‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वर्ल्ड रेकर्ड’ कायम गराउन ‘गल्फ च्यालेन्ज’ आयोजना

‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वर्ल्ड रेकर्ड’ कायम गराउन ‘गल्फ च्यालेन्ज’ आयोजना


हिमालपारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वर्ल्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ ।

समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर (१५,२३९.५ फिट) को उचाइमा अवस्थित सो गल्फ कोर्समा यही भदौ ३० गते दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्न लागिएको हो ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार गण्डकी प्रदेश गल्फ सङ्घले लोमान्थाङ गाउँपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । मुस्ताङ गल्फ कोर्सको थप प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको प्रतियोगिताको विश्वस्तरमा प्रचार गरी उच्चस्तरीय पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिइएको गण्डकी प्रदेशसभाका पूर्वसदस्य एवं प्रदेश गल्फ सङ्घका संयोजक इन्द्र धारा विष्टले जानकारी दिए ।

प्रतियोगितामा पोखरा, काठमाडौं, धरान, बुटवललगायतका सहरका ४० गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्, जसमा चार जना महिला खेलाडीसमेत सहभागी बन्नेछन् । यस वर्ष राष्ट्रिय खेलाडीमा सीमित प्रतियोगितामा आगामी वर्ष विदेशी खेलाडीसमेत सहभागी बन्ने विश्वास आयोजकको छ ।

आयोजकका अनुसार इभेण्ट नौ होलमा तीन/चार ह्याण्डी क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बराबरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी विजेता, उपविजेता, महिला विजेता, वेष्ट ग्रस, नियर टु दि होल, लङ ड्राइभ र वर्डिजका विजेतालाई ट्रफी प्रदान गरिने छ । ‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाइमा रहेको छ । यद्यपि यो ‘गिनिज बुक्स अफ वर्ल्ड रेकर्ड’मा दर्ज हुन बाँकी छ । यसअघि भारत सिक्किमको याक गल्फ कोर्सलाई सर्वाधिक उचाइको गल्फ कोर्ष मानिन्छ । सो गल्फ कोर्ष तीन हजार नौ सय ७० मिटरको उचाइमा छ ।