पानामा रोग देखिएपछि केरा आयातमा कडाइ

पानामा रोग देखिएपछि केरा आयातमा कडाइ


तस्बिर : रासस

भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ । कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार (पानामा) देखिएसँगै नेपालभरिका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ले उच्च सतर्कता अपनाएका हुन् ।

टीकापुरका केही बगैँचामा केराको बोट ओउलाउने रोग टिआर-४ देखिएकाले सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गरेको छ । करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस-१ भारतबाट भित्रिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताउनुभयो । उहाँका अनुसार चितवनमा यो रोग सात वर्षदेखि व्यापकरूपमा फैलिँदै गएको छ ।

‘रेस-१ ले मालभोगलगायतका स्थानीय जातलाई निकै नोक्सान पुऱ्याउँछ । नयाँ जात जि-नाइन, विलयम हाइब्रिड, चिनयाँ चम्पालगायत जातले रेस-१ लाई पूर्णतया सहन सक्छन्’, प्रमुख अर्यालले भन्नुभयो, ‘नयाँ प्रजाति पानामा (टिआर-४) ले भने नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई पूर्णतया नष्ट गर्नसक्ने क्षमता राख्दछ ।’

रोग लागेमा सुरूमा पुराना पातको फेद पहेँलो हुने भनदै पछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिने बताउनुभयो । ‘यो रोगको ढुसीले आक्रमण गरेको चारदेखि पाँच महिनापछि बिरुवामा लक्षण देखाउँछ । रोग सङ्क्रमित बिरुवा रोपण गरेमा रोग लागेको दुई महिनाभित्र लक्षण देखिन सक्छन्’, उहाँले भन्नुभयो ।

पनामा रोग माटोमा बस्ने ढुसी भएका कारण सर्ने प्लाण्ट क्वारेन्टाइन कार्यालयका भैरहवाका प्रमुख कुलदीप घिमिरेले बताउनुभयो । उहाँका अनुसार एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलने गर्दछ । यसका साथै केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा रोगको सङ्क्रमण सर्ने सम्भावना रहेको घिमिरेले बताउनुभयो । सङ्क्रमित माटो, पानी र औजार रोगका प्रमुख स्रोत रहेको उहाको भनाइ थियो ।

भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताउनुभयो । ‘हामीले केराका कोसाबाहेक अन्य कुनै पनि वस्तु केराका गाडीमा ल्याउन दिँदैनौँ’, उहाँले भन्नुभयो, ‘टिआर-४ केराका कोसाबाट सर्दैन, कोसा सुरक्षित गरी ल्याएकालाई मात्रै क्वारेन्टाइन गर्ने गरेका छौँ ।’

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरुको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको घिमिरेले बताउनुभयो । ‘यो सबै काम प्लाण्ट क्वारेन्टाइन कार्यालयले गर्ने गरेको छ’, उहाँले भन्नुभयो, ‘भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ ।’

भैरहवा भन्सार नाका भारतीय केरा आयात गर्ने मुख्य भन्सारको रुपमा रहेको छ । यस नाको हुँदै भारतका अधिकांश स्थानबाट केरा नेपाल आउने गरेको छ । आव २०७९/८० मा भैरहवा भन्सार हुँदै रू एक अर्ब पाँच करोड ९७ लाख ३३ हजार मूल्य बराबरको ३७ हजार छ सय ३८ मेट्रिक टन केरा आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको भदौ महिनाभित्र रू १९ करोड ४६ लाख ३५ हजार मूल्य बराबरको चार हजार छ सय १९ मेट्रिक टन केरा आयात भएको छ ।

रुपन्देही र नवलपरासी (पश्चिम)मा केरा खेती ठूलो मात्रामा गरिएकाले पनि रोग भित्रिन नदिन सिमामा कडाइ गरिएको जोशीले बताउनुभयो । नवलपरासी (पश्चिम)मा केरा खेतीको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केरा जोन निर्धारण गरेको छ । परियोजना कार्यान्वयन एकाइ भैरहवाका प्रमुख नारायण काफ्लेका अनुसार नवलपरासीमा मात्र एक हजार एक सय ५० हेक्टरमा केरा खेती गरिएको छ ।

रुपन्देहीमा दुई सय ८० हेक्टरमा केरा खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख अर्यालले जानकारी दिनुभयो । ‘अहिले खेती गरिएका सबै जि-नाइन प्रजातीका केरा हुन्, यिनीहरु टिआर-४ सँग लड्न सक्दैनन्’, उहाँले भन्नुभयो, ‘लुम्बिनी प्रदेश पानामा सङ्क्रमणको अत्याधिक जोखिममा देखिएकाले सतर्कता अपनाउन आवश्यक छ ।’

केरा जोन नवलपरासी (पश्चिम) को प्रतापपुरमा यही रोगसँग मिल्दोजुल्दो लक्षणका केराका बोट देखिएका काफ्लेले बताउनुभयो । उहाँले उक्त रोग टिआर-४ वा अन्य भएको विषयमा अनुसन्धानका लागि राष्ट्रिय बाली रोग अनुसन्धान प्रयोगशालामा नमूना पठाइएको जानकारी दिनुभयो । प्रयोगशालाबाट नतिजा आई नसकेकाले परियोजना सतर्क अवस्थामा रहेको उहाको भनाइ थियो ।