विद्युत नियमन आयोगको कोशेढुङ्गा : ग्रिड कोड जारी

विद्युत नियमन आयोगको कोशेढुङ्गा : ग्रिड कोड जारी


विद्युत नियमन आयोगले हालै Nepal Electricity Grid code, 2080 जारी गरेको छ । सरोकारवालहरुसँगको पटक-पटक छलफल र राय-प्रतिक्रियापश्चात् आयोगले ग्रिड संहिता तयार गरी लागु गरेको हो ।

ग्रिड संहिता तयार गर्दा अन्तरदेशिय वितरण प्रणालीमा आवद्ध ग्रिड र ग्रिडकोडलाई कार्यान्वयनमा ल्याउने विद्युतीय ग्रिड संहिता २०८० को दफा २.३ २.१ अनुसार ग्रिड कोड म्यानेजमेन्ट कमिटी (GCMC) गठन गरि अध्यक्ष, सदस्य सचिव र सदस्यहरु तोक्नका लागि आयोगका सदस्य गौतम डंगोलको अध्यक्षतामा उक्त कमिटीलाई पूर्णता दिनका लागि कार्यभार तोकिएको छ ।

विद्युत प्रसारण र वितरणमा ग्रिड कोडको महत्वपूर्ण स्थान रहेको हुन्छ । एउटा देशमा एउटा मात्र राष्ट्रिय ग्रिड रहेको हुन्छ । विद्युत नियमन आयोगले लामो गृहकार्य पछि ग्रिड संहिता तयार गरेको छ । ग्रिड संहिता तयार गर्ने क्रममा आयोगले विभिन्न सरोकारवाला, विषय विज्ञ र सेवाप्रदायक संस्थाहरुसंग पटक पटक प्रत्यक्ष छलफल गरि सरोकारवालाहरुबाट राय प्रतिक्रिया माग गरि अन्तिम रुप दिन कार्याशाला गोष्ठी आयोजना गरेको थियो । सो कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले यस्ता खालका संहिता वा मापदण्ड निर्माण गरि विद्युतको माग र आपूर्तीलाई गुणस्तरयुक्त बनाउने र निर्यातसम्म गर्न मिल्ने गरी व्यवस्थित गर्नुपर्छ भन्दै यसरी छलफल र अन्तरक्रियाद्वारा निर्माण गरिएको ग्रिड संहिताको विद्युत आपूर्तीमा अझ महत्व हुने धारणा व्यक्त गर्नु भएको थियो ।

आयोगका माननीय अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युतीय ग्रिड संहिताको देशभित्र विद्युत उत्पादन बढेको तथा दक्षिण एशियाली क्षेत्रमा विद्युत व्यापार गर्नु पर्ने सन्दर्भमा अझ बढी महत्व भएको कुरा व्यक्त गर्नुभयो । विद्युतीय शक्ति प्रसारणमा विद्युतीय ग्रिड संहिताको उचित व्यवस्थापनबाट नै उत्पादित विद्युत शक्ति उपभोक्ता समक्ष सुरक्षित र भरपर्दो तरिकाबाट पुऱ्याउन सकिन्छ । विद्युतीय शक्तिको उतारचढावबाट हुने दुर्घटना जस्ता घटनाहरुको व्यवस्थापन ग्रिड संहिताको व्यवस्थापनबाट नै गर्न सकिन्छ भन्ने कुरा अध्यक्ष सिंहले जानकारी दिनुभयो ।

हालै लागु भएको विद्युतीय ग्रिड संहिताले विद्युतीय प्रवाहसम्बन्धी न्यूनतम आवश्यक मापदण्ड परिपूर्ति गर्न, विद्युतीय ग्रिडको सन्तुलन कायम राख्न र सीमा भित्र र सीमा बाहिर विद्युतीय प्रवाह व्यवस्थापन गर्न आवश्यक दिशा निर्देश गर्दछ । यसले प्रसारण प्रणालीको योजना सञ्चालन र व्यवस्थापनका लागि निष्पक्ष र प्रभावकारी ढंगले काम गर्दछ । अन्तरदेशीय विद्युत व्यापार र क्षेत्रीय अन्तरसम्बन्धको बढ्दो सम्भावनाका साथै राष्ट्रिय र क्षेत्रीय ग्रिड प्रयोगकर्ताहरुको प्रवेश र सञ्चालनलाई नियमन गर्न यस संहिताको अझ बढी महत्व छ । यो नेपालको ग्रिड प्रणालीको जडान, संचालन, मर्मत सम्भार र विकासका लागि दिशा निर्देश, प्रकृया, जिम्मेवारी, मापदण्ड र दायित्वहरु स्थापित गर्ने विस्तृत दस्तावेज हो । ग्रिडको स्वमित्व रहेको संस्था, प्रणाली संचालक, ग्रिड प्रयोगकर्ताहरूको वीचको सीमा निर्धारण गर्न र प्रसारण प्रणाली प्रयोग गर्ने सुविधाहरुको सञ्चालनको लागि कार्यविधिहरु स्थापना गर्न ग्रिड संहिताको विकास गरिएको छ । यसले ग्रिड प्रणालीको विकास एवम् सुरक्षाको लागि आधारभूत नियम र मापदण्डहरू तोकेको छ । जुन सार्वजनिक र वातावरण सुरक्षाको लागि अत्यावश्यक छ ।