचेतनामुलक कार्यक्रमहरूमा सहभागिहरूको आकर्षण र लगाव उत्साहबर्धक हुने गरेको छ । प्रशिक्षणमा सहभागिता जनाउनु र सहभागितासहित सुन्नुमा धरै फरक छ । कार्यक्रमको लागि मात्र कार्यक्रमले परिणाम दिन सक्दैन । तर प्रभावकारितासहितको कार्यक्रमले परिणाम पनि दिन्छ जुन जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । यस आर्थिक वर्षमा पनि यहि तथ्यलाई मनन गरि विद्यालय र समुदायको अलावा टोलटोलमा यसलाई बिस्तार गरि सचेतनामुलक कार्यक्रमहरू संचालन गर्ने गरि योजना बनेको छ ।

आत्महत्याको दरलाई शुन्यमा झार्न कदापि सम्भव छैन । तर सबैले प्रयास गरेमा न्यूनीकरण गर्न सकिन्छ । ब्यक्तिगत, पारिवारिक, आर्थिक, सामाजिक र मनोवृतिगत कारणहरूले गर्दा मानिसहरूले आत्महत्या गर्ने गर्दछन् । तर पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग गरि विचार सम्प्रेषण गर्दा निस्कने प्रतिकृयाको कारण पनि धेरैले मृत्यु रोजेका छन् । ठुला र उमेर पुगेका परिपक्व मानिस भन्दा पनि साना बालबालिकामा सानैदेखि नै मोवाइलको लतले गर्दा शरीरको क्रमिक विकाससँगै नकारात्मक धारणाको विकास भइ क्षणिक आवेगमा जीवन उत्सर्ग गर्ने निर्णय गर्दा यस्ता घटनाहरू घट्ने गरेका छन् । यसको निदान एवम् नियन्त्रणको भरपर्दो उपाय भनेको मानसिक परामर्शसहितको सचेतना नै हो ।

(लेखक जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कार्यरत प्रहरी नायव उपरीक्षक हुन् ।)