काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामाथि पार्टीले छानबिन सुरु गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाँईसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपश्चात सांसद पदबाट हटाइएका ढाकाकुमार श्रेष्ठले मोहनजंगको नाम मिडियामा लिएका थिए।
केही दिनअघि एक टेलिभिजन अन्तरवार्तामा श्रेष्ठले कोर टिम सदस्य थापाले मन्त्री बनाइदिने भन्दै आफूसँग तीन करोड रकम मागेको आरोप लगाएपछि पार्टीले छानबिन थालेको हो।
केन्द्रीय अनुशासन आयोगका प्रमुखसमेतको उपस्थितिमा हिजो बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यस विषयमा छलफल भएको पार्टीका महामन्त्री मुकुल ढकालले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा केन्द्रीय अनुशासन आयोगबाट केन्द्रीय सदस्य मोहनजंग थापालाई सोधपुछ तथा अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको समेत विज्ञप्तीमा जनाईएको छ।
बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउन गलत मनसायले आम जनसमुदायमाझ पार्टीको सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न पनि रास्वपाले आग्रह गरेको छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घन्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ।
श्रेष्ठले मेडिकल व्यवसायीसँग दुई करोड रुपैयाँ मागेकोबारे अनुशासन समितिलाई फरक फरक बयान दिएको रास्वपाले बताएको छ।
प्रतिक्रिया