पूर्वीय ज्ञान दर्शन : वैदिक आचार्य चार्वाक मतबारे थप कुरा !

पूर्वीय ज्ञान दर्शन : वैदिक आचार्य चार्वाक मतबारे थप कुरा !


अहम् ब्रह्मास्मिः – ३

पश्चिमा जगत आधुनिक कालमा दर्शनको विकासमा अगाडि बढ्नुको कारण केही हदसम्म पौराणिक पूर्वीय दर्शनकै प्रेरणा पनि हुन सक्छ ।
✍ डिल्ली अम्माई

पूर्वीय दर्शनमा विपरीत मान्यता र चरित्रहरू :

चार्वाक दर्शनबारे पहिलो लेखमा नै भनिसकिएको छ कि चार्वाक दर्शन खगोल विज्ञान, वर्तमानको उन्नति, प्रयोगात्मक शिक्षा र भौतिक सामर्थ्यसँग जोडिएको दर्शन हो । यो दर्शनले मानिसको वर्तमानसँग जोडिएका सान्ति, सुख र समृद्धिलाई अत्यधिक महत्व दिन्छ । यस दर्शनले जातिय वर्ण व्यवस्था, आत्मनिर्वाण, स्वर्ग, नर्क, भाग्य, अर्कोजन्म आदि अन्धविश्वासलाई नकारिदिन्छ । यसले वर्तमानलाई सुन्दर र कर्मद्वारा स्वर्ग बनाउने सल्लाह दिन्छ ।

हिन्दु दर्शनमा मुख्यतया नौ दर्शनहरू छन्, जसमा ६ आस्तिक र तीन नास्तिक दर्शन समाविष्ट छन् । आस्तिक दर्शनलाई षड्दर्शन वा सनातन दर्शन भनिन्छ भने नास्तिक वा भौतिकवादी दर्शनलाई चार्वाक दर्शन भनेर जानिन्छ । जसमा आस्तिक दर्शनमा सांख्य, न्याय, मिमांसा, वैशेसिक, योग र वेदान्त पर्दछन् । त्यस्तै नास्तिक दर्शनमा चार्वाक, जैन र बुद्ध दर्शन पर्दछन् ।

बौद्ध दर्शन मानव मूल्य समाविष्ट आधुनिक विज्ञानको समर्थक हो । बौद्ध अनुयायीहरू काल्पनिक ईश्वरमा विश्वास गर्दैनन् । त्यसैले अल्बर्ट आइन्स्टाइन, बर्नाट रसेल जस्ता धेरै वैज्ञानिक र प्रतिभाशाली व्यक्तिहरूले बुद्ध धर्मलाई वैज्ञानिक र विश्व सान्तिको लागि अन्तिम विकल्प मानेका हुन् । चीनको ९१ प्रतिशत भन्दा बढी जनसंख्या बुद्ध धर्मको अनुयायी छ, त्यसैले चीनमा संसारमा सबैभन्दा धेरै नास्तिकहरू छन् । यसरि नास्तिकतालाई पनि खास–खास अवस्थामा समुदायको आस्थासँग जोड्न सकिन्छ । विचारको जगतमा दुवै विपरीत पक्ष सशक्त नहुने हो भने त्यसले सर्वसत्तावादी अराजकतालाई जन्म दिन्छ ।

दर्शनको भावअनुसार संसार स्वशासित र प्रसासित छ । आस्तिकहरूले ईश्वरको अस्तित्वको लागि दिइएका प्रमाणहरूको भौतिकवादीहरूले आलोचना गर्छन् । आस्तिकहरूका काल्पनिक तर्कहरू भौतिकवादीहरूले प्रमाणको अभाव भन्दै आलोचना गरेको पाइन्छ र सृष्टिलाई दैविक इच्छा अनुशार नबुझी डार्विनको बिकासवादी सिद्धान्तअनुसार व्याख्या गर्दछन् । विपरीत दार्शनिक मान्यताहरूबीचको मुख्य फरक यही हो ।

पौराणिक नास्तिक (चार्वाक)हरूले वेदको साथसाथै इश्वरीय सत्तालाई पनि मान्दैनथे । भारतीय परम्परामा आस्तिक भनेको वेदलाई मान्ने समुह भनेर बुझिन्छ । पौराणिक कालमा भारतमा लोकप्रिय चार्वाक (लोकायत) दर्शन वर्तमान अस्तित्वलाई अधिक महत्व दिने दर्शन थियो जसले वेदलाई मान्दैनथ्यो । जीवनबारेको सोचाइमा सम्पूर्ण मानव समुदाय चार्वाक दर्शनको अनुशरणकर्ता भएर पनि आस्तिकहरूले सदैव चार्वाक समर्थकहरूलाई दमन गरिरहे ।

अहिलेसम्म बचाएर राखिएका वा भेटिएका चार्वाक दार्शनिक ध्येयका मुलभुत कुराहरू निम्न प्रकार छन् :
यावत् जिवेत् सुखम् जिवेत् रिणम् कृत्वा घृतम् पिवेत् ।
भष्मी भुतस्य देहस्य पुनारागमनम् कुत:। ।
पित्वा पित्वा पुनःपित्वा, यावात्पतति भुतले ।
उत्थाय च पुन: पित्वा, पुनर्जन्म न विद्यते । ।

यसको अर्थ हुन्छ, बाचुन्जेल सुखले बाँच, उधारो लिएर पनि (स्वास्थ्य रहनको) लागि घिउ नै पिउ । एक पटक जलिसकेको वा नष्ट भएको शरीर फेरि आउन सक्दैन । यसलाई गहनातामा बुझ्दा मृत्युपछिको मोक्षभन्दा सुख श्रेष्ठ हो । त्यस्तै पिउने कुरा पनि जमिनमा न पल्टिउञ्जेल पिउ, पल्टेउ भने पनि पुनः उठेर पिउ किनकि पुनर्जन्म असम्भव छ । अर्थात् जुन कुरामा तिमीलाई आनन्द हुन्छ, त्यो कुरा यही जीवनमा गर । यो पिउने कुराको अधिक जोडले मद्तिर संकेत गऱ्यो भन्ने धेरै धर्मभीरुहरूको तर्क रहेको सुनिन्छ, तर पुनर्जन्म सम्भव छैन भनेर पुष्टि गर्न राखिएको पिउने प्रसङ्ग आलोचनाको लागि अरुले जोडिदिएका हुन् वा चार्वाकले नै जोडे यसमा सबैको एकमत भने छैन ।

चार्वाक र कवीरका अनुशार, ‘धर्म एक मानसिक रोग हो । अर्थको महत्व सुखमा खर्च गर्नुसँग छ । काम अर्थात् सुख आफ्नै लागि आवश्यक छ । तर पुनर्जन्म नहुने भएकोले मोक्ष आवश्यक छैन । हामी मरेपछि हाम्रो अस्तित्व कुनै रुपमा पनि रहँदैन ।’

आचार्य चार्वाकको यही भावनालाई चार्वाक दर्शनका विरोधीहरूले आक्रमण गरिरहे । अहिले भारतमा मात्र नभएर यो दर्शनको भाव संसारभरी व्याप्त छ । धार्मिक पन्थमा नलाग्नेहरूको तर्क छ, ‘बैर कराती मन्दिर मस्जित, एक कराती मधुशाला’ भनेझैँ संसारभरी जति झगडा छ, त्यो पनि धर्मको नाममा नै छ । संसारमा धर्म नामको विलुप्त हुने हो भने लडाइँ–झगडा विलुप्त भएर जाने देखिन्छ । जात व्यवस्था र साम्प्रदायिकता पनि आस्तिक धर्मको बैसाखी टेकेर उभिएको छ ।

सबै नैतिक मूल्य र दर्शनलाई चपाएको हुनाले पौराणिक दार्शनिक चार्वाकलाई यो नाम दिएको केही आस्तिकहरूको मत रहेको छ । अर्को एक पक्षको विश्लेषण अनुशार, ‘चारु र वाक मिलेर चार्वाक भएको हो । चारुको अर्थ शुन्दर (प्रिय) र वाकको अर्थ अभिव्यक्ति हुन्छ ।’ भनिन्छ, चार्वाकहरूले सुन्दर र तार्किक भाषा बोल्दथे । उनीहरूले यति तार्किक कुरा गर्दथे कि मानिसहरू मोहित हुन्थे ।

केहीको भनाइअनुशार ‘चार्वाक नामको एउटा ऋषि थियो अरु उसका समर्थक थिए । त्यही ऋषिको नामबाट समुहको नाम नै चार्वाक रहन गएको हो । पछि यसले संस्थागत रुप लिँदै गयो । अत आदिम युगमा चार्वाक मत संस्थागत हुँदै गयो । खासगरी यो मत सत्य युगको प्रारम्भिक कालको विकसित थियो ।

यस दर्शनका रचयिता देवताका गुरु बृहस्पति थिए । त्यसैले यो दर्शनलाई बृहस्पत्य दर्शन पनि भनिन्छ । देवताका गुरुले यो दर्शन मानिसको लागि नभएर अशुरको लागि रचेको मान्नेहरू पनि छन् । कसैको मतानुशार, चार्वाक ऋषि बृह्रस्पतिका चेला थिए । सनातनमा बृहस्पति एक नभएर धेरै भए । तीमध्ये बृहस्पत्य दर्शनका रचयिता कुन बृहस्पति थिए अहिलेसम्म कसैलाई थाहा छैन । केहि विद्ध्वानले यो दर्शन लेख्ने बृहस्पति कामसूत्र लेख्ने बात्सायन एउटै भएको कुरा मान्दछन् ।

इशापूर्व छैटौँ सताब्दीमा अजित केश कम्बली नामका अत्यन्त तार्किक व्यक्ति थिए जसलाई तर्कमा कसैले हराउन सक्दैनथ्यो । मानिसको कपालको रौँबाट बनेको काम्लो ओढ्ने व्यक्तिलाई केश कम्बली भनिन्छ । कसैले उनी केश कम्बली नै कामसूत्र लेख्ने बात्सायन र चार्वाक भएको बताएका छन् । भनिन्छ, त्यतिबेला तितिक्षा गुण भएको कम्बल जसको प्रयोग शंकराचार्यले पनि गर्दथे । यस तर्कले पनि धेरै विरोधाभास उत्पन्न गर्ने देखिन्छ ।

चार्वाक दर्शनको अर्को नाम लोकायत पनि हो । पूर्वीय दर्शन परम्परामा ‘इहलोक’लाई मान्ने दर्शन अर्थात् यस लोकबाहेक स्वर्ग, नर्क, मोक्ष परलोकलगायत कुनै लोकलाई पनि नमान्ने दर्शन हो यो । यो दर्शन पूर्वीय परम्पराको एउटा मात्र दर्शन हो, जसले इन्द्रियको अनुभूतिबाट प्राप्त सत्यबाहेक अन्य सबै कुरालाई खारेज गर्दछ । चार्वाक दर्शन बैदिक सनातनिद्वारा सबैभन्दा धेरै आलोचना गरिएको दर्शन पनि हो । यो दर्शनको सबै किताबहरू नष्ट गरिएकोले यसबारेका पूर्ण प्रमाणिक तथ्यहरू अझैसम्म पाइएको छैन ।

चार्वाकको चर्को विरोध कर्मकाण्ड, वेद, भुत, आत्मा र इश्वर मान्नेहरूसँग थियो । काल्पनिक ईश्वर मान्ने पुरोहितहरूलाई उनले भाण, धुर्त, पाखण्ड र निशाचर भनेका छन् । यहि द्वन्द्वको कारण नै पुरोहित वर्ग रिसाएर उनका किताबहरू नष्ट गरिएको एक पक्षको दावी छ ।

दार्शनिक चिन्तनको उत्थान काल :

इशाको छैटौा सताब्दी चीन, ग्रिस, जापान, भारत इजरायल लगायत संसारभरी दार्शनिक क्रान्तिको काल थियो । यसै समयमा केश कम्मली, बुद्ध, महाबिर, कन्फ्युसियस, लाओत्से, सेन्तो, थालेस, थेल्स, पाइथागोरस, प्रमानाइडिज, हेरक लाइत्ज, सुकरात जस्ता दार्शनिक जन्मे । हजरत मोसाद्वारा कथन प्रथामा चलेको तोराह लेखिएको पनि त्यहि सताब्दीमा हो । भनिन्छ, माथि बताइएका सबै दार्शनिकहरू एकै समयमा जिवन्त थिए ।

पूर्वीय दर्शन परम्परामा सुखवाद, जडवाद जसलाई अहिले भौतिकवादको एक अंगको रुपमा हेरिन्छ, त्यो चार्वाक दर्शनको नै देन भएको मानिन्छ ।

नवौँ सताब्दीमा जयराशी भट्टद्वारा लेखिएको ‘तत्व बिप्लव सिंक’ नामक किताव पाइञ्छ जसमा चार्वाक दर्शनको केहि उल्लेख गरिएको छ । त्यसपछि ११औँ सताब्दीमा कृष्ण मिश्रले लेखेको ’प्रबोध चन्द्रोदय’ नामक नाटक पनि चार्वाक दर्शनको पक्षमा लेखिएको एउटा अर्को पुस्तक हो । त्यसपछि १४औँ सताब्दीमा चार्वाक दर्शनको बारेमा ९० प्रतिशत जानकारी सिँगेरी मठका गुरु माधव आचार्य बिध्यारण्यले ‘सर्व दर्शन सङ्ग्रह’मा दिएका छन् । त्यसमा भारतका सबै दर्शनको बारेमा बिस्तारपुर्वक बर्णन गरिएको छ । चार्वाकका जति सुक्ति वा सुत्र अहिलेसम्म पाइएका छन् त्यहि किताबबाट लिईएको हो ।

चार्वाकले जे लेखे त्यो सबै नष्ट गरियो तर चार्वाक दर्शनका विरोधीहरूले त्यसको खण्डन गर्न लेखेका कुराहरूबाट नै अहिले केहि सुत्रहरू प्रकाशनमा ल्याइएका छन् । चार्वाक भौतिक सुखवादी दार्शनिक थिए भन्ने कुरा उनको आलोचना गरिएका सुक्तिहरूबाट थाह हुन्छ । आलोचना गर्नेहरूले कहिल्यै उदाहरण दिंदालोक कल्याणकारी सुक्तिको प्रयोग गर्दैनन् । जुन कुरालाई बढी जोडले प्रहार गर्न सकिन्छ, त्यसलाई मात्रै आलोचनामा उल्लेख गर्ने गरिन्छ । उनको सवालमा पनि त्यहि कुरा सत्य नहोला भन्न सकिन्न ।

भनाइ नै छ कि, जुन सुकै युगको किन नहोस मान्छे अरुको सवालमा न्यायाधिस र आफ्नो सवालमा वकिल हुन्छ । त्यसैले कसैको आलोचना सुनेरै उस प्रति तुरुन्त धारणा बनाउनु हाम्रो दुर्भाग्य हो । कसै प्रति पनि अरुको आलोचना सुनेर वा पढेर हैन कि आँफै अनुसन्धान गरेर धारणा बनाउनु पर्छ भन्ने हेतुले चार्वाक मतबारे बहस चलाइएको हो ।

चार्वाक मान्यतामा दार्शनिक तत्वको घनत्व :

दर्शनका तीन तत्वमा पहिलो ज्ञान (Epistemology), दोश्रो तत्वमा ईश्वर, जीवन र जगतको बारेमा धारणा (Metaphysics) र तेश्रोमा नैतिक मिमांश (Ethics) पर्दछन् । चार्वाकको सिद्धान्तलाई यी तीन पक्षमद्धे ज्ञानबाट हेर्दा ‘प्रतक्षमेव एकं प्रमाणं’को दृष्टिकोण पहिलो तहमा राखिन्छ । जसलाई पूर्वीय दर्शनमा धारणा (perseption) र पश्चिमा दर्शनमा अनुभववाद (Empiricism) भनेर जानिन्छ । पश्चिममा जोन लकले ज्ञान सम्बन्धि यस विचारलाई कोजिटो एर्गो सम् (cogito ergo sum) भनेका छन् जसको अर्थ ‘I think therefore I am’ (मैले सोचेको कारण म यहाँ छु) हुन्छ । हामीले जे सिक्छौं र अनुभव गर्छौं त्यसबाटै ज्ञान प्रमाणित हुन्छ भनेर पश्चिमा दार्शनिक टेबुला रासाले अनुभववादलाई प्रमुखता दिएका छन् ।

चार्वाकले जस्तै यी सबै पश्चिमा बिद्ध्वानहरूले प्रमाणिक सत्यलाई नै ज्ञानको आधार बताएका छन् । प्रमाण मान्ने आधारहरूमा प्रतक्ष अनुभव, अनुमान(प्रतक्ष घटना नदेखेर पनि अघिल्लो घटनाको अनुमान गर्नु जस्तै बिहान जमिन भिजेको देखेर राति पानि आएको अनुमान गर्नु), शब्द प्रमाण, उपमान (comparism, जसलाई तुलना गरेर प्राप्त ज्ञान पनि भनिन्छ), अस्पष्टता (unimplication) र अनुपलब्धि (nonexistent) लाई भारतिय परम्परामा प्रमाण मानिन्छ ।

उपरोक्त मान्यतानुशार, चार्वाकले केवल प्रत्यक्ष अनुभवलाई मात्र प्रमाण मानेको दाबी गरिन्छ । त्यसमा देखेको सत्यसहित सुख-दुःखका अनुभूतिहरू मात्र पर्दछन् । त्यस्तै बुद्धले दुई अर्थात् प्रत्यक्ष र अनुभूतिलाई प्रमाणको रूपमा मानेको देखिन्छ । वेदान्तले तीन र न्याय मिमांशाले चार, प्रभाकर मिमांशाले पाँच र भट्ट मिमांशा अर्थात अद्वेतवादले माथि बताइएका ६ प्रमाणलाई सत्य मानेको छ । यी प्रमाणहरूको बारेमा दार्शनिकहरूका बीच बहस जारी छ ।

चार्वाकहरूले एउटा मात्र प्रमाण मान्नुको कारण परापुर्वकालमा दर्शनको अभ्यास नै नभएकोले पनि हुन सक्छ । नास्तिक भएकोले उनीहरूले ईश्वर वा आत्माको सत्तालाई मान्ने त झन् प्रश्नै आउँदैनथ्यो । स्वर्ग, नर्क, पुनर्जन्म र मोक्षलाई सत्य मान्ने त झन् टाढाको कुरा भयो । त्यो समय मानव सभ्यताको आदिम काल भएकोले आधुनिक विज्ञानले पत्ता लगाएका सत्य त झन् ज्ञात नै थिएन । अनुभव वा धारणालाई पनि सदैव सत्य मान्न सकिन्न भन्ने कुरा त झन् पत्ता लागेकै थिएनन् ।

भौतिकवादमा पनि चेतना र विचारलाई कसरी ग्रहण गर्ने विवाद अध्यावधि छँदै छ । आकाश र खगोल पनि पाँच महातत्वको लागि ग्रहणयोग्य छ छैन विवाद नै छ । संसारभर मानिस जति जिज्ञासु भए त्यति ज्ञान र दर्शनको क्षेत्रमा यस्ता अनगिन्ती समस्याहरू झेल्दै आए । कयौँ पटक निष्कर्ष पनि खोज्न सफल भए भने कयौँ पटक निष्कर्षविहीनताको गोलचक्करमा फसेर निस्कनै सकेनन् ।

‘पृथ्वीब्याप्तेजोबायुरिति तत्वानी’

चार्वाकले जल, वायु, पानि र पृथ्वीबाहेक आकाशलाई पनि महाभुत तत्वमा समावेश नगर्नुको कारण अनुभवको कमी पनि हुन सक्छ वा अन्य कारणले पनि हुन सक्छ । चार्वाकका अनुशार, यी चार महाभुत मिलाउने कोही नभएर उनीहरूको स्वाभावले नै उनीहरूको गुणलाई मिलाउँछ । जसलाई स्वभाववाद (Neturalism) भनिन्छ । जैन दर्शनमा पनि परमाणुहरूको संयोजन आफै हुन्छ भनिएको छ । अणु-परमाणुको अनुपातको बिशिष्टिकारणले जीव वा भौतिक गुणमा फरक आउँछ भनेर चार्वाक र जैन दुवै दर्शनले बताएका छन् ।

ईश्वरवादीहरूले सबै संसार र ब्रमाण्डको रचना ईश्वरले बनाएको मान्दछन् र अनुसन्धान तथा तर्कलाई खारेज गरिदिन्छन् । यान्त्रिकवादीहरूले पनि सबै चिज आफै भएको मान्दछन् । डाक्टर विकास दिब्यकृतिलगायत कतिपय विद्ध्वानहरूले चार्वाकलाई मेकानिकल सिद्धान्तका समर्थक भएको मानेका छन् ।

पूर्वीय नौ दर्शनमद्धे सात दर्शनले आत्मालाई मान्दछन् भन्ने कुरा अगाडि नै बताइयो । जैन, बुद्ध र चार्वाक दर्शनले आत्मालाई नकार्दछन् । बुद्धिजमले चेतनाको प्रवाहलाई यसरी मान्दछन् कि जसरी बिजुलीको तारमा करेण्ट नामको कुनै बस्तु हुँदैन तर नदेखिने गरि शक्तिको प्रवाह भइरहन्छ । उनीहरूका अनुशार शरीरमा चेतनाको प्रवाह पनि त्यसरी नै हुन्छ । विशेष योगाद्वारा त्यो प्रवाहलाई केन्द्रीकरण र विकेन्द्रीकरण गर्न सकिन्छ । चार्वाकको योगाबारे कुनै दृष्टिकोण पाइएको छैन ।

चार्वाक मतानुशार प्राप्त केही सुक्तिहरूको विश्लेषण :

‘चैतन्यविशिष्टो देह एव आत्मा (चेतनाको शरीरमा मात्र आत्मा बन्दछ अर्थात् चैतन्य प्रवाह भौतिक शरीर बाहेक उत्सर्जित हुन असम्भव छ)
किण्डादिभ्यो मदशक्तिवत् विज्ञानम् (जसरी विभिन्न चिजबाट अल्कोहलको मद् शक्तिको रुपमा परिवर्तित हुन्छ त्यसरी नै भौतिक शरीरको एक विशेष अवस्थामा चेतनाले जन्म लिन्छ)
जडभुतवीकारेषु चैतन्नम् यत्तु दृष्यते (भौतिक वस्तुको अनुपात बदल्नाले चेतना बन्न थाल्दछ)
ताम्बुलपुगबर्णानाम् योगाद् रागसमुद्भव (जसरी ताबुल, पान र चुना मिल्नाले रातो रंगको जन्म हुन्छ)
च्याट जिपिटि लगायत कम्पुटरका प्रोग्रामहरूले जसरी ¥याम्पको सहारामा काम गर्दछन्, शरीरमा पनि त्यहीबाट काम हुनेमा आधुनिक विज्ञानले स्विकार गरिसकेको छ ।

चार्वाक मतका अनुयायीहरू केवल यहलोक अर्थात वर्तमान जगतको सुख सुविधा र कल्याणलाई मात्र ध्यान दिनुपर्ने मत राख्दथे । अर्थात्, उनीहरूको मतानुशार,
‘काम (शारीरिक सुख, मानसिक सुख, त्यागको सुख र ज्ञानको सुख) एवैक पुरुषार्थः
यावत जीवेत सुख जिवेत्ः, सुखमेव स्वर्ग, दुखमेव नरकम्ः,
पुनर्जन्म नबिध्यतीः
मरणम् एव अपवर्गः (मृत्यु नै मोक्ष हो)
वर मद्य कपोतः न श्वो मयुरः (भोलिको मयुरलागि आजको परेवा नछोड) जस्ता लोक मान्यता स्थापित हुँदै जान थाले ।

लोकायत मतको प्रभाव :

दार्शनिक चार्वाक र उनका पक्षधरहरूको विचार र तार्किक शक्तिले तात्कालिक समाजमा यति तीव्र्र प्रभाव पारेको थियो कि अधिकांश लोकले उनको मतलाई अनुशरण गर्न थाले । यसकारण यस लोकायत मतमाथि वर्णाश्रम व्यवस्थाका निर्माता र पुरोहित वर्गको आक्रमण तीव्र बन्दै गयो । तसर्थ स्वर्ग नर्कको डर देखाएर आफ्नो जीविकोपार्जन गर्ने पुरोहित वर्गले लोकायत दर्शनलाई नामेट पार्ने अभियान नै चलाए । सयौँ लोकायतीहरूलाई जलाएर मार्न थालियो र आदिम समतावादी तथा भौतिकवादी दर्शनको मुलभुत सिद्धान्तसहित सबैलाई नष्ट गरियो । जुन कुरालाई भारतका एक प्रोफेसर डाक्टर विकास दिब्यकीर्तिले पनि आफ्नो दार्शनिक सोधमा उल्लेख गरेका छन् ।

अन्त्यमा, यहि लोक अर्थात् यही जन्मलाई सुख र शान्तिमय बनाउनु जीवनको प्रयाप्त लक्ष्य हुन सक्छ कि सक्दैन ? यो प्रश्न नै आधुनिक मानव जीवनमा पनि गहन महत्वका हुन सक्छन् । जुन प्रश्नहरूबारे पूर्वीय दर्शनमा दार्शनिक चार्वाकले अहम महत्वबोधको सहित सोध गरेका थिए । उनको दर्शनको अर्को महत्वपूर्ण कुरा ‘चलि आएका सबै कुराको समर्थन नगर’ भन्ने पनि हो । जस्तो सति प्रथा, बलि प्रथा, स्त्री अपहरण प्रथा, दास प्रथा, अन्ध विश्वास आदि । पूर्वीय सभ्यताले विकार उत्पन्न गरेका हरेक कुरालाई शंकाको दृष्टिले हेर्न चार्वाक दर्शनले नै सिकाउँछ । जसले मानिसलाई प्रश्न गर्न सिकाउँछ । प्रश्नले नै खोजको श्रृङ्खलालाई जन्म दिन्छ । खोजले आविस्कार ।

त्यस्तै चार्वाकको भौतिकवादले आत्माको अलग अस्तित्व रहेको कुरालाई जैन र बुद्ध दर्शनले जस्तै सोझै इन्कारी दिन्छ । भौतिक संयोजनको विविधताले आत्मा वा चेतनामा कम्पन पैदा गर्दछ भन्ने चार्वाक मतलाई कम्प्युटरमा एआइको प्रोग्रामले प्रमाणित गर्दै लागेको छ । जीवन नै नभएको कम्प्युटरले कसरी सुचना संकलन, फिल्टर र सेलेक्सन गर्दछ । त्यसले तथ्यले आत्माको कुरालाई भन्दा भौतिक संयोजनको मात्रालाई नै बढी पुष्टि गर्दछ ।

पश्चिमा दार्शनिक प्रोफेसर हेरेनाले भनेका छन्, ‘परापूर्व कालका पूर्वीय दार्शनिक चार्वाकको विचारले जुन तार्किक सम्भावनाको ढोका खोलिदियो । त्यसलाई आधुनिक बिज्ञान जगतमा पनि खारेज गर्न सकिँदैन ।’

दुर्भाग्यको कुरा, पाखण्डी वर्णाश्रम व्यवस्थाका अनुयायीहरूले आफ्नो लुटको दोकान बन्द हुने डरले आलोचना गर्नलायक केही सुक्तिहरू मात्र बाँकी राखेर चार्वाक दर्शनका उपयोगी सबै कुरा नष्ट पारे । बाँकी तीनै सुक्तिहरू पनि यति सशक्त छन् कि जसको बारेमा हामीले बहस गरिरहेका छौँ भने पूरै दर्शन अझ कति ससक्त थियो होला अनुमान गर्न सक्छौँ । पूर्वीय दर्शनका अनेक परिकारमध्ये यस्तो दर्शन चार्वाकले दिए जसले आफू बाँचिरहेको दुनियाँका चुनौतीको सामना गर्दै अघि बढ्न सल्लाह दिन्छ ।

पश्चिमा दुनियाँमा परापूर्वकालमा धेरै भौतिकवादी दार्शनिक भए । जसमा थालेस, एनेग्जिमेनिज, पार्मेनाइडिज, पाइथागोरस, हेरट्लाइज्ज, देमोक्रेटज्ज, दार्शनित सुकरात आदि भौतिकवादी दार्शनिकमध्ये प्रमुख मानिन्छन् ।

त्यसैगरी पश्चिमका आधुनिक कालका प्रमुख दार्शनिक तथा भौतिकवादी वैज्ञानिकहरूमा स्टेफन हकिङ्स, अल्बर्ट आइस्टाइन, फ्रायड बाख, मार्क्स, एलान टुरिङ, अल्फ्रेड नोवेल, लिनुस पाउलिङ, कार्ल सगन, तिमोथी जे वेनर्स ली, जेम्स डी वाड्सन, रिचार्ड फेन म्यान, जे रोबर्ट, ओपेन हैमर, जोन मेकार्थी, फ्रेडेरिक जुलियट, पिएरे क्युरी, टेड नेल्सन आदि धेरै छन् ।

तर पूर्वीय दार्शनिक उत्थानको पुर्वार्धका सामान्यतया तीनमध्ये मुख्यतया एक चार्वाक नै यस्ता दार्शनिक हुन् जसले मृत्युपछिको मोक्षलाई अस्विकार गरे । चार्वाकका आधुनिक समर्थकहरूमा समाज सुधारक पेरियार ई. वी. रामसामी (सन् १८७९–१९७३), एक भौतिक बैज्ञानिक सत्येन्द्रनाथ बोस (१८९४–१९७४), नास्तिक खगोल-भौतिकवादी मेघनाद साह (१८९३–१९५६), एक भारतीय क्रान्तिकारी भगत सिंह (१९०७–१९३१), खगोल-भौतिकशास्त्री सुब्रह्मण्यम चन्द्रशेखर (१९१०–१९९५), गोपाराजू रामचन्द्र राव (१९०२–१९७५), विख्यात अर्थशास्त्री, दार्शनिक और महान विचारक, अमर्त्य सेन आदि पर्दछन् ।

यसरी पूर्वीय दार्शनिक परम्परा इशापूर्वकालमा धेरै सशक्त थियो जसको प्रभाव औपनिवेशिक कालपछि संसारभरी झन् बेसरी पर्न गयो । भारतीय दार्शनिक परम्पराले कायापलट गर्ने गरी ल्याएको त्यही चिन्तन प्रणालीकै आधारमा अहिले संसारको ठुलो हिस्सा चल्मलाइरहेको मानिन्छ । पश्चिमा जगत आधुनिक कालमा दर्शनको विकासमा अगाडि बढ्नुको कारण केही हदसम्म पौराणिक पूर्वीय दर्शनकै प्रेरणा पनि हुन सक्छ । चार्वाक दर्शन पूर्वीय चिन्तन प्रणालीको सशक्त धार हो, जसको प्रेरणाले अहिले संसार खोज र सुखको यात्रामा कुँदिरहेको छ र, रहस्यावादका अखडाहरू एकपछि अर्को गरेर तहसनहस पार्दै चमत्कारी गतिमा अगाडि बढ्दै छ । जय महर्षि चार्वाक !!

यो पनि हेर्नुहोस्-

भाग १)  https://ghatanarabichar.com/237528 

भाग २)  https://ghatanarabichar.com/246675