पोखरेलीले बिर्सन नसक्ने ‘कान्छी डाक्टर’ !

पोखरेलीले बिर्सन नसक्ने ‘कान्छी डाक्टर’ !


✍ सुनिल उलक

हुन त कान्छी डाक्टर नेपाली होइनन् र पोखरामा जन्मेकी पनि होइनन्, तर उनको योगदान खासगरी पोखरेलीहरूका लागि उच्च थियो । विदेशी भएर पनि उनले आफ्नो जीवन पोखरेलीका लागि नै सुम्पिइन् । यसर्थ पोखरेली महिलाहरूका सूचीमा ‘कान्छी डाक्टर’लाई पनि समावेश गरेँ ।

कान्छी डाक्टर वा भनौँ कान्छी मिमलाई अघिल्लो पिँढीले बिर्सनै सक्दैन । पोखराकै स्थायी वासिन्दा जो आज पचास वर्ष उमेर कटिसकेका छन् तीमध्ये धेरैको उपचार वा जन्म उनकै हातबाट भएको थियो । उनको एक पत्रका अनुसार उनले २००९ साल मंसिर ३ गते पोखरामा पहिलो पटक पाइला टेकेकी थिइन् । जन्मले बेलायती भए पनि उनलाई कुनै किसिमको प्रेरणाले पोखरा आउने संयोग जुटायो । पोखरा र पोखरेलीले यति मोहित बनायो कि उनले आफ्नो जीवन नै पोखराका लागि सुम्पिइन् । पोखरामा जन्म भएर आफ्नो मातृभूमि तथा आफ्नो जन्म शहरलाई सदाका लागि छोडेर बिदेशिने हामी धेरै भेट्दछौँ । जीवनको योगदान आफ्नो देशका लागि नगरेको उदाहरण हामी धेरै भेट्दछौँ । परदेशमा पनि कुनै ठूलो योगदान गरेर आफ्नो देशको नाम चम्काएका उदाहरण खासै भेटिँदैन । तर कान्छी डाक्टरले पोखरा बसेर लाखौको जीवन बचाइन्, र लाखौँको प्रिय डाक्टर बन्न सफल भइन् ।

१६ सेप्टेम्बर १९२६ मा (वि.सं. १९८३ भदौ ३१ गते) बेलायतको औद्योगिक शहर कोवेंट्रीमा एक पढेलेखेको परिवारमा जन्मेकी रुथ वाटसनका बुबा कार कम्पनीमा इञ्जिनियर थिए । उनले पहिलो विश्व युद्धको समय गोप्यरूपमा जहाजका लागि आवश्यक जेट इञ्जिनको डिजाइनमा सहयोगीको भूमिका पनि निभाएका थिए । रुथकी आमा भने विवाहअगाडिसम्म सेक्रेटरीको रूपमा काम गर्दथिन् । रुथको बुबाआमाबाट चार सन्तानको जन्म भएको थियो । जेठो छोराले बाबुको बिँडो ठाम्दै इञ्जिनियर बने । कान्छो छोराले दोश्रो विश्वयुद्धको समय नेभीमा काम गरे, पछि किसान बने । तेश्रो सन्तानका रूपमा रुथको जन्म भएको थियो भने चौथो सन्तानका रूपमा कान्छी छोरी थिइन् ।

रुथको बाल्यकालमा विश्वभर आर्थिक मन्दी फैलिएको थियो । हरेक ब्यक्ति आर्थिक समस्याले ग्रसित भएका थिए । तर रुथको बाबुको राम्रो कमाइ भएको हुँदा उनको परिवारमा भने आर्थिक मन्दीको खासै अन्तर परेको थिएन । उनी जब बिस्तारै हुर्कंदै थिइन्, अचानक विश्वयुद्ध शुरु भयो । युद्धको त्रासदीबाट लुकेर बाँच्नु परिवारको दायित्व हुन पुग्यो ।

युद्ध समाप्तिपछि रुथले बर्मिंघममा गएर मेडिकल ट्रेनिङ लिइन् । मेडिकलको विद्यार्थी रहँदै उनी क्रिस्चियन सोसाइटीको सदस्य पनि बनिसकेकी थिइन् । अन्ततः डाक्टर पास भएपछि उनले विवाह नगरी एक्लो जीवन बिताउने र समाजको सेवा गर्ने अठोट गरिन् ।

डाक्टरी प्राक्टिसको बीच उनले सर्जनतर्फ लागिन् । उनको लगनले उनले देशको राम्रो सर्जन बन्न सफल मात्र भइनन् देशले उनलाई पुरस्कृत पनि गऱ्यो । तर अचानक एक परीक्षामा एक नम्बर कम आउँदा उनी असफल भइन् । उनलाई निकै झट्का लाग्यो । उनले मिशनरीको काममा विदेश जाने अठोट गरिन् । उनको इच्छामा आमाबुबाको समर्थन रहेन । तर पनि उनी दृढ भएर फैसला लिइन्, विदेश गएर मिशनरीमा सेवा गर्ने । मिशनरीबाट चीनका लागि तैयारी हुँदै थियो, तर उनले नेपालको बारेमा आफ्ना बाबुबाट सुनेकी थिइन् । पहाडैपहाडको देश नेपालमा जाने इच्छा थियो उनको । चीनको लागि तैयार हुँदा उनले अचानक भने नेपालको विषयमा के हुन्छ ? उनले मनमनै निर्णय गरिसकेकी थिइन्- ‘मेरो गन्तव्य नै नेपाल हो ।’

सन् १९४९ को गर्मी महिनामा मिसनरीको विदेश जानेहरूको सूचीमा उनको नाम पनि पर्न सफल भयो । उनले आफ्नो गन्तव्य नेपालका लागि तैयारी थालिन् । बर्मिंघम एक्सिडेन्ट अस्पतालमा रहँदा नै उनले आफ्नो सर्जनको क्षमतालाई तिखार्न पाएकी थिइन् । यसको साथै फुर्सद मिल्यो कि नेपालको विषयमा अध्ययन गर्दथिन् । उनले अध्ययनकै क्रममा थाहा पाइन् कि नेपालमा कुनै पनि मिशनरी सक्रिय छैनन् । नेपालमा मिशनरीका रूपमा जाने सम्भावना नदेखे पनि उनले भगवानमाथि विश्वास भने राखिरहिन्- ‘एकदिन म नेपालमा गएर सेवा गर्नेछु !’

मिशनरी कलेजमा रहँदै एकदिन उनको भेट डा. पैट ओ’हेनलानसँग भयो । उनले नेपालमा राजनैतिक परिवर्तन हुँदै गरेको र छिट्टै मिशनरीको लागि खुला हुने जानकारी दिइन् । डा. पैट अर्का डा. हिल्डाको साथ नेपालको नजिकै सिमा क्षेत्रमा पुगेका थिए । वि.सं १९९१ तिर नै दार्जिलिङ जाने समय नेपाललाई नजिकैबाट नियाल्न पाएकी थिइन् । अन्ततः रुथ नेपाल जानेहरूको सूचीमा चुनिइन् । उनका आमाबुबा खुशी थिएनन्, तर पनि छोरीको इच्छाअगाडि बाबुआमाले केही गर्न सकेनन् ।

सन् १९५२ मा त्यो दिन आयो । रुथ आफ्नो सपनामा देखेको गन्तव्यका लागि हिँड्ने तैयारी शुरु भयो । एसएस चुसान नाम गरेको पानीजहाजमा बम्बईसम्मको टिकट काटिएको थियो । महिनौँ अगाडिदेखि गरिएको सपिङले ठूला-ठूला ब्याग भरिएका थिए । नेपाल त्यसमा पनि पोखरा त्यसबेला खासै विकासको चरणमा नै थिएन । यहाँ विदेशीहरूका लागि उनिहरूलाई आवश्यक सामग्रीहरू पाउने सम्भावना थिएन । यसर्थ पनि सपिङको सूची निकै लामो थियो । लण्डन छोड्नु अघिल्लो दिन बुबाआमालाई भेट्न पुगेकी थिइन् । तर उनीहरूले खुशीले बिदाइ गरेनन्, मन थामेर बिदाइ गरे । लण्डनबाट स्वेज क्यानल हुँदै मुम्बइ पुगिन् । मुम्बइबाट नौतनवासम्म विभिन्न शहर परिवर्तन गर्दै रेलमा सफर भयो ।

नौतनवा पुगेपछि नेपाल सरकारको पत्रको प्रतीक्षा रह्यो । अन्ततः नेपाल सरकारबाट पोखरामा अस्पताल बनाउन स्विकृति आउनासाथ पोखराको यात्राको तैयारी शुरु भयो । सबैभन्दा पहिले पक्लिहवामा रहेको बेलायती सेनाको भर्तिकेन्द्रमा सम्पर्क गरेर ३ टनको सानो ट्रक (लरी) र सहयोगीहरूका लागि माग भयो । २००९ सालको कार्तिक २६ गते दिउँसो १ बजे लरीमा बसेर नौतनवाबाट बुटवलका लागि प्रस्थान गरिन् । त्यहि दिन बुटवल पुगेर कुल्ली खोज्ने काम भयो । भोलिपल्ट बिहान १९ जना कुल्ली र ११ जना मिसनरीका सदस्यहरूसहित पोखराका लागि यात्रा शुरु भयो । बाटोमा ठाउँ ठाउँमा क्याम्प लगाएर गाउँलेहरूलाई आवश्यक उपचार पनि गरिन् उनले ।

एक हप्ताको लामो यात्रापछि मंसिर ४ गते पोखरा पुगिन् । एउटा सपनाको शहर, रुथले सपनामा देखेको गन्तव्य पूरा भएको थियो । यो सपना पूरा हुन लामो समय लागेको थियो । २६ वर्षको उमेरमा केही मोजमस्ती र रमाइलो गर्ने समयमा जीवनको संघर्ष गर्न मानिसहरूको सेवा गर्न पोखरा आइपुगेकी थिइन् ।

उत्तरतर्फ लहरै देखिने हिमालयको श्रृंखला देखेर मन्त्रमुग्ध भइ उनी हेरिरहन्थिन् । पहिलो दुई हप्तासम्म उनी सरकारी आवासमा रहिन् । सरकारका तर्फबाट मिशनरीका लागि कुन ठाउँ दिने भन्ने तय भएको थिएन । अन्ततः मिरुवाछेउमा रहेको ठूलो चौरको उत्तरतर्फ सरकारबाट अस्पतालका लागि जमिन दिइयो । जमिन प्राप्त भएपछि अस्पताल बनाउने तैयारी भयो ।

केही मजदूरहरूको साथमा मिशनरीका सदस्यहरू समेत मिलेर जमिन चार छेउमा ३० फुट लामो तीनवटा लामो टहरा बनाए । त्यसमध्य एउटामा औषधीहरू तथा अर्कोमा भान्साकोठा, सुत्नेकोठा, बैठककोठा बनाइएको थियो । चौथो केही सानो टहरा बनाए जसलाई पाहुनाघर तथा फिलिपको लागि कोठा तैयार भयो । भित्ताहरू बाँसको मान्द्रो राखेर बनाइएका थिए भने भुइँमा पनि मान्द्रो नै ओछ्याइएको थियो । छानाचाहिँ खरले छाएको थियो । यसरी अस्पताल तैयार भयो । एउटा सानो कोठा बनाएर त्यसमा अपरेशन थियटर बनाइयो । अस्पतालमा उपचार शुरु भएको पहिलो महिना नै गाउँ-गाउँबाट आएका तथा बजारका गरी एक हजार बिरामीहरूको उपचार भयो ।

अस्पतालमा आउने बिरामीहरू अङ्ग्रेजी बुझ्ने र बोल्न सक्ने हुँदैनथे । त्यसैले डा. पैट जसको अलिक उमेर बढी थियो, उनलाई ठुली डाक्टर भनेर सम्बोधन गर्दथे भने डा. रुथ सानी भएको हुँदा उनलाई कान्छी डाक्टर भनेर सम्बोधन गर्न थाले । रुथलाई पनि यो नाम मन पऱ्यो । उनको नाम केवल अङ्ग्रेजी नबुझ्ने नेपालीहरू माझ मात्रै होइन बेलायतसम्म पनि कान्छी डाक्टरकै रूपमा परिचय बन्न थाल्यो ।

नेपालीहरूको माझ त्यो अस्पतालको नाम नै मिम अस्पताल रहन पुग्यो । गोरो छाला हुने विदेशीहरूका लागि मिम भन्ने गरिन्थ्यो । यो अस्पतालमा दुई मिम जेठी मिम र कान्छी मिम भएका कारणले यो अस्पतालको नाम नै मिम अस्पताल भनेर चिनाउन थाल्यो । तर मान्द्रोले बारेर बनाएका टहराको अस्पताल २०१० सालको चैतमा आएको ठूलो हावाहुरीले लडायो । अस्पताल रहेको जमिन पानीले भरिएर ताल जस्तै बन्यो । त्यसको केही समय पछि केही बलियो घर हुनुपर्ने भन्ने लागेपछि कलकत्ताबाट आल्मोनियमको पाताहरू मगाइयो, साथै छाना छाउन जस्ता पाता पनि मगाए । ३० फिट लम्बाइ र २० फिट चौडाइको घर तैयार भयो । यो घरको छानो टल्कने जस्ता पाताको थियो । टाढाबाट नै दिउँसो घामले यसको छाना टल्केको देखिन्थ्यो । यसरी सबैले अस्पतालको छानो टल्कने र गाउँ-गाउँबाट पनि देखिने भन्न थालेपछि अस्पतालको नाम नै साइनिङ हस्पिटल (टल्कने अस्पताल) राख्ने निधो भयो । यही नामले यो अस्पताल प्रख्यात पनि भयो ।

राजा त्रिभुवनको देहान्तपछि बनेका नयाँ राजा महेन्द्रले पोखरा भ्रमण गर्ने भयो । पोखरा भ्रमणमा साइनिङ हस्पिटलको पनि निरीक्षण गर्ने भन्ने समाचार अस्पताललाई दिइयो । राजाको अस्पतालको निरीक्षण क्रममा त्यही अस्पतालमा नै सबै विदेशी डाक्टर तथा कर्मचारीका साथ खाजा पनि खाए । यसले विदेशी डाक्टरहरूको खुशीको सीमा नै रहेन । उनीहरूलाई नेपालीहरूले विदेशीसँग बसेर खाँदैनन् भन्ने लागेको थियो । तर राजाले नै त्यो भेदभाव नराखेपछि प्रचार गरिएको कुरा गलत जस्तो माने ।

यो अस्पताल सबैको लागि उपचारको प्रमुख स्थल नै भयो । र, त्यहाँ रहेका कान्छी डाक्टर सबैका प्रिय बने । अस्पतालकको सुत्केरी कक्षमा पोखराका कैयौँको जन्म भयो । कतिपयको जन्म कान्छी डाक्टरकै हातबाट भयो । कान्छी डाक्टरको सानो मोपेडको आवाजले नै कान्छी डाक्टर बजारतर्फ आइपुगेको थाहा हुन्थ्यो । होण्डा कम्पनीको ९० मोडेलको सानो मोपेडमा वहाँ गुड्नुहुन्थ्यो । यसको आवाज नै केही भिन्न हुन्थ्यो । त्यसैले त्यो आवाजले नै कान्छी मिम आउनुभयो भनेर ठम्याउँथे ।

सबैको मुखमा कान्छी डाक्टरको रूपमा लोकप्रिय हुँदै गएकी उनी एकदिन आफै बिमार भइन् । दमले पीडित भएका उनलाई पछि हेपटाइटिस भयो । केही निको हुनासाथ बिरामीको सेवामा लागिहाल्ने उनको एकदिन एउटा आँखाले देख्न छोड्यो । साथीहरूले जाँच्दा थाहा भयो उनको मस्तिष्कमा ट्यूमर बढेको रहेछ । उनलाई तुरुन्त पोखराबाट काठमाडौं र त्यहाँबाट लण्डन लगियो । तर त्यहाँ पुग्दा थाहा भयो ट्यूमर निकै ठूलो भइसकेको रहेछ, जसले गर्दा १५ नभोम्वर १९७६ (२०३३ कार्तिक ३०) मा केवल ५० वर्षको उमेरमा उनको देहान्त भयो । पोखरेलीलाई सदा माया गर्ने तथा पोखरालाई आफ्नो जन्मथलो भन्दा बढी माया गर्ने कान्छी डाक्टर आफ्नो जन्म देशबाट फेरि कहिल्यै फर्केर पोखरा आइनन्, तर उनको सम्झना धेरै पोखरेलीले सधैं गरिरहने छन् ।