प्रधानमन्त्री प्रचण्ड आज साँझ न्यूयोर्क प्रस्थान गर्दै

प्रधानमन्त्री प्रचण्ड आज साँझ न्यूयोर्क प्रस्थान गर्दै


file photo: rss

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विश्व समूदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे प्रधानमन्त्री प्रचण्डले मन्तव्य व्यक्त गर्नेछन् । आगामी आसोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी संलग्न रहने जनाइएको छ ।