मुल्य-अमुल्य !

मुल्य-अमुल्य !


✍ मोहन लामा रुम्बा

■ भारतले अघिल्लो पटक चन्द्रमामा यान पठाउँदा असफल भएपछि अमेरिकाको एउटा न्युयोर्क टाइम्स पत्रिकाले यस्तो कार्टुन बनाएर खिल्ली उडाएको थियो । एउटा कार्टुनिस्टको मात्रै दिमागमा आएको विकृत मानसिकता होइन यो त पूरै पश्चिमीहरूको आम मानसिकता अभिव्यक्त भएको कार्टुन हो ।

कार्टुनमा गाईको गोठालो गर्दै बस्नेहरूले पनि अन्तरीक्षमा यान पठाउन खोज्ने ? भन्दै ब्यङ्ग्य गरिएको छ ।

■ इरानलाई परमाणु मिसाइल बनाउनबाट रोक्न हरसम्भव प्रयास गरिरहेको छ । परमाणु वैज्ञानिकको हत्या गर्दै परमाणु प्रयोगशालामा बम हान्ने काम गर्दै आइरहेको छ ताकि इरानलाई परमाणु शक्तिसम्पन्न हुनबाट रोक्न सकियोस् ।

पाकिस्तान अमेरिकी ‘नेटो’ खेमामा रहेकोे बेला परमाणु बम बनाउन सफल भएको थियो, तर इजरायल त्यतिबेला पनि खुशी थिएन, भारतसँग मिलेर पाकिस्तानको त्यो परमाणु योजना असफल पार्न खोजेको थियो तर भारतले चासो नदिएपछि इजरायल एक्लैले आँट्न सकेन, नभए त्यतिबेला नै आजको इरानले व्यहोर्नुपरेको जस्तै दुर्घटना पाकिस्तानले व्यहोर्नुपर्ने थियो ।

■ पश्चिमाहरू ज्ञान सीप बुद्धि विवेकले जेनेटिक रूपमा नै अफ्रिकी एशियालीहरू भन्दा अब्बल हुन्छन् भन्ने एक प्रकारको नश्लिय भ्रममा हुन्छन् । त्यति भ्रममा मात्रै रहेको भए त केही फरक पर्दैन थियो तर उनीहरू आफूबाहेक कुनै देशले ज्ञान-विज्ञानको क्षेत्रमा प्रगति गरेको फुटेको आँखाले देख्न चाहन्न मात्रै होइन त्यसलाई रोक्न हरेक घृणित कदमहरू अगाडि बढाउनसमेत पछि हट्दैन भन्ने छिमेकी भारतका परमाणु र अन्तरिक्ष क्षेत्रमा कार्यरत थुप्रै वैज्ञानिकहरूको रहस्यमय मृत्युको ताँती हेर्ने हो भने सहजै बुझ्न सक्दछौँ ।

■ केही वर्षअगाडि मात्रै भारतीय अन्तरिक्ष अनुसंधान संगठन (इसरो) को वरिष्ठ वैज्ञानिक डा. तपन मिश्रले विगत ३ वर्षमा ३ पटक विष दिएर मार्ने कोसिस गरियो भन्दै सरकारसँग जीउधनको सुरक्षाको माग गरेका थिए ।

■ सन् २००९ देखि २०१३ सम्म चार वर्षभित्र परमाणु रसायन विज्ञान प्रयोगशालामा कार्यरत ११ जना परमाणु वैज्ञानिकहरू कोही समुन्द्रमा डुबेर कोही गाडी एक्सिडेन्ट कोही घरभित्र आत्महत्या गरेर त कोही मृतअवस्थामा फेला परेको अवस्थामा लगातार रहस्यमय मृत्यु भइरहेको थियो ।

■ होमी जहाँगीर भाभा भारतको परमाणु उर्जा क्षेत्रमा पहिलो वैज्ञानिक हुन् । जहाँगीर भाभाले सन् १९४५ मा इंस्टीट्यूट ऑफ फन्डामेन्टल रिसर्चको स्थापना गरेर न्यूक्लियर प्रोग्रामलाई संस्थागत अगाडि बढाइरहेका थिए, तर सन् १९६६ मा एयर इंडिया विमानमा संदिग्ध दुर्घटनामा मृत्यु भयो । यो मृत्युलाई धेरैले सिआइएसँग जोडेर हेरेका थिए ।

■ विक्रम साराभाइलाई भारतीय अन्तरिक्ष विज्ञानको संस्थापक मान्ने गरिन्छ । तर उनको मृत्यु पनि ५२ वर्षको उमेरमा ३० दिसंबर, १९७१ मा आफ्नै कोठामा मृत अवस्थामा फेला पऱ्यो । विक्रम साराभाइको सहयोगी कमला चौधरीले मिडियामा आएर ‘अमेरिका र रूसको जासूसले ममाथि निगरानी गर्दैछ भनेर पटक-पटक भन्नुहुन्थ्यो’ भन्दै जानकारी दिएकी थिइन् ।

■ वज्ञानिक एम पद्मनाभन भाभा एटोमिक रिसर्च सेन्टरको इञ्जीनियरदेखि केके जोशी र अभीश अश्वीन भारतको पहिलो परमाणु पनडुब्बीको इन्जिनियरहरू कोही विष सेवन गरेर कोही रेल लाइनमा काटिएर मृत फेला परेका थिए ।

■ भारतको मिसाइल म्यानको रूपमा चिनिने अर्का परमाणु वैज्ञानिक ए.पी. जे. अब्दुल कलामलाई परमाणु बम परिक्षणपछि राष्ट्रपतिमा नियुक्त नगरेको भए सायद उनको पनि अवस्था अरु वैज्ञानिककै झैँ हुने पो थियो कि ? केही भन्न सकिएन ।

अन्तमा, सपेरों का देश भनेर पश्चिमाहरूले चिनाउने भारतले आज जुन अन्तरिक्षमा चन्द्रयान पठाएर सकुशल अवतरण गराइ ऐतिहासिक सफलता प्राप्त गरेको छ, त्यसको मुल्य आर्थिक रूपमा त हिसाबकिताब निकालेर यति खर्चमा सम्पन्न गरिएछ भनेर भन्न सकिएला तर यो अथक अभियान पूरा गर्न भारतले जुन अमुल्य जनधनको मुल्य चुकाएको छ त्यो सायद कसैले हिसाबकिताब निकाल्न नसक्ला !