(इतिहास)
✍ सुनिल उलक
नेपालको आफ्नो पानीजहाज समुन्द्रमा चलाउने धोको केवल केपी ओलीको मात्र दम्भ थिएन, वि.सं. २०२५ सालतिर पनि नेपालमा एक प्रकारको दम्भ शुरु भएको थियो । जर्मनको ब्रेमन शहरमा रहेको ए.जी. वेजर कम्पनीले २०२७ सालमा नरेन्द्रलक्ष्मी नाम राखिएको पानीजहाज कलकत्ता बन्दरगाहमा पठाएको थियो ।
भारतीय पानी जहाज कम्पनीको नाममा शुरु गर्ने जमर्को गरिएको थियो । तर पछि भारतीय कम्पनीको स्वार्थलाई सहयोग गर्न अस्विकार गर्दै नेपालमा इस्टर्न नेभिगेसन कम्पनी नामबाट छुट्टै कम्पनी खुल्यो । पछि यसको नाम परिवर्तन गरेर रोयल नेपाल सिपिङ कर्पोरेसन स्थापना गरी यसैमार्फत पानीजहाज किन्ने निर्णय गरिएको थियो । जसको पहिलो किस्ता स्वरूप रविशम्शेरले रकम बुझाएपछि कोलकाता बन्दरगाहमा नेपाली झन्डा फरफराउँदै पानीजहाज आइपुगेको थियो । सो पानीजहाज झण्डै २२ दिनसम्म कलकत्ता बन्दरगाहमा रोकिएको थियो । रविशम्शेरले पठाएको दोश्रो किस्ता जहाज कम्पनीको एजेन्टले कमिशनबापत लिइदियो । तेश्रो किस्ता बुझाउनुपर्ने समयमा रविशम्शेरलाई एक साथ दुई किस्ता वापतको रकम जहाज निर्माता कम्पनीलाई पठाउनुपर्ने भयो । जसले गर्दा रविशम्शेरलाई हम्मे-हम्मे पऱ्यो । अर्थमन्त्रालयले सहयोग नगरेको कारणले गर्दा नेपाल सरकारले ग्यारेन्टी पनि बसिदिएन । अन्ततः रविशम्शेरले पनि हात उठाउन बाध्य भयो । समयमा किस्ताबापतको रकम बुझाउन नसक्दा पानीजहाज कम्पनीले नेपाली पानीजहाज ‘रविलक्ष्मी’लाई त्यहीँबाट फिर्ता लग्यो ।
त्यस समय रोयल नेपाल शिपिङ कर्पोरेशनलाई पानीजहाज निर्माता कम्पनीले पठाएको जहाजको नमुना तस्बिरमा देख्न सकिन्छ । कम्पनीका अनुसार जहाजको लम्बाइ १६१.५ मीटर थियो भने चौडाइ ३१.५ मीटर र उचाइ ६३.५ मीटर थियो । जहाजको अधिकतम क्षमता १०३०० टन (deadweight) थियो । सो पानीजहाज जर्मनको ब्रेमन शहरमा रहेको ए.जी. वेजर कम्पनीले बनाएको थियो । पानीजहाजको नाम नरेन्द्रलक्ष्मी राखिएको थियो ।
वि.सं. २०३४ सालमा फेरि पानीजहाज भित्र्याउने प्रयास भएको थियो, तर त्यो पटक पनि सम्भव भएन । पूर्व प्रधानमन्त्री केपी ओलीले फेरि एक पटक नेपालीलाई सपना देखाए । तर यो पनि कार्यकर्ता पाल्ने मेसोजस्तै भयो ।
यि त भए समुन्द्रमा नेपालको पानीजहाज चलाउने सपनाका कुरा । नेपाल नामाकरण हुनुअगाडि हाम्रो यस भूभाग गोर्खा भनेर नै विश्वमा चिनिने गरेको थियो । यहाँका वीर सैनिक गोर्खालीको नामले यस क्षेत्रलाई गोर्खा भनिन्थ्यो । वि.सं १९४५ मा यिनै गोर्खालीको सम्मानमा ‘एचएमएस गुर्खा १८८८ (HMS GHURKA 1888)’ नाम बाट रोयल इन्डियन मेरिनले सानो टर्पेडो पानीजहाज समुन्द्रमा तैराएको थियो । वि.सं. १९५७ मा यसको नाम परिवर्तन गरियो । यस पछि वि.सं. १९६४ बैशाख ८ मा फेरि अर्को ‘एचएमएस गुर्खा १९०७ (HMS GHURKA 1907)’ फेरि समुन्द्रमा तैरिन थालेको थियो । यो पानीजहाज वि.सं. १९७३ माघ २७ मा समुन्द्रमा डुब्यो । वि.सं. १९९५ कार्तिक ५ मा फेरि अर्को पानीजहाज ‘एचएमएस गुर्खा एफ२० (HMS GURKHA F20)’ समुन्द्रमा चल्न थाल्यो । यो पानीजहाज पनि विमान आक्रमणको कारण १९९६ चैत्र २६ गते समुन्द्रमा डुब्यो । यस पछि वि.सं. १९९७ फागुन ७ मा नै अर्को पानीजहाजलाई ‘एचएमएस गुर्खा जी६३ (HMS GURKHA G63)’ नाम राखेर समुन्द्रमा चलाइयो जो पनि वि.सं. १९९८ माघमा समुन्द्रमा डुब्यो । अन्तिम पटक वि.सं. २०१७ असार २८ मा ‘एचएमएस गुर्खा एफ१२२ (HMS GURKHA F122)’ नामको पानीजहाज समुन्द्रमा चलेको थियो । २०४० चैत्र १७ गते यो पानीजहाज इन्डोनेशियालाई बिक्री गरिएपछि नाम परिवर्तन भयो साथै गुर्खा नाम भएका पानीजहाजहरूले सधैको लागि बिदा लियो ।
दोश्रो विश्वयुद्ध शुरु हुनुपूर्व नै नेपाल नाम राखेर समुन्द्रमा पानीजहाज तैरिन थालेको थियो । वि.सं. १९९८ पुसमा ‘एचएमएस गुर्खा जी६३ (HMS GURKHA G63)’ समुन्द्रमा डुबेपछि सोही साल पुसमा नै ‘एचएमएस नेपाल’ नामबाट पानीजहाज समुन्द्रमा तैरिन थालेको थियो ।
साउथह्याप्टनमा बनाइएको एन–क्लासको युद्धक पानीजहाज तैयार भएर वि.सं. १९९८ मंसिरमा रोयल निडरल्याण्ड नेभीलाई हस्तान्तरण गरिएको थियो । जसलाई रोयल निडरल्याण्ड नेभीले एचएमएस नेपाल नामबाट समुन्द्रमा चलाउन थालेको थियो । बि.सं. १९९९ जेठ १६ मा ‘एचएमएस नेपाल’लाई रोयल अष्ट्रेलियन नेभीलाई हस्तान्तरण गरिएको थियो । तर वि.सं. २००३ असारमा भने यसको नाम परिवर्तन गरियो ।
यसरी गोर्खा सैनिकहरूको सम्मानमा ‘गुर्खा’ र ‘नेपाल’ नाम गरिएका विभिन्न पानीजहाजहरू समुन्द्रमा तैरिएका थिए । यी पानीजहाजहरू नेपाल सरकारको स्वामित्वमा नभएको हुँदा नेपालको झण्डा राखिएका थिएनन् ।
प्रतिक्रिया