टुंगोमा पुगेन माओवादीको बाग्मती प्रदेशको संसदीय दलको उपनेता

टुंगोमा पुगेन माओवादीको बाग्मती प्रदेशको संसदीय दलको उपनेता

घ.वि. सम्वाददाता
0
Shares

काठमाडौँ, बागमती प्रदेश संसदीय दल नेकपा (माओवादी केन्द्र) ले उपनेता अझै पनि चयन गर्न सकेको छैन।

दलको उपनेतामा आकांक्षीको संख्या धेरै भएका कारण दलले उपनेता चयन गर्न नसकेको हो। बागमतीका मुख्यमन्त्री समेत रहनुभएका संसदीय दलका नेता शालिकराम जमकट्टेलले उपनेताका आकांक्षी धेरै भएकाले सहमतिबाटै दलको उपनेता बनाउने प्रयास भईरहेकाले अलिकति ढिलो भएको बताउनुभयो।

उहाँले अब केही दिनमा छलफल गरेर सहमतिबाटै दलको उपनेता टुङ्गो लगाउने बताउनुभयो।

आफु मुख्यमन्त्री पनि भएकाले आफ्नो दलभित्रका कतिपय काममा उपनेता नहुँदा अप्ठ्यारो परेको जमकट्टेलले बताउनुभयो । उहाँले कतिपय कुराहरू नमिलेका कारण केही ढिलाइ भएको र छिट्टै सहमति गरेर उपनेता चयन गर्ने जानकारी दिनुभयो ।

सांसदहरू युवराज चौलागाईं, सरल सहयात्री पौडेल, युवराज दुलाल, कुमारी मोक्तानलगायतले संसदीय दलको उपनेता बन्ने चाहना राखेका छन्।

बागमती प्रदेशमा कांग्रेस र माओवादीले आधा-आधा कार्यकाल मुख्यमन्त्री लिने सहमति यसअघि नै गरिसकेका छन्।

हाल संसदीय दलको नेता मुख्यमन्त्री भएकाले अर्को कार्यकालमा उपनेताले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीपछिको वरीयता पाउने भएकाले उपनेता बन्न सांसदहरूले दाबी गरेका हुन्।

उपनेता बन्न चाहनेमध्ये दुलाल र मोक्तान अहिलेकै सरकारमा मन्त्री छन्। पौडेल पार्टीको बागमती प्रदेशको अध्यक्षसमेत हुन्।

पौडेलले संसदीय दलको नेता छान्ने बेलामा पनि चुनावी प्रक्रियामा जानुपर्ने र आफू संसदीय दलको नेताका लागि स्वाभाविक उम्मेदवार रहेको बताएका थिए।

माओवादी नेतृत्वले जमरकट्टेललाई नै दलको नेता बनायो। बागमती प्रदेश सभामा माओवादीको २१ सिट छन्।