‘पानीफोटो’ले पायो पुस्तकको स्वरुप

‘पानीफोटो’ले पायो पुस्तकको स्वरुप

घ.वि. सम्वाददाता
0
Shares

अभिनेता तथा लेखक खगेन्द्र लामिछानेद्वारा लिखित पुस्तक ‘पानीफोटो पानादेखि पर्दासम्म’ लोकार्पण गरिएको छ । अभिनेता लामिछानेसँग काम गर्नुभएका निर्देशकहरू मनोज पण्डित, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, अशोक शर्मा र अभिनेत्रीहरू स्वस्तिमा खड्का, ऋचा शर्मा, सुरक्षा पन्त, मलिका महतलगायतले पुस्तक संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

लेखक लामिछानेले नाटकपछि चलचित्र तयार गर्नुभएको ‘पानीफोटो’ लाई पुस्तकको स्वरूप दिनुभएको हो । चलचित्र छायाङ्कन गरेर तयार भएपछि फुर्सदको समयमा पुस्तकको स्वरूप दिएको उहाँले बताउनुभयो । उहाँले लकडाउनको समयमा घरमा रहँदा नै चलचित्र पूरा भएकाले त्यसलाई पुस्तकमा उतार्न सफल भएको समेत जानकारी दिनुभयो । यसमा आफुले पहिलोपटक चलचित्र निर्देशन गर्दाका अनुभवलाई समेटेको हुनाले नयाँ चलचित्रकर्मीलाई मार्गदर्शन गर्छ भन्ने विश्वास लिएको बताउनुभयो ।

प्राविधिक पक्षको यात्रालाई सूक्ष्म किसिमले लेखिएको पुस्तकले चलचित्रबारे सन्देश प्रवाह गर्ने अभिनेता तथा निर्देशक नीर शाहले बताउनुभयो ।शाहले पुस्तकले चलचित्र पढ्ने विद्यार्थीहरुलाई मार्गदर्शन गर्ने र चलचित्र बनाउँछु भनेर सोच राखेका नव चलचित्रकर्मीले एक पटक पानीफोटो पढ्नै पर्नेमा जोड दिनुभयो । अभिनेता शाहले चलचित्र पढाउने कलेज र यससँग सम्बन्धित रहेर काम गर्ने संस्थाले यो पुस्तक राख्न जरुरी रहेको समेत स्पष्ट पार्नुभयो।

प्रकाशन गृह फाइनप्रिन्टका लागि यो पुस्तक खास रहेको प्रकाशक नीरज भारीले बताउनुभयो । उहाँले यस पुस्तक विशेषगरी चलचित्रमा रूचि राख्नेहरुका लागि बढी उपयोगी रहेको बताउनुभयो । चलचित्रको परिभाषा, चलचित्र निर्माणको योजनादेखि, निर्माण–प्रदर्शनसम्मको यात्राकथालाई यसले जीवन्त रुपमा प्रस्तुत गरेको उहाँको भनाई छ।

‘पानीफोटो’ नेपालमा १२ वर्ष चलेको माओवादी युद्धको समयमा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरुले छोरा खोज्न गरेको संघर्षको कथा हो । लेखक लामिछानेले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरूकुलमा मञ्चन गर्नुभएको थियो । यही नाटकलाई उहाँले आफ्नै निर्देशनमा चलचित्रको स्वरुपमा प्रस्तुत गर्नुभएको चलचित्र ‘पानीफोटो’ विसं २०७९ साउन १३ मा प्रदर्शन भएको थियो ।

कार्यक्रममा लेखक एवम् निर्देशक लामिछानेसँग लेखक एवम् सञ्चारकर्मी शिवानीसिंह थारूले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गर्नुभएको थियो । कार्यक्रममा निर्माता रवीन्द्रसिंह बानियाँ, निर्देशक फिरोज खड्का, वितरक करण श्रेष्ठलगायत उपस्थित हुनुहुन्थ्यो ।