कुलतन्त्र बिर्साउने नेपालको गणतन्त्र !

कुलतन्त्र बिर्साउने नेपालको गणतन्त्र !


नेताले कालोलाई सेतो र रातलाई दिन भन्न बाध्य बनाइएका जनता जे भन्यो सोही भन्ने भएका छन् । विस्मृतिमा हराउनुपर्ने कुलतन्त्र झन् झन् शक्तिशाली भएर उभिन थालेको छ । यसको उचाई अझै बढ्ने हो कि निम्ठिने हो ठेगान छैन ।
✍ राजेन्द्रप्रसाद पाठक

मैले सुनेका ऐतिहासिक शासकीय कथाहरु मेरो मानसपटलमा अझै ताजै छन् । महाराजको आदेश आफैमा एउटा अकाट्य कानुनी दस्तावेज बन्थ्यो । उनकै डबली अहिलेको सर्वोच्च अदालतको फुलबेन्च भन्दा पनि माथि हुन्थ्यो । सर्वोच्च अदालतको आदेश त लोकतान्त्रिक गणतन्त्रका शासकहरुले कति लत्याए लत्याए, तर श्री ३ महाराजको आदेश काट्ने कुनै माइका लालको हिम्मत हुने नै थिएन । हिम्मत राख्नेले गर्दनसम्म बचाउन सकेनन्, तर महाराजको आदेश भने जिवितै रह्यो । यस्तो अकाट्य बचन समेत काट्नेहरुले स्वदेशमा स्थान पाउँदै पाएनन् । पाए सिर्फ निकालावास, त्यो पनि सिमानापारी । त्यहाँ समेत बाँच्न त्राहीमाम् बन्नुपर्ने । बाँच्ने हो कि मर्ने ठेगान नहुने जिन्दगी लिएर केहीले दुस्साहसी कदम त चाले तर सुराकी र धरपकड घरघरै थियो । ती दुस्साहसीहरुले आफ्नो कदम पछि हटाएनन् । एवम् रितले एक सतक बित्यो ।

महाराजको परिवार र कुलभन्दा शासनसत्ता एकरत्ति डेग चलेन । बरु श्रेणी तोकियो तोला मासा शेर तराजु महाराजको अडान ढल्किएन यसैलाई भनिन्थ्यो श्री ३ महाराजको कुलतन्त्र । नेपाल रच्ने बडामहाराजका सन्तान दर्सन्तान समेत खोपिमै सीमित थिए । उनकै पञ्जापत्रले हुकुमी कुलतन्त्र अडेको थियो । असली देश रच्नेको सन्तान महाराजसमेत बन्धक बन्नुपर्ने कुलतन्त्र हाम्रा पुर्खाले बेफिकर भोग्नुपर्‍यो । केही निष्ठावान प्राण हथेलिमा पस्कनेहरुले टसको मस नगर्नाले कुलतन्त्र १०४ बर्षमा मुर्छित् भयो । बडेमानको वर्षापछि जसरी चौरको मरेको दुबोको जराबाट फेरि दुबोको मुना पलाउँछ उसैगरी धिमा गतिमा प्रजातन्त्र पलाउन थाल्यो । तर बहुलबावादमा विदेशी बहुलाहा एलसिसिएन र शेफर्डहरुले खेल्न थाले तिनकै शिकारको रसोस्वादनमा रमाउन थालेकाहरुलाई उपयोग गर्ने धरपकड शुरु भएसँगै दूरदर्शिता राख्ने शासकले शासन हत्याए, फेरि टुसाएको चौरको दुबो ओइलाउन थाल्यो ।

विस्तारै चौर जंगल उजाड बन्न थाल्यो, यसरी नै अर्को तीनदशक बहुलवाद धकेलियो । बहुलवादले देशको बहुधार्मिक बहुसांस्कृतिक, बहुजातीय विविधतालाई आत्मसात गर्न सक्छ र यसैबाट देश शान्त र समृद्ध हुन्छ भन्ने भावभङ्गिबाट फेरि पनि बहुदलिय ब्यवस्था त शुरु भयो तर दुर्भाग्यवश त्यो गाडी हाँक्ने ड्राइभर भने उनै कुलतन्त्रका कुलतिहरु नै पर्न गएको कारण घातक जैविक रसायन फर्मेन्टेशन भएर प्राणघातक क्यान्सरको कोष मानव शरीरमा विकसित भएजसरी राजनीतिक दौरानको जिवाणु तयार भएर शासकको रुप धारण गरेकै कारण आजको यो घातक परिणाम श्रृजना भएको छ ।

कुलतान्त्रिक शासन ब्यवस्थामा प्रधानन्यायाधीश, न्यायाधीश, आईजिपी, प्रधानसेनापति, मन्त्रीलगायत कानुन संविधान सबै सर्वेसर्वा श्री ३ महाराज नै हुने हुनाले महाराजको आदेश अकाट्य हुन्थ्यो । कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका सबै महाराज नै हुन्थे र महाराजले नै तोकेको उत्तराधिकारी समेत उनकै कुलबाट तोकिन्थ्यो, त्यसैले श्री ३ को शासन ब्यवस्थालाई जहाँनियातन्त्र वा कुलतन्त्र भनिएको थियो । जम्माजम्मी एकसय तीन वर्ष प्लस तीस वर्ष मिलाएर कुल एकसय चौंतिस वर्ष लाएर आएको गणतान्त्रिक लोकतन्त्र त्योभन्दा पनि नामुद कुलतन्त्रको रुपमा परिणत भएर देश र जनताले पछाडि फर्किएर हेर्नुपर्ने जरुरी ठान्न थालेका छन् ।

इतिहास बिर्साउने कुलतान्त्रिक धनिकतन्त्रलाई हामी गणतान्त्रिक लोकतन्त्र भन्न बाध्य भएका छौँ । नेताले कालोलाई सेतो र रातलाई दिन भन्न बाध्य बनाइएका जनता जे भन्यो सोही भन्ने भएका छन् । विस्मृतिमा हराउनुपर्ने कुलतन्त्र झन् झन् शक्तिशाली भएर उभिन थालेको छ । यसको उचाई अझै बढ्ने हो कि निम्ठिने हो ठेगान छैन । हुन त बाँस धेरै बढेपछि निहुरिन बाध्य हुन्छ भन्छन् । सगरमाथाभन्दा माथि भूधरातल त नहुनुपर्ने हो तर महाराजको कुलतन्त्र बिर्साउने गणतान्त्रिक लोकतन्त्रको आयु जनता सचेत र जागरुक भए भने निरन्तर नरहने छनक देखापर्न थालेको छ । भलै आगामी शासनपद्धति जेसुकै होस् अस्तु ।