बीपी कोइरालाका गुण र दोष सम्झँदा…

बीपी कोइरालाका गुण र दोष सम्झँदा…


नेपाली काङ्ग्रेसका बौद्धिक ब्यक्तित्व स्व. प्रदिप गिरीको एक लेखअुनसार राणा शासनको अन्त्य भएलगत्तै बीपीले नेपाल एउटा अलग सार्वभौम मुलुक नभइ भारतअन्तर्गतकै एउटा अलग प्रशासनिक निकाय मात्र रहेको उल्लेख गरेका थिए । उनको भनाइमा भारतीय संसद्मा नेपालको प्रतिनिधित्वका लागि बीपीले दुई सिट माग गरेका थिए ।
✍ उज्वल उत्सर्ग

जब-जब बीपीको जन्मदिन वा राष्ट्रिय मेलमिलापका दिनहरू आउँछन् तब-तब नेपाली मिडियामा उनका महिमाहरूको खुबै चर्चा हुन थाल्छ । पञ्चायतकाल वा बहुदलकालमा यस्ता चर्चाहरू निक्कै हुने गर्दथे । तर उनकै सहोदर भाइ जीपी कोइरालाले गणतन्त्र घोषणा गरेपश्चात सिङ्गो काङ्ग्रेस पार्टीको प्रचण्डीकरण भयो र त्यस पछि बीपीका सुझबूझपूर्ण राष्ट्रिय विचारले नेपाली राजनीतिमा खासै पकड जमाउन सकेन । जीपीमार्फत भित्रिएका गणतन्त्र र धर्मनिरपेक्ष जस्ता कम्युनिष्ट ‘प्रडक्ट’हरू नेपालको राजनीतिमा बिक्न थालेपछि बीपीका राष्ट्रियता, प्रजातन्त्र र समाजवाद जस्ता ‘डेमोक्र्याटिक प्रडक्ट’हरूको लिलामी भयो । अर्थात् आफ्नै सहोदर भाइले दाइका विचारहरूलाई लिलाम गरिदिए । तैपनि बीपीको नाम भजाउने र उनको व्यक्तित्वको व्यापार गर्ने काङ्ग्रेसीहरू अहिले पनि प्रशस्तै भेटिन्छन् । यस स्तम्भमा हालको जीपीकालिन राजनीतिक व्यवस्थाको चर्चा गर्न खोजिएको होइन । बरु बीपीकालिन निर्णयहरूले राष्ट्रिय राजनीतिमा कसरी प्रभाव पारेको रहेछ/छ भनी चर्चा गर्न खोजिएको छ ।

सामान्यतः कोइराला-परिवारको राजनीतिक प्रादुर्भाव बीपीका पिताजी कृष्णप्रसाद कोइरालाको जीवनीबाट भएको मानिन्छ । उनका पिताजीले राणाकालमा सिरहा जिल्लाको माडर खटोकास्थित नेपाल-भारत सिमाको भन्सार ठेक्कामा लिने गर्दथे । तर भन्सार राजस्व हिनामिना गरेको आरोपमा कोइराला-परिवार नेपालबाट निर्वासित भइ भारतको बिहारमा गइ बसोबास गर्न थाले । त्यसैबेलादेखि कोइराला-परिवार राणाविरोधी भएको सहज अनुमान गर्न सकिन्छ ।

राणाविरोधी प्रतिशोधले पनि उनिहरूमा प्रजातान्त्रिक सोच विकसित हुँदै गएको मान्न सकिन्छ । उनिहरूको यही अठोटले राणा शासनको अन्त्य भयो र मातृका, बीपी र जीपीहरू नेपालको प्रजातान्त्रिक राजनीतिमा स्थापित हुन पुगे । जीवनको लामो समय भारतमा बितेको र भारतीयहरूसँगको उठबसले गर्दा कोइराला परिवारका सबैजसो सदस्यहरूमा भारतको गहिरो प्रभाव रहेको थियो । विपी कोइरालाकै क्याबिनेटमा मन्त्री रहेका खगेन्द्रजंग गुरुङले कुनै अन्तर्वार्तामा बीपीमा नेपालसम्बन्धी अधिक ज्ञान नरहेको र राजाहरूसँग वार्तालाप गर्दा समेत ‘कर्ट्सी’ निभाउने नगरेको भनि खुलासा गरेका थिए । गुरुङको भनाइबाट बीपीमा राजा महेन्द्रसँग कुनै न कुनै प्रकारको ‘पर्सन्यालिटी क्लास’ रहेको थियो भनि बुझ्न सकिन्छ ।

वि.सं. २०१५ मा सत्तासिन हुनुअघिका बीपी र त्यसपछिका बीपीमा आकाश-जमिनको फरक थियो भनि राजनीतिक विश्लेषकहरू बताउने गर्दछन् । नेपाली काङ्ग्रेसका बौद्धिक ब्यक्तित्व स्व. प्रदिप गिरीको कुनै एक राष्ट्रिय पत्रिकामा प्रकाशित लेखमा बीपी कोइरालासम्बन्धी महत्वपूर्ण जानकारीहरू पाइएको थियो । उक्त लेखअुनसार राणा शासनको अन्त्य भएलगत्तै बीपीले नेपाल एउटा अलग सार्वभौम मुलुक नभइ भारतअन्तर्गतकै एउटा अलग प्रशासनिक निकाय मात्र रहेको भनि कतै उल्लेख गरेका थिए । उनको भनाइमा भारतीय संसद्मा नेपालको प्रतिनिधित्वका लागि बीपीले दुई सिट माग गरेका थिए । तर यस्ता भनाइ पुष्टि गर्ने अन्य कुनै आधिकारिक दस्तावेजहरू हालसम्म पाइएको छैन । कोइराला र गिरी परिवारबीच रहेको वैमनस्यताको उपज यस्ता पुर्वाग्रही लेख आएको हुुनसक्ने भनि कतिपय बीपीसमर्थक विश्लेषकहरूको भनाइ छ ।

बीपीमा यौनिक स्वछन्दता पनि व्याप्त रहेको र यस्तै चरित्रका कारणले गिरीहरूसँग दूरी बढेको भनी अपुष्ट कानेखुसीहरू पनि नसुनिएका होइनन् । नभन्दै सुम्निीमा जस्ता उनका अनेकौँ साहित्यिक कृतिहरूले उनीमा रहेको भीषण यौन मनोविज्ञानलाई दर्शाउँछ ।

जीवनको पूर्वार्द्धमा मार्क्सवादबाट निकै प्रभावित रहेका बीपी आफैमा कट्टर धर्मनिरपेक्षतावादी थिए । त्यसताका कुनै प्रसङ्गमा उनले हाम्रा अराध्यदेव पशुपतिनाथको मन्दिरलाई ‘म्यूजियम’ बनाउनुपर्छ भनी आम हिन्दू धर्मालम्बीहरूको आस्थामा चोट पुऱ्याएको आरोप थियो बीपीमाथि । तर पछि बीपी आफैले यसको खण्डन गर्नुपरेको थियो । पृथ्वीनारायण शाहप्रति पनि उनको सकारात्मक टिप्पणी सुन्न पाइएन । यो सब हेर्दा बीपीको विचारले पनि नेपालको भुगोल, इतिहास र संस्कृतिसँग खासै अपनत्व नराखेको देखियो ।

बीपीको व्यक्तित्वबाट प्रभावित भएका चिनियाहरूले उनिसँग व्यक्तिगत सम्पर्क पनि बढाएका थिए । प्रधानमन्त्रीको रूपमा चीन भ्रमणमा रहँदा सुर्यप्रसाद उपाध्यायलगायत अन्य दक्षिणसमर्थित नेपाली पदाधिकारीहरूलाई माओ र चाउले भेट नदिइ बीपीसँग मात्र गोप्य भेटघाट गरेका थिए । सोपश्चात दिल्ली ‘इस्टाब्लिसमेन्ट’मा ठुलै पहिरो गयो । र, २०१७ पौष १ गते त्यहि पहिरोको शिकार बीपीको सरकार हुन पुग्यो भन्ने भनाइ केही विश्लेषकहरूको रहेको छ ।

बीपी एक स्वछन्दतावादी पश्चिमा सोचका व्यक्तित्व थिए भन्दा अतिसयोक्ति नहोला । यो भन्दा पनि अझ गम्भीर कुरा त के भने वि.सं. २००६ मा तत्कालिन प्रधानमन्त्री मोहन शम्शेरले नेपालको स्वतन्त्रता र सावभौमिकतालाई मान्यता दिलाउन संयुक्त राष्ट्र संघको सदस्यताका लागि आवेदन दिँदा बीपी कोइराला र डिल्लीरमण रेग्मीहरूले भारतबाटै कडा विरोध गरेका थिए भनी स्वतन्त्र विश्लेषक डा. भीमार्जुन आचार्यले राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित कुनै कार्यक्रममा सुनाएका थिए । यसप्रकार बीपीको जीवनका पूर्वार्द्धमा उनका अनेकन कमजोरीहरू उजागर भएका छन् । परन्तु उन्का यस्ता ‘ड्र ब्याक’हरू उजागर हुनुमा राजनीतिक पुर्वाग्रह थिएन भनि यसै भन्न सकिन्न, किनकि राजा महेन्द्रबाट बीपी सरकारविरुद्ध चालिएको २०१७ को राजनीतिक ‘कु’को औचित्य पुष्टि गर्न पनि बीपीको चारीत्रिक हत्या गर्न जरुरी थियो । अझ त्यसमाथि नेपाली काङ्ग्रेसलाई वर्गशत्रु ठान्ने कम्यूनिष्टहरूले उनका अवगुणहरूको बेस्सरी ‘एक्सपोज’ गरी राष्ट्रवादी जनताहरूको भावनालाइ क्यास गर्न आवश्यक ठान्दथे ।

बीपीमा शुरुवाती दिनहरूमा केही कमी रहेता पनि २०१५ सालमा सरकार बनाएपछि भने राष्ट्र र जनताविरुद्ध उनले त्यस्तो केही गरेको भेटिँदैन । बरु उनका पालामा नेपालको स्वतन्त्र निर्णायकत्वलाई बरकरार राखी भूराजनीतिमा नेपालले अब्बल दर्जाको अन्तराष्ट्रिय कुटनीति प्रदर्शन गरेको थियो । उदाहरणका लागि त्यस समयताका चीनले सगरमाथा आफ्नो हो भनि दाबी गर्ने गर्दथ्यो । तत्कालीन चिनिया नेता माओ त्से तुङ र चीनका तत्कालिन प्रधानमन्त्री चाउएन लाइसँग राष्ट्रिय अडानका साथ तर्कसंगत ढंगले ‘टेवल टक’गरि बीपीले चीनसँगको सिमा विवादलाई सधै सधैका लागि समाधान गरेका थिए । बीपीको व्यक्तित्वबाट प्रभावित भएका चिनियाहरूले उनिसँग व्यक्तिगत सम्पर्क पनि बढाएका थिए । प्रधानमन्त्रीको रूपमा चीन भ्रमणमा रहँदा सुर्यप्रसाद उपाध्यायलगायत अन्य दक्षिणसमर्थित नेपाली पदाधिकारीहरूलाई माओ र चाउले भेट नदिइ बीपीसँग मात्र गोप्य भेटघाट गरेका थिए । सोपश्चात दिल्ली ‘इस्टाब्लिसमेन्ट’मा ठुलै पहिरो गयो । र, २०१७ पौष १ गते त्यहि पहिरोको शिकार बीपीको सरकार हुन पुग्यो भन्ने भनाइ केही विश्लेषकहरूको रहेको छ ।

उक्त समयमा बीपीको ‘पर्सन्यालिटी क्लास’ भारतका तत्कालिन प्रधानमन्त्री जवाहारलाल नेहरूसँग पनि थियो भन्ने केही दृष्टान्तहरू पाइन्छन् । तत्कालीन सोभियत संघ खेमा रहेको भारतले भर्खरै स्थापित भएको मुलुक इजरायललाई मान्यता दिएको थिएन । तर बीपी कोइरालाले नेहरू कुटनीतिलाई लत्याएर अमेरीकी खेमामा गइ इजरायल तथा पाकिस्तानसँग कुटनीतिक सम्बन्ध गासेर विश्वजगतलाई नै चकित पारिदिएका थिए । याद रहोस् इजरायललाइ मान्यता दिने नेपाल पहिलो दक्षिण एशियाली राष्ट्र थियो । भारतको आन्तरिक मामलामा पनि बीपीको अधिपत्य बढ्दै गएको थियो । भारतका समाजवादी नेता जयप्रकाश नारायणहरू जो काङ्ग्रेस-सत्ताविरोधी थिए, उनिहरूसँग बीपीको निकट सम्बन्ध रहेको नेहरू परिवारलाई मन परेको थिएन । यस प्रकार बीपीको ‘इमर्जिङ पर्सन्यालीटी’लाई नेपालीदरबार र दिल्लीदरबार दुवैले रुचाइरहेका थिएनन् । र, यसैको परिणामतः उनको सरकार अपदस्थ भयो कि भनि अडकल काट्न सकिन्छ । उनको सरकार भङ्ग मात्र भएन बरु उनलाई आठ वर्षसम्म जेलमा समेत राखियो । यति हुँदाहुँदै पनि उनि राजतन्त्रविरोधि भएनन् आखिर किन ? समीक्षा गर्नु जरुरी छ ।

बीपीले स्पष्टरूपमा आफ्नो आत्मवृतान्तमा उल्लेख नगरेता पनि उनको सरकार अपदस्त हुनुमा राजा महेन्द्रको शासकीय महत्वकांक्षा र नेहरूको इष्र्यापूर्ण प्रतिशोध थियो भनि विश्लेषकहरू बताउने गर्दछन् । जेलबाट छुटेपछि बीपीको नेतृत्वमा तत्कालिन पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र संघर्षको सिंहनाद भयो । उनी त्यहाँ विफल भए । सिक्किम निल्ने, बंगलादेशलाई अलग बनाउने र नेपालको तराइमा समेत हस्तक्षेप गर्ने जस्ता उन्मत्त क्षेत्रिय महत्वकांंक्षा देखाइरहेकी तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धिसँग भयभित भइ २०३३ सालमा ‘राष्ट्रिय मेलमिलाप’ गर्ने गरि बीपी बनारसबाट नेपाल फर्किए । सुर्यबहादुरलगायत अनुदार दरबारियाहरूले बीपीलाइ फासी दिनुपर्छ भनि हल्ला मच्चाए । धन्य हो… अदालतले बचायो !

२०३७ सालको जनमतसंग्रहमा नेपाल-दरबार र दिल्ली-दरबारको फेरि कुरो मिल्यो र, बीपीलाई फेरि पनि विफल पारियो । प्रथम राष्ट्रपति बनाउने प्रलोभन दिइयो । तर उनी भन्थे राजा र मेरो घाँटी जोडिएको छ । वामपन्थीहरूसँग मिलौँ र दरबारविरुद्ध आन्दोलन गरौँ भन्ने गणेशमान र कृष्णप्रसाद भट्टराइको प्रस्ताव सिधै लत्याइदिन्थे उनी, किनकि उनलाई थाहा थियो वामपन्थी शक्ति मुलुकमा हाबी भयो भने देश अफगानीस्तान हुन्छ । सत्तरीको दशकमा सोभियत संघले हस्तक्षेप गरि ‘कम्यूनिष्ट रेजिम’ खडा गरिदिएपछि अशान्त भएको अफगानिस्तानको उदाहरणले उनलाई झस्कायो । पुष्पलालहरू जस्ता नेपालका वामपन्थी नेताहरू जो उनसँगै बनारस बस्दथे, उनीहरू बाहिर-बाहिर भारतको विरोध गरे झैँ गर्ने अनि भित्रदेखि भारतलाई नै सहयोग गर्ने गरेको उनले देखिरहेका थिए । यो आशंका त माओवादी र भारतको सम्बन्धबाट झनै प्रष्ट भयो ।

यसप्रकार दरबार र भारतबाट प्रताडित भएर पनि मुलुकको सुदूर भविष्यका लागि बीपीले नेपालको ‘विकृत वामपन्थ’सँग कहिल्यै सम्झौता गरेनन् । गणतन्त्रलाई समर्थन गरेरन् । बरु सत्तामोह त्याग गरे । उनले लगाएको यो गुणले देशको अस्थिरतामा धेरै वर्षसम्म राहत मिल्यो । तर उनकै सहोदर भाइ जीपीले सत्ताका खातिर सिङ्गो काङ्ग्रेस पार्टीलाई प्रचण्डीकरण (वामपन्थीकरण) गरी नेपालको दरबारमा रहेको नेपाली सम्प्रभुतालाई दिल्लीमा बन्धकी राखिदिए । नेपाली संस्कृति पश्चिमाहरूलाई सुम्पिदिए । अब राष्ट्रिय अखण्डता पनि खै कुन्नि रहने हो कि होइन, कोशी प्रदेशले ‘कास्टिङ’ देखाइरहेको छ । यसको अन्त्य पनि सुखद छैन होला । बीपीको सपना यस्तै दिन देख्न पक्कै पनि थिएन होला । काङ्ग्रेसीजनमा चेतना होस् । जय नेपाल ।