उन्नाइसौँ एशियाली खेलमा सहभागी हुने एपिएफका खेलाडीको बिदाइ

उन्नाइसौँ एशियाली खेलमा सहभागी हुने एपिएफका खेलाडीको बिदाइ


‘१९औँ एशियाली खलकुद प्रतियोगिता’अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियललगायत बक्सिङ खेलमा सहभागी हुने खेलाडीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिदाइ गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौंमा मंगलबार आयोजित एक समारोहका बीच आइजीपी अर्यालले खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।

यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ सहरमा सञ्चालन हुने एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागी हुने एपिएफका चार जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाइ गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पुऱ्याउने मात्र नभइ समग्र राष्ट्रकोसमेत पहिचान झल्काउने भएकाले सहभागी सम्पूर्ण खेलाडीबाट अनुशासित तवरले खेल प्रदर्शन गर्न आग्रह गरे । राष्ट्र र समग्र जनताले खेलाडीबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको पनि उनले बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल सङ्घका अध्यक्ष विश्व वम मल्ल तथा सङ्घका अन्य पदाधिकारीकोसमेत उपस्थिति रहेको थियो ।