प्रधानमन्त्रीको सङ्घर्ष हेर्ने प्रतीक्षा !

प्रधानमन्त्रीको सङ्घर्ष हेर्ने प्रतीक्षा !


प्रधानमन्त्री प्रचण्डले एमसीसी सम्झौता कार्यान्वयनको पूर्वसन्ध्यामा बाह्रबुँदे ब्याख्यात्मक टिप्पणीको विषय उठाउँदै सडक सङ्घर्षको चेतावनी दिएपछि उक्त विषयलाई लिएर चौतर्फी तरङ्ग उत्पन्न भएको छ ।

गत वर्ष संसद्बाट एमसीसी परियोजना अनुमोदन गर्ने क्रममा माओवादीको फेससेभ गरिदिने कार्यनीतिअनुरुप ब्याख्यात्मक टिप्पणीको अवधारणा ल्याइएको थियो । एमसीसी परियोजना कार्यान्वयनसँग अमेरिकी सैन्य गतिविधि नजोडिने प्रतिबद्धता ब्याख्यात्मक टिप्पणीमार्फत खोजिएको थियो । तर अमेरिकाले ब्याख्यात्मक टिप्पणीको कुनै अर्थ नरहेको सङ्केत त्यतिबेला नै दिइसकेको थियो । अहिले परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेपछि प्रधानमन्त्री प्रचण्डले ब्याख्यात्मक टिप्पणीप्रतिको अमेरिकी स्पष्टता खोजेका छन् । जबर्जस्ती कार्यान्वयन गर्न खोजिए बृहत् सडक सङ्घर्ष गरिने चेतावनी प्रचण्डले दिएका छन् ।

आफै सरकारको कार्यकारी प्रमुख भएर सडक सङ्घर्षको धम्की दिनुलाई स्वभाविक मानिएको छैन । आफ्नो चीन भ्रमणको पूर्वसन्ध्यामा आएको प्रचण्ड–अभिव्यक्तिलाई अमेरिकाले गम्भीरतापूर्वक नलिएको बताइन्छ । अमेरिकीहरू मुखले जसले जे भनेपनि कार्य ब्यवहारमा आफूअनुकुल व्यवहार खोज्दछन् । प्रचण्डको अभिव्यक्तिलाई अमेरिकी पक्षले चीनलाई विश्वासमा लिने प्रयासका रूपमा बुझेको बताइन्छ । स्रोतका अनुसार अमेरिकाले ब्याख्यात्मक टिप्पणीप्रति कुनै चासो राखेको छैन, त्यसैले प्रचण्डबाट हुने सडक सङ्घर्षको चौतर्फी प्रतीक्षा भइरहेको छ ।