रक्षा बन्धन !

रक्षा बन्धन !


रक्षा बन्धनको अवसरमा रक्षासूत्र ग्रहण गर्नेहरूलाई अधर्मको बाटो त्यागी धर्मको बाटो पक्रन प्रेरित गर्ने उद्देश्य रहेको हुन्छ। मानव स्वभावको अविच्छिन्न भागको रूपमा रहेको धर्म र अधर्मको दुई डोरीबीच कसलाई पछ्याउने भन्ने दुविधामा रहेको मनलाई सदैव धर्मको डोरीमा स्थिर राख्ने वातावरण निर्माण गर्नतर्फ कोसिस र कामना गरिएको हुन्छ।
✍ नारायण घिमिरे

पौराणिक कथाअनुसार असुर राजा बलीको दान यज्ञमा वामन (बामपुड्के सन्न्यासी) रूपको छद्म भेषमा पुगेका भगवान् विष्णुले बलीलाई प्रशन्न पारे । प्रफुल्ल बलीको मनलागे दान माग्न वामनसँग अनुरोध गरे। वामनले असुर राजा बलीसँग आफ्नो पाइलाको तीन पाइला मात्र जमिन मागे। त्यसमा बली सहमत भए । तब वामनले आफ्नो पाइलाको आकारलाई ठुलो आकारमा परिवर्तन गरे । पहिलो चालमा पाइलोले पूरै पृथ्वी ढाक्यो, दोस्रोले स्वर्गलाई समेत ढाक्यो।

कबुलेको दान दिन बचन बद्ध बलीको सम्पूर्ण स्वामित्वको भूभागले तिन पाइला जमिन नपुग्ने भयो । तब बलिलाई वामन विष्णु अवतार रहेछन् भनी यकिन भयो। त्यसैले उनले वामनलाई सम्पत्ति भन्दा सम्पत्तिको हकदार बहुमूल्य हुने तर्क गर्दै खुट्टा राख्नको लागि तेस्रो स्थानको रूपमा आफ्नो शिर प्रस्ताव गरे। वामनले त्यसै गरे। बलीले सर्त बमोजिम आफ्नो जीवनको समेत स्वामित्व वामनलाई सुम्पे । जसले बलीलाई अमरता प्रदान गर्‍यो।

आफ्नो बचनमा यति धेरै पक्का देखिएका बलीलाई वामनले सम्पूर्ण पातालको राज गर्न भने । बलीले वामनलाई आफू वामनको सर्त मान्न तयार रहेको तर सो को लागि उनलाई वामनले यो वाचा दिनु पर्‍यो कि जति बेला उनि ब्युँझन्छन त्यो बेला जता हेर्दा पनि वामनलाई नै देख्नेछन् । वामनले बलीको सर्त मान्नुपर्ने भयो। उक्त सर्तले विष्णुलाई बलीको रक्षकको रूपमा परिवर्तन गरिदियो । वामनले बलीलाई पातालको शासन दिने भए । मर्त्यलोक हामीलाई नै चाहिने भयो। बलीले हडपिन लागेको देवताहरूको स्वर्ग देवताहरूले नै फिर्ता पाए । सबैको न्यायोचित उद्धार भयो।

स्विकारिएको सर्त बमोजिम विष्णु पाताल बस्ने भए । वैकुण्ठमा लक्ष्मी एक्लै पर्ने भइन् । लक्ष्मीले आफ्नो भेष बदलेर पाताल पुगिन् र राजा बलीलाई आफ्नो भाइ बनाउन सफल भइन् । साउन पूर्णिमाका दिन लक्ष्मीले बलीलाई रक्षासूत्र भन्दै बलीको पाखुरामा राखी बाँधीदिइन् । आफ्नो रक्षाको कामना गर्ने बहिनीप्रति प्रसन्न राजा बलीले देवीलाई राखी बाँध्नुको बदलामा मनमा भएको इच्छा उपहारको रुपमा माग्न आग्रह गरे।

देवीले आफू भगवान् विष्णु पत्नी रहेको र पति-पत्नी बीचको आपसी सम्बन्ध र मायाको जरुरतलाई कदर गर्दै र दाजु बहिनीबीचको पवित्र सम्बन्धको समेत कदर गर्दै विष्णुलाई बन्धनबाट मुक्त गर्ने प्रतिज्ञा गर्नुहोस् भनिन् । बचनमा बाँधिएका बलीले विष्णुलाई मुक्त गरेको बचन दिए । विष्णु लक्ष्मीसँग वैकुण्ठ फर्किन पाउने भए । कथाले बताएअनुरूप देवी लक्ष्मीले आफ्नो पति विष्णुको सुरक्षाको लागि राजा बलीको हातमा रक्षा बन्धन बाँधेकी थिइन्।

दाजुबहिनीको पवित्र प्यारको शक्तिले महाबलीको तागत र बुद्धिमत्ता लाई नतमस्तक बनायो। अर्कालाई न्याय दिने कार्यमा खट्ने क्रममा आफै अर्काको बन्धनमा परेका विष्णुको त मुक्ति दिलायो दिलायो, त्यसको प्रभावको लहरले लक्ष्मीको निजी जीवनमाथि पुग्न गएको क्षतिको समेत पूर्ति गर्न सक्यो।

महाबलीको यो कथाले समाजलाई दिने दिने चुरो सन्देश के हो भने जीवनमा तपाईंसँग भएका कुनै पनि कुरा स्थायी हुँदैन। धन, शक्ति, सौन्दर्य, पद, हैसियत, परिवार कुनै पनि कुरा कसैको स्थायी चिज होइन । तपाईंले गर्ने कार्यको नियत प्राकृतिक नियम सङ्गत छैन भने तपाईं जतिसुकै सम्पन्न, पराक्रमी र शक्तिशाली हुनुहोस् तपाईंपरास्त हुनु हुने छ। त्यसैले नम्र रहनु, सबैलाई सम्मान गर्नु, घमन्डबाट टाढा रहनु र धर्मबाट विचलित नहुनु नै वैदिक जीवन जिउनुको प्राकृतिक नियम हो । त्यसैले तपाईंलाई शान्तिपूर्ण र ब्लिसफुल जीवन उपहारको रूपमा दिनेछ।

येन बद्धो बली राजा दानवेन्द्रो महाबलः।
तेन त्वामनुबध्नामि रक्षे मा चल मा चल।।

सरलीकृत शब्दार्थ : म तिमीलाई त्यही एकल (सग्लो) लामो डोरोले बाँध्दछु जुन डोरोले असुरहरूको पराक्रमी भनिएका राजा बली समेत बाँधिए । त्यो डोरीको तागत जसले असुर राजा बलीलाई हलचल हुन नसक्ने गरी बाँधेर निष्क्रिय मात्र गरेन, बिष्णुको रक्षा सूत्रको समेत काम गर्‍यो। रक्षा सूत्र अत्यन्त चतुर र बलवान असुर पनको पूर्ण नियन्त्रणको लागि प्रभावकारी सिद्ध बन्यो।

सरलीकृत भावार्थ : यसको शब्दार्थ सामान्य छ, तर भावार्थ गहिरो छ । रक्षा बन्धनको समयमा धागो बाँध्ने क्रममा धागो बाँधिदिनेले धागो बाँध्नेलाई एउटा सुरक्षा कवच अर्थात् रक्षा सूत्र दिने गर्दछ। त्यो यस्तो सुरक्षा कवचको प्रतिक हो जसले असुरहरूहरूको सबैभन्दा शक्तिशाली र पराक्रमी ठानिने राजा बलीलाई समेत बलिदानको बन्धनमा बाँध्न सम्भव बनायो। राजा बली एउटा दाइ बैनीको पवित्र सम्बन्धको धागो अन्तर्गत बुनिएको बाचाको सङ्कल्पमा बाँधिए। रक्षा सूत्रमा बाँधिएर अधर्म त्यागी धर्मको बाटो अपनाउन बली बाध्य बने।

मन्त्रमा धागो बाँधिदिनेले भन्ने गर्दछ कि यो धागो वा राखी धर्मको अनुशरण गर्नको लागि अभिप्रेरित गर्न लगाइने एक साङ्केतिक बस्तु वा यन्त्र हो । वैदिक मान्यतामा धर्मको पक्षमा रहेकाहरूको अन्ततोगत्वा सदैव जित हुने गर्दछ। यो बाँध्दै गर्दा तिमी आफूले आफूलाई मनमनै आफू सदैव अधर्म (असुर) त्यागी धर्म (सुर)को पक्षमा समर्पित हुने छु भन्ने वाचा गरिरहेको छौ भन्ने मैले अपेक्षा गरिरहेको छु।

म तिमीलाई सदैव धर्मको पक्षमा रहन प्रेरित गर्दछु। हरेक मानिसको मनमा असुर अर्थात् अधर्म तर्फ लैजाने शक्ति अर्थात् नकारात्मक मनोभावना तथा धर्म (सुर)को पथमा जाने बल अर्थात् सकारात्मक मनोभावना पैदा हुनु मानवीय गुण हो । मानिसलाई अधर्म तर्फ लैजाने शक्तिलाई असुर वा दानवीय गुण भनिन्छ। मानिसले आफू कहिल्यै अधर्मको बाटो नसमात्ने र सदैव सत्यको पक्षमा रहने दृढ सङ्कल्प गरेर आफूले आफूलाई सत्यवादी बनाउन सक्दछ।

सत्यको पक्षमा रहने दृढ सङ्कल्प लाई वैदिक मान्यतामा ‘रक्षा सूत्र’ भनिएको छ। धागो वा राखी बाँधीदिँदै गर्दा भनिन्छ कि म तिमीलाई त्यो रक्षा सूत्र दिँदैछु जसको जतिसुकै ठुलो षड्यन्त्रअन्तर्गत रचिएको अधर्म (महाबली)किन नहोस् त्यसको समेत सामना गरी तिमीलाई विजयप्राप्तिको मार्गमा लाने तागत हुने छ। तिम्रा आफ्नै आन्तरिक अत्यन्त तीव्र असुरि चाहना हुन् वा तिम्रो सत्यवादी आचरण खलल गर्न रचिएका असुर प्रयत्नहरू, सबै नै यसले मत्थर गरिदिने छ। यसले तिमीमा सबै प्रकारको असुरभाव प्रकट हुने प्रक्रियाको मूल कारकको नै अन्त गरिदिने छ।

रक्षा बन्धनको अवसरमा रक्षासूत्र ग्रहण गर्नेहरूलाई अधर्मको बाटो त्यागी धर्मको बाटो पक्रन प्रेरित गर्ने उद्देश्य रहेको हुन्छ। हरेक शुभ कार्यहरूमा पटक-पटक उक्त उद्देश्यको स्मरण गराउने गरिन्छ । मानव स्वभावको अविच्छिन्न भागको रूपमा रहेको धर्म र अधर्मको दुई डोरीबीच कसलाई पछ्याउने भन्ने दुविधामा रहेको मनलाई सदैव धर्मको डोरीमा स्थिर राख्ने वातावरण निर्माण गर्नतर्फ कोसिस र कामना गरिएको हुन्छ।