चर्चामा गायक मोतिराजको तीजगीत

चर्चामा गायक मोतिराजको तीजगीत


वर्षदिनको तीजमा आयौ छोरी माइत
तिम्री आमा देखेजस्तो भयो मलाइ त..
आएँ बाबा खुशी हुँदै हात र पाउले टेकेर
भुइँमा खुट्टा छैनन् आज बाबा भेटेर

यस्तै–यस्तै खुशी, पीर–बेदना बोकेको मौलिक तीजको गीत मिठो शब्द संगीतले भरिएको भाकामा यतिबेला चौतर्फी चर्चामा छ । चार दिनमै युटुबमा एक लाख दर्शकले हेरिसकेका छन् भने तीन हजार भन्दा धेरैले यस गीतमा टिकटक बनाएका छन् । गायक तथा सर्जक मोतिराज खनाल र मोडल सविन खड्काले यसपालि पनि संयुक्त रूपमा तीजको कोशेली लिएर आएका हुन् ।
सदा झैँ यसपालिको तीजमा पनि निकै मार्मिक र मर्मस्पर्षी तीज गीत मोतिराज खनाल अफिसियल युट्युवबाट बजारमा आएको हो । गायक खनालकै शब्द तथा गीता पराजुली खनालको संगीत रहेको तीजगीत सम्झनाले हो… पुरुषतर्फ लोकप्रिय गायक मोतिराज खनाल र इन्द्रेणी कार्यक्रममा चर्चित गायक छत्र शाही अनि महिलातर्फ लोकप्रिय गायिका भूमिका बयकले गीतलाई अत्यन्त मिठासपुर्ण तरिकाले प्रस्तुत गरेका छन् ।

छाडा र उत्ताउला गीतले तीजलाई नै बेढङ्गी तथा विकृतिउन्मुख बनाइरहेको बेला खनालले भने तीजको झल्को मेटिने गरी तीजमा गाइने लोक भाकालाई टपक्क टिपेर निकै मार्मिक र रोमान्चक चुड्का बनाएर अत्यन्त रमाइलो र मार्मिक तीजगीत म्युजिक भिडियोसहित बजारमा ल्याएका छन् । यस गीतमा इन्द्रेणी कार्यक्रमका चर्चित गायक छत्र शाही, लोकप्रिय गायक मोतिराज खनाल र इन्द्रेणीकै लोकप्रिय गायिका भूमिका बयकले गीतलाई मिठासपुर्ण तरिकाले गाएर दर्शकको मन जित्न सफल भएका छन् । म्युजिक भिडियोमा शिवजी क्षत्री र आरुशी मगरको नृत्यले दर्शकलाइ नाचौँनाचौँ लाग्ने बनाउँछ । अभिनयतर्फ सविन खड्का, प्रदिप खड्का र सुप्रिया हमालको दमदार प्रस्तुतिले बेला–बेला दर्शकलाई भावविह्वल बनाउँछ । आमा नहुँदा तीजमा माइत जाँदा चेलीलाई कति पीडा हुन्छ भन्ने कुरा कलाकारहरूले गीतमार्फत प्रस्तुत गरेका छन् ।

शिवजी क्षत्रीको निर्देशन तथा कोरियोग्राफर रहेको यस गीतको छायाङ्कन दुर्गा श्रेष्ठले गरेका हुन् । एरेन्ज, मिक्सिङ र रेकर्डिस्ट रुविन मगरको रहेको यो गीत मन्जरी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यस गीतका सर्जक तथा गायक मोतिराज खनालका लोक भाकाहरू बजारमा दर्जनौँ आइसकेका छन् । गीत संगीत क्षत्रका होनहार ब्यक्तित्व खनाल लोक संगीत क्षेत्रमा कोशेढुङ्गा साबित भएका छन् । यो क्षेत्रको लागि उनले अर्को इँटा थप्ने काम गरेका छन् । खनालका बजारमा आएका गीतमध्ये जुनी जुनी सङ्गै बाँचौँला, ऋण बढेर दोब्बर भैसक्यो, लालीगुराँस फुल्यो मायालु, सङ्गै सुते लाग्छ गोडामा, सधै तमासा, यो सन्देश पठाइदेउ मेरी सानीलाई, जम्काभेट, के जमाना आयो, पैसाको बिटो, मामाघर, छोरी माइती, आउ बस आडैमा, मिर्मिजालैमा क्या राम्री पुतली लगायत तमाम गीत आइसकेका छन् ।

गीतको अलावा खनाल टेली सिरियलमा पनी आवद्ध छन् । काउकुती, आलु, छिमेकी हुँदै अहिले बाह्रमासे सिरियलमा खनाललाई देख्न सकिन्छ । गीत कलाकारिता क्षेत्रमा निरन्तर लागेका खनालले मन्जरी डिजिटल रेकर्डिङ स्टुडियो पनि साथिहरूसँग मिलेर सञ्चालन गरेका छन् । यस गीतका गायक खनाल, छत्र शाही र भुमिका बयकसँग सम्झनाले हो छोरी गीतको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने प्रश्नमा तीनै जनाले गीतको प्रतिकृया राम्रो आएको र यो गीत सन्देशमुलक एवम् मौलिक रहेकोले आफूहरूलाई उर्जा मिलेको, गीत सङ्गितमा अझ निरन्तर काम गर्न हौसला मिलेको बताए । सबिन खड्काले भने गीतले दर्शकलाइ भाबुक बनाउने प्रतिक्रिया दिए । छोटो समयमा धेरै दर्शकको माया पाएकी इन्द्रेणीकी लोकप्रिय गायिका भूमिका बयकले यस गीतले श्रोताको मुटुमै छुने र दर्शकलाई भावुक बनाउने बताइन् ।