पन्ध्र प्रमुख एजेण्डासहित बज्राचार्य समूहले गऱ्यो उम्मेद्वारी घोषणा

पन्ध्र प्रमुख एजेण्डासहित बज्राचार्य समूहले गऱ्यो उम्मेद्वारी घोषणा


यही असोज १९–२० मा ललितपुर उद्योग वाणिज्य संघको अधिवेशन

ललितपुर उद्योग वाणिज्य संघको ४४ औँ साधारणसभा यही असोज १९ र २० गते आयोजना हुँदैछ । सो क्रममा गठन गरिने कार्यसमितिका लागि निर्वाचनका लागि व्यवसायी विश्वराज बज्राचार्यको समूहले आफ्नो उम्मेदवारीसहित टिमको घोषणा गरेको छ ।

ललितपुरको पुल्चोकमा एक चुनावी कार्यक्रम गर्दै बज्राचार्य समूहले उम्मेदवारी तथा टिम घोषणा गरेको हो । असोज १९ गते साधारणसभाको उद्घाटन कार्यक्रम र २० गते निर्वाचन हुने जनाइएको छ, जसका लागि यही असोज ३ गते बुधबार उम्मेद्वारी दर्ता गरिएको छ ।

यसपटक ललितपुरमा बज्राचार्य समूहबाट संघको अध्यक्षको उम्मेदवार विश्वाज बज्राचार्य छन् भने वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले र वाणिज्य उपाध्यक्षमा रमेशभक्त मुल्मीको उम्मेदवारी घोषणा भएको छ । महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्यलाई अघिसारिएको छ ।

सो समूहबाट उद्योग समूह सदस्यतर्फ सजना श्रेष्ठ, सविनमान जोशी, प्रविन बज्रचार्य, प्रविण ताम्राकार, बिष्णुलाल सिकर्मी र शैशवकृष्ण श्रेष्ठ छन् । यस्तै, वाणिज्य सदस्यतर्फ विमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेश राज बज्रचार्य, प्रविणबहादुर शाक्य, पुष्पकुमार थापा र हरिराम जोशी छन् भने संस्थागत सदस्यतर्फ मिलन श्रेष्ठ र एसोसिएसन सदस्यमा रवि महर्जन उम्मेदवार छन् ।

कूल २२ सदस्यीय कार्यसमिति रहने ललितपुर उ.वा. संघमा १९ सय जना मतदाता छन् । उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार बज्राचार्यले जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर प्यानलसहित चुनावमा होमिएको जानकारी दिए र भने– ‘म विजयी बनेपछि सबै उद्योगी-व्यवसायीलाई समेटेर ललितपुरको बलियो तथा मजबुत व्यवसायिक छाता संगठनका रूपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउने छु ।’ यस्तै, साना–ठूला उद्योगी व्यवसायीको छाता संगठनको रूपमा अघि बढाउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार तथा उद्योग वाणिज्य महासंघसम्म ललितपुरको बलियो प्रतिनिधित्व गराउने बज्राचार्यले प्रतिबद्धता जनाए ।

बज्राचार्य समूहले संघको चुनाव जितेपछि गर्ने मूल १५ कामको सूचीसमेत तयार पारेको छ । जसमा स्थानीय उत्पादनको ब्राण्डिङ, ललिपुरमा मेला आयोजना, उत्पादन, संस्थागत सुशासनलगायतका एजेन्डा समेटिएका छन् ।

यस्तो छ बज्राचार्य समुहको पन्ध्रबुँदे प्रतिवद्धता-

१. उद्योग व्यवसायीको मागहरूमा सशक्त वकालत गर्ने संस्थाको रुपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने :

– ललितपुर जिल्लाभरि रहेको सम्पूर्ण वस्तुगत संस्थाहरू स्थानीय र व्यवसायीहरूको सुझावका आधारमा समस्याहरूको पहिचान गरी उनीहरूको प्रत्यक्ष संलग्नतामा नीतिगत र विषयगत आवश्यकता पूर्ति गर्न स्थानीय, संघीय र केन्द्रिय सरकारलाई घच्घचाउनुका साथै यस संघलाई शसक्त वकालत गर्ने व्यवसायहरूको संस्थाको रूपमा ललितपुर उद्योग वाणिज्य संघलाई स्थापित गर्ने ।

२. नीति, नियम, ऐन, कानुनलाई व्यवसायी र उद्योगीहरूको हितमा कार्यान्वयन गराउने :

– व्यापार, व्यवसाय र उद्योगसम्बन्धी नीति, नियम, ऐन, कानुनलाई व्यवसायी र उद्योगीहरूको हितमा कार्यान्वयन गराउने पहल गर्ने तथा सरकारद्वारा जारी यस्ता ऐन, कानुनमा कुनै बुँदा बाझिएका वा अस्पष्ट छन् भने त्यसलाई स्पष्ट पार्न पहल कदमी गर्ने अनि अपुग कानुनी व्यवस्थालाई पुर्णता दिन सधैं अग्रसर रहने ।

३. संस्थागत सुशासनमा जोड दिने :

– कुनै पनि खाले भ्रष्टाचार, जस्तै– ढिलासुस्ती, अनियमितता, नीतिगत एवम् आचराणत्मक भ्रष्टाचार आदिलाई निर्मूल पार्न शून्य सहनशिलता नीति अपनाइ व्यापार व्यवसायको क्षेत्रमा ललितपुर उद्योग वाणिज्य संघलाई उपभोक्तामाझ विश्वासिलो र पारदर्शी संस्थाका रुपमा स्थापित गर्ने ।

४. औद्योगिक र वाणिज्य संघ–संस्थाहरूसँग सम्बन्ध विकास, व्यापारिक सञ्जाल विस्तार र लगानी प्रवर्द्धन गर्ने :

– स्थानीय व्यापार, व्यवसाय र राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि विश्वभरका औद्योगिक र वाणिज्य संघसंस्थाहरूसँग सम्बन्ध विकास, व्यापारिक सञ्जाल विस्तार र लगानी प्रवद्र्धनको माध्यमका रूपमा अन्तर्राष्ट्रिय स्तरमा उभ्याउन, एकअर्कासँग सहकार्य, ब्यापक छलफल र बहसपैरवी गर्ने ।

५. स्रोत साधन, सम्बन्धहरूमा पहुँच पुऱ्याउने :

– व्यवसायी र उद्योगीहरूलाई आवश्यक स्रोत साधन, सम्बन्धहरूमा पहुँच, छुटको व्यवस्था र वित्तिय सर्वसुलभतामा जोड दिँदै गुणस्तर उत्पादनका लागि प्रोत्साहित गर्ने ।

६. उत्पादनलाई ब्राण्डिङ तथा कपीराइट अवधारणालाई साकार बनाउने :

– कलानगरी ललितपुरलाई ‘वर्ल्ड क्लास काउन्सिल’बाट ‘क्राफ्ट सिटी’को मान्यता प्राप्त भएअनुरुप यस जिल्लामा उत्पादित हस्तकला लगायतका वस्तु र अन्य उत्पादनलाई ब्राण्डिङ तथा कपीराइट अवधारणालाई साकार पार्न ललितपुर महानगरपालिकासँग सहकार्य र कार्यन्वयनमा सशक्त पहल गर्ने ।

७. सामाजिक उद्यमलशीलतामा लाग्न प्रोत्साहन र वातावरण निर्माण गर्ने :

– अनौपचारिक क्षेत्रबाट उत्पादित वस्तुहरूलाई बजार ब्यवस्थापनमा सहजिकरण गरि केन्द्रिकृत औपचारिक व्यवसाय गर्न उत्प्रेरित गर्नुका साथै सामाजिक उद्यमलशीलतामा लाग्न प्रोत्साहन र वातावरण निर्माण गर्ने ।

८. साँस्कृतिक सम्पदा संरक्षणमा व्यवसायीहरूले खेलेको भुमिकालाई उजागर गर्ने :

– मूर्त तथा अमूर्त सम्पदासँग जोडिएका शिल्पी, कलाकार र व्यवसायीहरूलाई आर्थिक उपार्जन र दीगो साँस्कृतिक व्यवसायमा लाग्न प्रेरित गर्ने र उहाँहरूको व्यवसायलाई औपचारिक व्यवसायको रूपमा विकाश गर्दै उनीहरूको ब्यवसायले समाजमा पुऱ्याउँदै गरेको साँस्कृतिक सम्पदा संरक्षणको भूमिकालाई उजागर गर्ने ।

९. विश्व सम्पदा सूचिमा परेका स्थानलगायत अन्य स्थानहरूलाई पर्यटकीय गन्तव्यको रूपमा पहिचान र विकास गर्ने :

– कलानगरी ललितपुरमा पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिँदै ललितपुर महानगरपालिको सहकार्यमा यस संघको अवधारणाबमोजिम पहिचान भएका पाँच वटा सम्पदा स्थलहरूलाई थप प्रचारप्रसार र व्यवस्थित गर्दै अन्य पर्यटकीय स्थलको पहिचानसहित अन्तराष्ट्रिय तथा आन्तरिक पर्यटन विकास गर्ने ।

१०. स्थानीय अर्थतन्त्र र समृद्धिमा योगदान पुऱ्याउने :

– स्थानीय व्यापार व्यवसायलाई बढावा दिन स्थानीय अर्थतन्त्र र समृद्धिमा योगदान पुऱ्याउने कार्ययोजना तयार गरि कार्यन्वयनमा जोड दिने ।

११. जिल्लाभित्रका उद्यमी–व्यवसायीहरूलाई ध्यानमा राख्दै उद्योग र उत्पादन क्षेत्र पहिचान गर्ने :

– ललितपुर जिल्लाभित्रका उद्यमी–व्यवसायीहरूलाई ध्यानमा राख्दै उद्योग र उत्पादन क्षेत्रको पहिचान गरी त्यसको व्यवस्थापनका लागि आवश्यक अनुशन्धान तथा परियोजनात्मक कार्ययोजना तय गर्ने ।

१२. संघको भूमिका महत्वलाई सूचना–पुलका रुपमा सशक्त बनाउने :

– ललितपुर उद्योग वाणिज्य संघको भूमिका, महत्वलाई सूचना–पुलको रुपमा अझ व्यापक र प्रभावकारी बनाउने ।

१३. व्यापार तथा औद्योगिक मेलाहरू आयोजना गर्ने :

– औद्योगिक मेलाहरू व्यापार तथा औद्योगिक आयोजना गर्ने, त्यस्ता मेलाहरूमा स्थानीय व्यापार व्यवसायीहरूका लागि सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्ने ।

१४. व्यवसायीहरूलाई समाजप्रति उत्तरदायी बनाउने :

– उद्योग व्यवसायीहरूलाई समाजप्रति उत्तरदायी बनाउँदै, व्यवसायी र समुदायबीचको सम्बन्धलाई बलियो बनाउने ।

१५. व्यवसायीहरूको हितलाई ध्यानमा राख्दै पर्यावरण तथा वातावरणीय मुद्धाहरूमा सचेतना जगाउने :

– उद्योग व्यवसायका लागि उपभोक्ता एवम् आम नागरिकको ब्यापक सर्मथन जुटाउन जलवायु परिवर्तन, स्थानीय, पर्यावरण तथा वातावरणीय मुद्दाहरू लगायतका क्षेत्रमा व्यवसायीहरूको भूमिकालाई प्रभावकारी बनाउने ।