उन्नाइसौँ एशियाली खेलमा सहभागी हुने एपिएफका खेलाडीको बिदाइ

उन्नाइसौँ एशियाली खेलमा सहभागी हुने एपिएफका खेलाडीको बिदाइ


सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औँ एशियाली खलकुद प्रतियोगिता’अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियललगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीहरुलाई मंगलबार बिदाइ गर्नुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आयोजित एक समारोहका बीच उहाँले खेलाडीहरुलाई बिदाइ गर्नुभएको हो ।

यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ सहरमा सञ्चालन हुने एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलतर्फ क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागी हुने एपिएफका चार जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाइ गरिएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा पु¥याउने मात्र नभई समग्र राष्ट्रकोसमेत पहिचान झल्काउने भएकाले सहभागी सम्पूर्ण खेलाडीबाट अनुशासित तवरले खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्र र समग्र जनताले खेलाडीबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको पनि बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल सङ्घका अध्यक्ष विश्व वम मल्ल तथा सङ्घका अन्य पदाधिकारीकोसमेत उपस्थिति रहेको थियो ।