बाढीको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीलाई उद्धार सामग्री उपलब्ध

बाढीको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीलाई उद्धार सामग्री उपलब्ध


  • पुरुषोत्तम सुवेदी, पश्चिम नवलपरासी

वर्षायामको सुरुवातसँगै हुन सक्ने सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले विपद् पूर्वतयारीलाई तीव्र पारेको छ । विपद्को समयमा तत्काल उद्धार कार्यलाई प्रभावकारी र द्रुत बनाउने उद्देश्यले नगरपालिकाले आवश्यक आधुनिक उद्धार सामग्री खरिद गरी सुरक्षा निकायलाई हस्तान्तरण गरेको हो ।

नगरपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने उद्धार डुंगा, लाइफ ज्याकेट र हेलमेट लगायतका सामग्रीहरू सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीलाई हस्तान्तरण गरेको छ ।

सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख धनपत यादवले विगतका अनुभवबाट सिकेर यो कदम चालिएको बताउनुभयो । नगरप्रमुख यादवले भन्नुभयो- ‘वर्षायाम सुरु भइसकेको छ र हाम्रो यस क्षेत्रमा बाढी तथा डुबानको जोखिम सधैँ उच्च रहने गर्दछ। विगतका विपद्जन्य घटनाहरूमा हामीले समयमै उद्धार सामग्री नहुँदा निकै कठिनाइ भोगेका थियौँ । त्यसैले, सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न बनाउनु स्थानीय सरकारको पनि दायित्व हो भन्ने बुझेर डुंगासहितका सामग्री उपलब्ध गराइएको छ । यो ‘रेस्क्यु बोट’ र उद्धार सामग्रीले विपद्को घडीमा नगरवासीको जिउधनको रक्षा गर्न र तत्काल उद्धार कार्यलाई तीव्रता दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।’

नगरपालिकाबाट प्राप्त सामग्रीले विपद्को समयमा उद्धार टोलीलाई कार्यक्षेत्रमा खटिन थप हौसला र मद्दत मिल्ने सुरक्षा निकायको भनाइ छ । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सशस्त्र प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीले भन्नुभयो- ‘विपद् व्यवस्थापन र उद्धार कार्यमा अग्रपंक्तिमा खटिने सुरक्षा निकायका लागि पर्याप्त र आधुनिक सामग्रीको उपलब्धता अनिवार्य हुन्छ । रामग्राम नगरपालिकाले समयमै जोखिमको पहिचान गरी उद्धार डुंगा, हेलमेट र लाइफ ज्याकेट उपलब्ध गराएर सह्रानीय कार्य गरेको छ । यसले सशस्त्र प्रहरी बलको उद्धार क्षमतालाई थप मजबुत बनाएको छ। वर्षायाममा आउन सक्ने सम्भावित बाढी र डुबानको जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र तत्काल उद्धार कार्यमा खटिन हाम्रो टोली चौबीसै घण्टा तयारी अवस्थामा रहनेछ ।’

स्थानीय प्रशासन र सुरक्षा निकायबिचको समन्वयले मात्रै प्राकृतिक विपत्तिको न्यूनीकरण र सफल व्यवस्थापन सम्भव हुने प्रशासनिक बुझाइ छ । रामग्राम नगरपालिकाका प्रशासकीय अधिकृत राजु ढकालले भन्नुभयो- ‘नगरपालिकाले विकास निर्माणसँगै नागरिकको सुरक्षा र विपद् व्यवस्थापनलाई उत्तिकै प्राथमिकतामा राखेको छ । विपद्को पूर्वतयारी स्वरूप द्रुत उद्धारका लागि आवश्यक बजेट र व्यवस्थापकीय कार्य मिलाएर यी सामग्रीहरू खरिद गरी हस्तान्तरण गरिएको हो । स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारबिचको बलियो समन्वयले मात्र विपद्को सामना गर्न सकिन्छ। आगामी दिनमा पनि विपद् व्यवस्थापन कोष र योजनाहरू मार्फत नगरपालिकाले यस्ता पूर्वतयारी र उद्धारका कार्यहरूलाई निरन्तरता दिनेछ ।’

वर्षायाममा सुरक्षित रहन र बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाउन यो ‘रेस्क्यु बोट’ र अन्य सुरक्षा सामग्रीहरू कोसेढुङ्गा सावित हुने विश्वास स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले लिएका छन् ।