वीरगञ्ज बाल सुधार गृहको तनाव शान्त, भक्तपुरबाट स्थानान्तरित बालकैदी अन्त सार्न माग

वीरगञ्ज बाल सुधार गृहको तनाव शान्त, भक्तपुरबाट स्थानान्तरित बालकैदी अन्त सार्न माग

घ.वि. सम्वाददाता
0
Shares

हिजो रातिदेखि उत्पन्न वीरगञ्जको बाल सुधार गृहको तनाव केही शान्त भएको छ। हिजो मंगलबार बेलुका ८ बजेदेखि सुरू भएको तनाव १० घन्टापछि केही साम्य भएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमारविक्रम थापाले जानकारी दिनुभयो। स्थिति साम्य देखिए पनि प्रहरीले निगरानी भने राखिरहेको छ।

डिएसपी थापाका अनुसार सुधार गृहभित्रै रहेका दुई समूहबीचको विवाद झडपसम्म पुगेको हो। यही भदौ ८ गते भक्तपुर सुधार गृहमा रहेकामध्ये १८ जनालाई स्थानान्तरण गरी वीरगञ्ज पठाइएको थियो। वीरगञ्ज बाल सुधार गृहका प्रमुख टीकाकृष्ण काफ्लेका अनुसार भक्तपुरको समूहको प्रवेशको सुरुवाती दिनदेखि नै उच्छृंखल गतिविधि बढको हो।काफ्लेका अनुसार भक्तपुरबाट स्थानान्तरण गरिएका बालकैदीले बारम्बार त्यहाँबाट अन्तै पठाउन माग गरिरहेका थिए।

‘हामी यहाँ बस्दैनौं, बस्यौं भने कि मार्छौं कि मर्छौं भनिरहने गरेको काफ्लेको भनाई छ । बाल सुधार गृहमा मंगलबार साँझदेखि दुई समूहबीच भनाभन भएको थियो।

त्यसपछि बेलुका ८ बजे वीरगञ्जको नाइके र सहायक नाइके बस्ने कोठामै पुगेर भक्तपुरबाट स्थानान्तरित समूहले आक्रमण गरेको थियो। सुधार गृहमा लामो समयदेखि बसिरहेकाहरू प्रतिरक्षामा उत्रिएका थिए। अवस्था तनावपूर्ण बनेपछि काफ्लेलाई त्यहीँका बालकहरूले कोठाभित्र थुनेर राखेका थिए।

‘आफुमाथि पनि खतरा भएपछि त्यहीँ बसेकाहरूले कोठाभित्र थुनेर राखेका कारण आफु बाँच्न सफल भएको प्रमुख काफ्लेले बताउनुभयो।झडपको क्रममा तोडफोड हुँदा १ करोडभन्दा बढीको क्षति भएको काफ्लेले बताउनुभयो।

अवस्था तनावग्रस्त बनेपछि प्रहरी परिचालन गरिएको थियो। तर सुधार गृहभित्र रहेकाहरूले इँटा र रड प्रहार गरी प्रहरीलाई सुधार गृह वरपर आउन नै मुस्किल बनाएका थिए। बाल कैदीबन्दीले प्रहार गरेको रड र ढुंगाले लागेर तीन जना प्रहरी घाइते भएका छन्। उनीहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेको डिएसपी थापाले बताउनुभयो।

सुधार गृहमा भएको झडपमा ११ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको पनि काफ्लेले जानकारी दिनुभयो।हालको अवस्था सामान्य भए पनि सुधार गृह क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासन र सुधार गृहका अधिकारीबीच छलफल भएपछि मात्रै निष्कर्ष आउने डिएपपी थापाले बताउनुभयो।

सुधार गृहका प्रमुख काफ्लेका अनुसार अहिले त्यहाँ क्षमताभन्दा साढे २ गुणा बढी बालक छन्। ११ वटा कोठा भएको वीरगञ्ज सुधारगृहको क्षमता ६० जना हो तर अहिले १४९ जना बालकहरू बसिरहेका छन्।सुधार गृहमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको टोली खटाइएको छ।