लुटको धनबाट कार उपहार

लुटको धनबाट कार उपहार


थुप्रै निर्माता सिनेमा नचलेर धोती न टोपी भइरहेको अवस्थामा एकजना निर्माता भने उदार रूपमा प्रस्तुत भएका छन् । उनी हुन् चलचित्र ‘लुट’का निर्माता नरेन्द्र महर्जन । यो सिनेमा निर्माण गर्ने क्रममा यसका निर्देशक निश्चल बस्नेतले आफूसँग साइकल भएको भए पनि बेच्दथे होला तर, त्यो उनीसँग थिएन र सुटिङकै क्रममा पैसा सकिएपछि ‘लुट’ लिएर उनी निर्माता नरेन्द्र महर्जनसमक्ष पुगे । नरेन्द्रले बाँकी रकम लगानी गरिदिएका थिए यो सिनेमामा । तर, लुटले यसरी आर्थिक रूपमा ‘ब्रह्मलुट’ नै गर्छ भन्ने उनलाई पनि थाहा थिएन । तर, भइदियो त्यस्तै । अन्तत: लुटको अत्यधिक व्यापारबाट खुसी भएर नरेन्द्रले यसका निर्देशक निश्चल बस्नेतलाई शानदार कार उपहारस्वरूप प्रदान गरे यो हप्ता ।
यो चर्चाले यतिबेला नेपाली चलचित्र बजार नै गरम भएको छ । फ्लप भयो भने निर्देशकलाई गाली गर्ने अति हिट भयो भने कमाइएकै छैन भनेर भागी-भागी हिँड्ने र हिट फिल्मको जस निर्देशकलाई नदिएर सबै आफैं लिने निर्माताहरूको भीडमा नरेन्द्र महर्जनले पसिना र सिर्जनाको सही मूल्याङ्कन गरेर उदाहरण प्रस्तुत गरिदिएका छन् ।
१८ लाख मूल्य पर्ने हुण्र्डाई कम्पनीको आईटीएन सो कार चढेर निश्चल यतिबेला सयर गरिरहेका छन् । ‘मैले कार चढ्छु अनि मोजमस्ती गर्छु भनेर सिनेमा बनाएको थिइनँ । मेरो कामलाई मन पराइदिनुहुने सम्पूर्ण दर्शक मेरो भगवान् हुन्,’ निश्चल भन्छन् । हेर्दा निकै सोझा र भलाद्मी लाग्ने निश्चल आफैंलाई पनि यतिबेला कार चढ्दा केही अप्ठ्यारो महसुस भइरहेको छ रे । ‘मैले सोचेकै थिइनँ । नसोचेको कुरा पाउँदा केही असजिलो हुँदोरहेछ,’ उनले लजाएको पाराले भने ।

सम्झना किन देखिन्छिन् सेक्सी ?
उनको नृत्यमा भुतुक्कै हुनेहरू थुप्रै छन् । उनको नृत्यको एक झड्का हेर्ने नेपालमा मात्र होइन अझ बढी त नेपालबाहिर रहेका नेपाली मरिहत्ते हाल्छन् । त्यसैले त देशबाहिर हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुने कलाकारहरूको टोलीमा उनको नाम छुट्दैन ।
उनी अर्थात् सम्झना बुढाथोकी । सम्झना विशेषत: लोकगीतहरूको म्युजिक भिडियोमा एकछत्र राज गर्न सफल भएकी छिन् । शरीरको लचकता अनि अनुहारको ‘हाउभाउ’ले सम्झना दर्शकहरूमाझ परिचित छिन् । ‘गीतको भाव र मागअनुसार नृत्य प्रस्तुत गर्न सक्ने गजबको शैली छ उनमा । त्यसैले सम्झना चर्चामा छिन्,’ उनलाई आफ्नो गीतमा नृत्य गराउने गायक-गायिकाहरू यसै भन्छन् । अब आफू मात्र नाचेर भएन, आफूजस्तै नृत्य विधामा निपुण नृत्याङ्गनाहरू जन्माउने योजनामा लागेकी छिन् सम्झना । यसैक्रममा सम्झनाले काठमाडौंको बागबजारमा ‘गु्रप वन क्रियसन’ नामक नृत्य स्कुल सञ्चालनमा ल्याएकी छिन् । सम्झनाका अनुसार यो स्कुलमा नृत्य विधाका सबै आइटमको प्रशिक्षप्ाण दिइने गरिन्छ ।
त्यसो त सम्झनाले नाच्दा ग्ल्यामर्सको नाममा भल्गारिटी देखिने आरोप पनि उनलाई नलागेको होइन । यो विषयमा उनले भनिन्, ‘मैले नाच्दा मेरो नृत्यमा भल्गारिटी होस् भनेर नाच्दिनँ । नृत्यको तालमा शरीरको लचकतामा त्यो देखिन्छ भने म के भनुँ ? तर म भल्गारिटीभन्दा पनि मेरो नृत्यमा बढी सेक्सी हाउभाउ देखिने कुरा मान्दछु । र, भल्गारिटी अनि सेक्सी फरक हुन् । त्यसैले म सेक्सी देखिन्छु होला तर भल्गारिटी देखिन्नँ,’ उनको दाबी छ ।

बाबुछोरी बने दाजुबहिनी
हुन त वास्तविक जीवनमा द्वन्द्व-निर्देशक राजेन्द्र खड्गी र नायिका रागिनी खड्गी बाबुछोरी हुन् । तर, पेसा हो, पेसाको धर्म पनि निभाउनुपर्‍यो नि ? यो कुरा दुवैले बुझेका छन् । त्यसैले होला यी दुई एउटा नयाँ चलचित्रमा दाजु-बहिनीको भूकिामा देखापरेका छन् । दर्शकहरूले वास्तविक बाबुछोरीलाई दाजु र बहिनीको भूमिकामा देख्न पाउने चलचित्र हो- भेटी । यो हप्ता ‘भेटी’को छायाङ्कन सकाएर युनिट मुस्ताङबाट काठमाडौं फर्किएको छ । एक कार्यक्रममा भेटिएका राजेन्द्र खड्गीलाई सोधियो, ‘छोरीलाई बहिनी भन्दा कस्तो लाग्यो त ?’ जवाफमा उनले भने, ‘सुरुमा त केही असजिलो भान भएको थियो तर काम गर्दागर्दै त्यस्तो अड भएन पछि,’ खड्गीले भने ।
यो त भए दाजु बनेका वास्तविक बाबुको विचार । उसो भए बहिनी बनेकी साँच्चिकै छोरीको अनुभवचाहिँ कस्तो रह्यो त ? ‘सुटिङमा जानुअघि नै आफ्नो भूमिकाबारे थाहा त थियो तर सुटिङ गर्ने क्रममा भने बुबालाई दाइ भनेर संवाद बोल्दा सुरुमा असजिलो भयो । बुबालाई पनि त्यस्तै भएको रहेछ । पछि बानी परेपछि खासै फरक लागेन,’ रागिनीले बताइन् ।
थुप्रै सिनेमाको पर्दामा आफू बच्चा हुँदा आफ्नो पितालाई खुँखार खलनायकको रूपमा हेर्दै आएकी रागिनीको जीवनमा पर्दामा आफ्नै पिताको बहिनीको भूमिकामा खेल्नु अवश्य पनि नौलो अनुभव हो । दुवैको अनुभवमा यस्तो पात्र पर्दामा सायदै देखिन्छ होला । ‘एक त बाबुछोरी एउटै सिनेमामा अनि त्यो पनि फरक भूमिकामा । हेरौँ दर्शकमाझ आएपछि कस्तो हुन्छ प्रतिक्रिया ?’ दुवैले भने ।