शेखर तात्नुको रहस्य !

शेखर तात्नुको रहस्य !


सामान्यतया शान्त रहने काङ्ग्रेस नेता डा. शेखर कोइराला केही दिनयता अलिक बढी नै तात्न थालेका छन् । उनले वर्तमान सरकार विस्थापित गरेर काङ्ग्रेसकै नेतृत्वमा नयाँ गठबन्धनको सरकार बन्नुपर्नेमा जोड दिइरहेका छन् ।

केपी शर्मा ओलीसँग निरन्तर सम्पर्क र सम्वादमा रहनु, गगन थापासँगको सम्बन्धमा आएको तनाव शिथिल हुनुसँगै शेखरको आवाज बढ्नुलाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्ड चीन भ्रमणको पूर्व सन्ध्यामा यसरी सरकार फेर्ने कुरा आउनुले शेखरको शब्दमा बाह्य इच्छाको गन्ध आएको महसूस पनि कतिपयले गरेका छन् । सत्ताको रक्षाका निम्ति जेसुकै गर्न तयार रहन्छन् भन्ने छवि बनाएका प्रचण्ड शेखरको अभिव्यक्तिबाट झस्कन्छन् र ‘लाइन’मा आउँछन् भन्ने ठानेर पनि शेखरलाई यसरी प्रस्तुत हुन प्रेरित गरिएको अनुमान एकथरी विश्लेषकहरूले गरेका छन् । जे भएपनि यतिबेला प्रचण्ड चौतर्फी दबाबमा परेका छन् ।

केपी शर्मा ओली प्रचण्डसँग बदला लिने मानसिकतामा जहिले पनि देखिन्छन् । प्रचण्डलाई विस्थापित गर्न उनले जोसुकैसँग जस्तोसुकै सम्झौता गर्नसक्ने ठानिएको छ । शेखरलाई प्रधानमन्त्री बनाएर नयाँ गठबन्धनको सरकार बनाउने प्रस्ताव केपीले केही महिनाअगाडि नै शेखरसमक्ष राखेका हुन्, तर त्यसबेला अन्तर्राष्ट्रिय परिस्थिति अहिलेजस्तो अनुकुल नदेखेपछि शेखरले खासै रुचि देखाएका थिएनन् । अहिले भने शेखर उत्साहित भएको देखेर अन्तर्राष्ट्रिय शक्ति पनि सरकार बदल्ने नयाँ खेलमा लागेको सङ्केत मिलेको छ ।

शेखरलाई उचालेर गगनले एकतिर तीन सिकार गर्न खोजेको देखिँदै छ । शेरबहादुर देउवासँग बदला लिने, शेखरलाई एक्स्पोज गरेर आगामी काङ्ग्रेस महाधिवेशनमा आफ्नो मैदान खाली गर्ने र, अन्तर्राष्ट्रिय शक्तिलाई खुशी पार्ने जस्ता तीनवटा काम एकैपटक गर्न गगन अग्रसर भएको उनका निकटवर्तिहरूको भनाइ छ ।