एमाले सचिवालय बैठक बस्दै, नेम्वाङको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालयमा राखिने

एमाले सचिवालय बैठक बस्दै, नेम्वाङको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालयमा राखिने


नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।

गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो । उनको पार्थीव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि राखिँदै छ ।

यसैबीच एमालेले पार्टीका सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गर्ने भएको छ । एमालेले पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसङ्गठनका सबै कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

पार्टीका संसदीय दलका उपनेता तथा इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङको आज बिहान १ः४० बजे त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको नेता ज्ञवालीले जानकारी दिए ।

कार्यवाहक महासचिव ज्ञवालीले निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय आन्दोलनमा पुगेको क्षति अपूरणीय रहेको र यो रिक्तता कहिल्यै नपुरिने प्रतिक्रिया दिएका छन् ।