अभिनेत्री गौरी मल्लको गायनमा पुनरागमन, सार्वजनिक गरिन् तीज गीत

अभिनेत्री गौरी मल्लको गायनमा पुनरागमन, सार्वजनिक गरिन् तीज गीत


गायिकाको परिचयलाई पुनःजीवित पार्दै अभिनेत्री गौरी मल्लले तीज विशेष गीत सार्वजनिक गरेकी छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘धिन ताका नाका धिनु बोलको गीतको अडियो भिडियो सार्वजनिक गरिएको हो ।

बाल्यकालदेखि गायनमा सौखिन मल्लले वर्षौं पहिले दर्जनबढि गीत गाएकी थिइन् । उनले चलचित्र ‘भाइ’मा नायिका मेलिना मानन्धरको लागि पार्श्व गायन समेत गरेकी थिइन् । यद्यपि उनले आफ्नो गायन करियर भन्दा अभिनय करियरलाई नै अगाडी बढाएकी थिइन् । सार्वजनिक तीज गीतमा शब्द, सङ्गीत र स्वर दिँदै उनी गायनमा फर्किएकी छन् । उनले आफ्नै नामबाट यूट्युब च्यानल समेत शुभारम्भ गरेकी छन् ।

यस गीतको भिडियोमा गौरी आफैले अभिनय गरेकी छन् । गौरीसँगै अभिनेत्री मिथिला शर्माले पनि यसमा अभिनय गरेकी छन् । साथमा समाइरा श्रेष्ठ, तेन्जु योन्जन, निलम पौडेल, सिम्रन शेरचन लगायतको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजबाहकले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । अञ्जु पोखरेल दाहाल म्यूजिक भिडियोकी निर्माता हुन् भने सुवास दाहालले निर्माण संयोजन गरेका छन् । उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा मल्ल उत्साहित र भावुक बनिन् । उनले आफ्नी आमालाई सो कार्यक्रममा निम्त्याएकी थिइन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, वरिष्ठ गीतकार करुण थापा, वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठ लगायत अतिथिको रुपमा उपस्थित थिए । कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले नृत्य, गायन र अभिनय तीन वटै कलामा पोख्त रहेकाले गौरीलाई नाट्यश्वरीकी छोरी रहेको बताउँदै नयाँ यात्राको शुभकामना दिए । अभिनेत्री बसुन्धरा भुषालले आफ्नो परिस्थितिले साथ नदिँदा यस गीतमा अभिनय गर्न नपाएको बताइन् । अभिनेत्री मिथिला शर्माले सबै काम छोडेर यस गीतमा अभिनयको लागि तत्कालै राजी भएको जानकारी दिइन् ।

अभिनेतृ एवम् गायिका मल्लले आफ्नो गायन यात्राबारे स्मरण गर्दै गायिका रचना रिमालले समय दिन नसकेपछि रेकर्डिष्ट डिजे एलएक्सले प्रेरणा दिई आफैलाई गाउन लगाएको खुलासा गरिन् । उनले आफुमा यसरी गाउन सक्छु भन्ने हिम्मत नरहेको तर सफल भएको बताइन् । उनले अब गायनमा निरन्तरता दिने प्रतिबद्धता पनि जनाइन् । कार्यक्रममा म्यूजिक भिडियोमा योगदान गर्ने टीमलाई कदरपत्र प्रदान गरिएको थियो ।