एसियाडको ब्याडमिन्टन टोलीलाई ट्र्याकसुट प्रदान

एसियाडको ब्याडमिन्टन टोलीलाई ट्र्याकसुट प्रदान


चीनको हाङझाऊमा हुने १९औँ एशियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनमा सहभागी हुने नेपाली टोलीलाई केल्मीको ट्र्याकसुट प्रदान गरिएको छ ।

अस्ट्रेलियामा बसोबास गर्ने ब्याडमिन्टनप्रेमी मुक्ति रोका र टीका रोकाले प्रोत्साहनस्वरुप प्रायोजन गरेको ट्र्याकसुट आठ खेलाडी र दुई प्रशिक्षकलाई प्रदान गरिएको ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जनले जानकारी दिएका छन् ।

तालिम तथा प्रशिक्षण विभागका निर्देशकसमेत रहेका १९औँ एशियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र नेपाल ब्याडमिन्टन सङ्घका संयोजक रामजीबहादुर श्रेष्ठले टोलीका सदस्यलाई एक कार्यक्रमबीच ट्र्याकसुट हस्तान्तरण गरेका हुन् ।

आगामी असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालबाट समान ४–४ पुरुष/महिला खेलाडी सहभागी हुँदै छन् । पुरुषमा प्रिन्स दाहाल, सुनिल जोशी, विष्णु कटुवाल र जीवन आचार्य रहेका छन् ।

त्यसैगरी महिलामा रसिला महर्जन, निता लम्साल, अनुमाया राई र नङ्शलदेवि तामाङ छन् । एसियाडको ब्याडमिन्टनमा नेपालको ठूलो सफलता क्वाटरफाइनलसम्म पुग्नु रहेको मुख्य प्रशिक्षक योञ्जनले बताए ।