भारोत्तलन विश्व च्याम्पियनशिप : विकासले बनाए तीन राष्ट्रिय कीर्तिमान

भारोत्तलन विश्व च्याम्पियनशिप : विकासले बनाए तीन राष्ट्रिय कीर्तिमान


साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तलन च्याम्पियनशिप-२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका छन् । प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम तौल उठाएर आफ्नै राष्ट्रिय कीर्तिमान ‘ब्रेक’ गरेका हुन् ।

यसअघि भट्टले स्नाचतर्फ एक सय २३ किलोग्राम तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेको भारोत्तोलनका टिम प्रशिक्षक जीवन गौतमले जानकारी दिए । तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी लिएर वर्ल्ड च्याम्पियनशिपमा सहभागी भएका प्रशिक्षक गौतमले नेपालले सो प्रतियोगितामा १६/१७ वर्षपछि सहभागिता जनाएको बताए ।

उनका अनुसार विकासले क्लिन एन्ड जर्कतर्फ एक सय ४८ किलो तौल उठाएर अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सो विधातर्फ यसअघि नेपाल प्रहरीका विकास थापाले एक सय ३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

त्यसैगरी कीर्तिमान कायम गर्ने क्रममा विकास भट्टले जम्मा दुई सय ७२ किलोग्राम तौल उचालेर तेस्रो कीर्तिमान कायम राखेको प्रशिक्षक गौतमले जानकारी दिए ।

भारोत्तोलनमा राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण पदक विजेता भट्टले सुदूरपश्चिमको प्रतिनिधित्व गर्छन् ।