बालेनले जगाएको आशा !

बालेनले जगाएको आशा !


■ बसुन्धरा गौतम, काठमाडौं

काठमाडौं शहर.. घुम्न लाग्यो रहर…, हो यस्तै रहर जगाउन सुरु गरेको छ आजभोलि काठमाडांैले । विदेशी भूमिबाट नेपाल आउने प्रत्येक आगन्तुकका सुटकेशमा बालेन सिटीको स्टिकर टाँसिएको देख्दा काठमाडौंले आफ्नो पृथक पहिचान बनाउन लागेको अनुभव गरिएको छ । केही समयअघि मात्र बालेन्द्र साह (बालेन)को स्थानीय सरकारमा प्रवेश हुनुअघि काठमाडौ महानगरमा फोहोरका थुप्राले शहर नै कुरुप थियो । धुलो-धुवाँका कारण नाकमुख नछोपी हिँड्न नसक्ने अवस्था थियोे । तर आजभोलि फोहोर व्यवस्थापन, फुटपाथ व्यवस्थापन, नदीको सीमा निर्धारणका साथै नदी सरसफाइ र शहरी सौन्दर्यीकरणका कार्यको सुरुवातसँगै काठमाडौं शहर रहरलाग्दो बन्दै गएको छ ।

सुरुवाती चरणमा बालेनका विरोधी बनेका फुटपाथका व्यापारीहरू पनि अहिले उनको प्रशंसा गरेर थाक्दैनन् । काठमाडौंको नयाँ बानेश्वरमा फुटपाथ व्यवसाय गरी बसेका व्यवसायीलाई एउटै छानामुनि एकीकृत रूपमा व्यवस्थापन गरेपछि उनीहरू उत्साहित बनेका हुन् । अहिले व्यवसायीहरूलाई घाम-पानी र पैदलयात्रुसँग दिनहुँ आइपर्ने समस्या समाधान भएको बताउँछन् । साथै व्यापार गर्ने ठाउँको सहजता बढेसँगै ग्राहक पनि बढेका र अति आवश्यक परेर किनमेल गर्नकै लागि मात्र आउनेको सङ्ख्या बढेको बताउँछन् ।

सोही ठाउँमा व्यापार गर्दै आउनुभएकी सीमा महर्जनले पहिले बाटोमा चिच्याएर व्यापार गर्दा पैदलयात्रीले झर्को मान्दै अपमानजनक व्यवहार समेत गर्ने गरेको बताउनुभयो । अहिले व्यवस्थित भइसकेपछि भने लक्षित वर्ग मात्र आउने र समस्या नहुने उहाँको भनाइ छ ।

त्यस्तै, बानेश्वर चोकमा धेरै समयदेखि सटरमा नै व्यवसाय गर्दै आउनुभएका व्यवसयी विकास शर्माले सम्पुर्ण महानगरमा भइरहेको कामले महानगरबासीमा उत्साह छाएको बताउनुभयो । बालेनका कार्यप्रति केही मानिस रुस्ट बनेपनि धेरैजससो चाहिँ खुशी नै देखिएको उहाँको भनाइ छ । दृढरूपमा प्रस्तुत हुने बालेनको शैलीले नै आज यो विकास सम्भव भएको उहाँले बताउनुभयो । साथै उहाँले जथाभावी करको दायरामा नरही मनलाग्दी व्यापार गरिदिँदा कर तिरेर सटरमा व्यवसायी मर्कामा पर्नेगरेकोमा अहिले भने त्यो समस्या समाधान भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

यस्तै, यसअघि फुटपाथमा नै व्यवसाय गर्दै आउनुभएकी सिर्जना क्षेत्रीले भने कुनै निश्चित स्थान र समय छुट्याइदिएर व्यापार गर्न पाउनुपर्ने माग गर्नुभयो । फुटपाथ हटेपश्चात व्यावसायीहरूले बानेश्वरकै एक भवनमा व्यापार गरिरहेको तर अति निम्नस्तरको आय भएका व्यापारी भने पलायन नै हुनुपरेको दुखेसो उहाँको छ । आफुहरूलाई सडकमै व्यापार गर्न दिनुपर्ने माग भने आफ्नो नरहेको प्रष्टोक्ति पनि उहाँको रहेको छ । केही समयका लागि नीजि भवनमा व्यापार गरेपनि दिर्घकालिन रूपमा भने महानगरले व्यवस्थित गरिदिए अति निम्नस्तरका व्यापारीले समेत आफ्नो गुजारा गर्ने खालका व्यापार गर्न सक्ने उहाँको भनाइ छ । नीजि भवनका घरधनीले पनि आफूहरूको लागि भनेर केही सुलभ मूल्यमा स्थान उपलब्ध गराउनुभएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो । तर सरकारी स्तरबाट नै स्थान र निश्चित करबापतको रकम तिर्नुपर्ने व्यवस्था महानगरले गरिदिएमा नीजिमा जति मूल्य तिर्नुनपर्ने र नीजि भवनमा व्यापार गर्न नसकेका व्यापारी पनि लाभान्वित हुने तर्क उहाँको रहेको छ । साथै, मेयर बालेनलाई केही संयमित भएर आफ्ना सही कामलाई अघि बढाउन उहाँ आग्रह गर्नुहुन्छ । असल काम हजार वटा गर्दापनि एउटै गलत कामले सम्पूर्ण मेहनत पानीमा मिल्ने भन्दै उहाँले संयमित हुन सुझाव दिनुभएको हो ।

यस्तै बालेन शाह मेयर निर्वाचित भइसकेपछि काठमाडौंको शिक्षा क्षेत्रमा पनि थुप्रै परिवर्तन आएको छ । यस परिवर्तनलाई नजिकबाट नियाल्नुभएका लोयोला सेकेण्डरीका प्रिन्सिपल रमेश पनेरुले निजी विद्यालयको तुलनामा आर्थिक तथा भौतिक रुपमा सामुदायिक विद्यालय सक्षम भएपनि विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि नभइरहेकाले बालेन शाहले ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम लागु गर्नुभएको स्मरण गर्नुभयो । मेयर शाहले ल्याउनुभएको यो कार्यक्रम प्रभावकारी हुनुका साथै विद्यालयस्तरबाट नै विद्यार्थीले जीवनोपयोगी शिक्षा हासिल गर्नसक्ने विश्वासमा उहाँ हुनुहुन्छ । साथै उहाँले आफु प्राइभेट बोर्डिङ्ग स्कुलको संचालक एवम् प्रिन्सिपल भएपनि बालेनको शिक्षाप्रतिको यस कार्यमा आफु सदैव सहमत रहेको र साथ दिने बताउनुभयो । तर, हाल सरकारले ल्याएको प्राइभेट विद्यालयलाई गुठीको रुपमा संचालन गर्नुपर्ने भन्ने प्रस्तावको चाहिँ आफु विरुद्दमा रहेको उहाँको भनाइ छ । उहाँले यो प्रस्ताव पनि मेयर बालेन शाहले नै ल्याएका हुन् भन्ने भ्रममा नपर्नसमेत आग्रह गर्नुभयो । बालेनजस्तै कामका लागि नातावाद र कृपावादभन्दा माथि उठेर अघि बढ्ने नेतृत्वको देशलाई खाँचो रहेकोमा उहाँले जोड दिनुभयो ।

यस्तै, पैदलयात्री विन्दु शर्माले बालेन शाह आएपछि काठमाडौंले रुप नै परिवर्तन गरेको भनाइ राख्नुभयो । बालेन साहले फोहोर व्यवस्थापन, पार्किङको समस्या समाधान, फुटपाथ व्यवस्थापन, कर छली गर्नेलाई करको दायरामा ल्याउने तथा नदीको सीमांकन लगायत थुप्रै सामान्य लाग्ने तर महत्वपूर्ण विषयमा काम गरेकोमा खुशी व्यक्त गर्नुभयो । मेयर साहले गरेका काम प्रायजसो सबै राम्रा हुँदाहुँदै पनि बेला-बेला विवादमा तानिँदा भने दुःख लागेको उहाँको भनाइ छ । उहाँले मेयर साहमा अलिकति धैर्य र संयमताको विकास गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । अलिकति कच्चा उमेर र जे गरौँ छिटो गरौँ भन्ने मानसिकता मेयर बालेनमा रहेकाले राम्रो नै काम गरेपनि बेला-बेला विवादमा तानिएको तर्क गर्दै उहाँले जसले जे भनेपनि अहिलेको अवस्थामा सफा सडकमा दुर्गन्धरहित र खुल्ला रुपमा हिँड्न पाउनु बालेनकै देन भएको जिकिर गर्नुभयो ।

यसरी नै विकास गर्ने जोश-जाँगर अन्य महानगर/नगरका मेयरमा पनि आइदिए विभिन्न नाममा गरिने भ्रष्टाचारमा कमी आउनुका साथै मुलुक समृद्धिको मार्गमा अघि बढ्थ्यो कि ?!