दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन


अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका ‘मिडफिल्डर’ जेडेन एडम्सको शनिबार (११ जुलाई) निधन भएको छ ।

दक्षिण अफ्रिकाका खेलकुद मन्त्री गेटन म्याकेन्जीले उनको निधनको पुष्टि गरे, तर निधन हुनुको कारण भने बताएका छैनन् ।

खेलकुद मन्त्री म्याकेन्जीले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, “जेडेन एडम्सको निधनको खबरले मलाई स्तब्ध बनाएको छ । दक्षिण अफ्रिकी फुटबलले आफ्नो सबैभन्दा उज्ज्वल युवा प्रतिभा गुमाएको छ ।”

प्रहरीले शनिबार बिहान केप टाउनको केन्द्रीय उपनगर स्कोट्सचेकलुफमा एउटा घरमा २५ वर्षीय एडम्सको शव फेला परेपछि अनुसन्धान सुरु गरेको बताएको छ ।

“यो घटनाको बारेमा अनुसन्धान भइरहेको छ”, वेस्टर्न केप प्रहरी प्रवक्ता एफसी भ्यान विकले बताएका छन् ।

एडम्सले प्रतियोगितामा दक्षिण अफ्रिकाको समूह चरणका सबै तीन खेल खेलेका थिए भने क्यानडासँगको नकआउट चरणमा उनी मैदानमा उत्रिएका थिएनन् । दक्षिण अफ्रिकाका नकआउट चरणबाट नै यो वर्षको विश्वकप खेलबाट बाहिरिएको थियो ।

केप टाउनमा जन्मिएका उनले स्टेलनबोस एफसीबाट व्यावसायिक करियर सुरु गरेका थिए र सन् २०२५ को जनवरीमा काफ च्याम्पियन्स लिग विजेता ‘मामेलोडी सन्डाउनस् क्लब’मा आवद्ध भएका थिए।

उनको निधन दक्षिण अफ्रिकाको समूह ए को चेकियाविरुद्धको खेलको पूर्वसन्ध्यामा आफ्नी हजुरआमाको निधन भएको एक महिना पनि नबित्दै भएको हो ।