मधेसका मुद्दा मरेका छैनन् : लोसपा अध्यक्ष ठाकुर

मधेसका मुद्दा मरेका छैनन् : लोसपा अध्यक्ष ठाकुर


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा जिउँदै रहेको अभिव्यक्ति दिएका छन् । महोत्तरीको बर्दिवासमा सोमबार सम्पन्न लोसपाको मधेस प्रदेश समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टी स्थापना कालका ती मुद्दा जनतामाझ पुऱ्याउनुपर्ने जिकिर गरे ।

ठाकुरले भने- ‘हामीले उठाएका कतिपय राजनीतिक मुद्दा आन्दोलनका बलमा स्थापित भएका छन्, यद्यपि राज्यसत्ताबाट प्रताडित हुने क्रम रोकिएको छैन ।’ मधेस आन्दोलनताका खडा गरिएका झुठा मामलामा आफ्ना कार्यकर्ताले अझै मुद्दा खेपिरहेको भन्दै अध्यक्ष ठाकुरले अब लोसपा बस्तीबस्ती पसेर जनतालाई आन्दोलनका उपलब्धि र अझै लड्नुपर्ने अधिकारका बारेमा जागरुक बनाउन लाग्नुपर्ने तर्क गरे ।

बर्दिवासमा सम्पन्न बैठकमा पार्टीका शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहितको उपस्थिति थियो । मधेस प्रदेश समितिको विस्तारित बैठकको मुख्य छलफलको विषय नै मधेस मुद्दा र मधेसमा दलको रणनीति बनाउनु रहेको दलका प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले जानकारी दिए । बैठकले अब सम्बोधन हुन बाँकी मधेसका मुद्दालाई फेरि जनतासँग जोडेर अघि बढ्ने दृढता जनाएको सोनलको भनाइ छ ।

पहिलो संविधानसभा निर्वाचन (२०६४) अघि मुलुकका विभिन्न मूलधारका दलबाट विद्रोह गर्दै महन्थ ठाकुर, महेन्द्रराय यादव, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाललगायतका नेताले मधेस आन्दोलनको जगमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरेका थिए । समयक्रममा विभिन्न ठाउँमा जुट्दै फुट्दै त्यतिखेरको तमलोपाका मूल नेताहरू अहिले लोसपामा छन् ।