‘हमार बबुवा तु खुस रह…’ : वैदेशिक रोजगारको कहालीलाग्दो बाध्यता !

‘हमार बबुवा तु खुस रह…’ : वैदेशिक रोजगारको कहालीलाग्दो बाध्यता !


जोखिम मोलेर विदेशको तातो घाममा पसिना बगाउन पुग्ने ती युवाहरूले देशका लागि रेमिट्यान्स भित्र्याउँछन् तर उनीहरु घर आउँदा स्वयमको घरबार-परिवार नै नहुने स्थिति पनि छ । यसबारे राज्य पुरै बेसरोकार नै छ । केवल युवाहरूको रेमिट्यान्स नहेरौँ, जो घर-परिवारको लागि कमाउन दुःख गर्न विदेश गएका छन् त्यस्ताको परिवारहरूको अवस्था पनि हेरौँ । कहीँ तिनीहरू ठगीमा परेका त छैनन् ? पतिको अनुपस्थितिमा पत्नीलाई कसैले बहकाएको त छैन ?
✍ रसना ढकाल
घटना नम्बर १

रोजगारको लागि कतार जाँदै गरेका एक मात्र छोरालाई पटक-पटक अँगालो हाल्दै एक वृद्ध पिता रोइरहेका थिए । उनको छोराको आँखा पनि पूरै आँशुले भरिएको थियो । तर उनी बाउ जस्तो खुलेर रुन सकिरहेका थिएनन् । आफै रोउँ भने वृद्ध बुबालाई कसले सम्झाउने भन्ने भाव उनभित्र आइरहेको थियो । घरी टिकट हेर्ने घरी बाथरुम जाने बाहनामा उनी भक्कानिएर रोए । आफ्नो बुबाको अघिल्तिर आँशु देखाउन हिम्मत गरेनन् । यताउता गरेर आँशु लुकाउँदै हिँडे । जब बोर्डिङ पासको लागि जानुपर्ने भयो तब ती पिताको धैर्य झन् टुट्दै गयो । रुँदै भन्दै गरे- ‘हमार बबुवा तु खुस रह.. ।’ वरपर हेर्ने व्यक्तिहरू पनि भक्कानिए । आफ्नो आँखाले भ्यासम्म छोरालाई हेर्दै गरे । पछि सुरक्षाकर्मी आएर.. बाहिर जानुस्, धेरै नरुनुस् भनेर सम्झाउन थाले पनि ती वृद्ध पिता मानेनन् । त्यहीँ बसेर रुन लागे । र, बारम्बार भन्न लागे- हमार बबुवा तु खुस रह…।

घटना नम्बर २

अर्को पीडा पनि यस्तै । मध्यतराईकै एक परिवार घरमा ऋणको भारी थुप्रेपछि साहु बारम्बार आएर कराउने, घरका भाँडाकुँडा फालिदिने पैसा दिएनस् भने तिमीहरूको उठिबास गरीदिने भन्दै सधैजसो धम्की दिन आउने साहुको ऋणबाट मुक्त हुन उनी साउदीको लागि उड्न आए । घरमा वृद्ध बुबा-आमा, साथमा पत्नी र दुई बच्चाको जिम्मेवारी उनको काँधमा रहेछ । भएको खेतिपाती पनि नक्कली तमसुक बनाएर साहुले आफैतिर लगेका रहेछन् । साहुको चरम यातना भोगिरहेका ती व्यक्तिले अरुसँग ऋण मागेर वैदेशिक रोजगारमा जाने निधो गरे । वैदेशिक रोजगारको लागि जाने निधो गरेपछि बुबाआमाको धैर्यको बाँध टुट्यो । छोरालाई बाहिर नजाउँ यहीँ कमाउन सकिन्छ, भनेर सम्झाउँथे तर छोरा मानेनन्, किनकि साहुको ऋणले च्यापिरहेको थियो । टोल समाजले भन्थ्यो- है.. छौँडा कुछ काम नरेला बस दुःख देता (यो केटा केही काम गर्दैन खालि बुबाआमालाई दुःख दिन जानेको छ) ! समाजको तानाबाना सुन्न नपरोस् भन्दै उ बाहिर जाने निधो गर्यो । सबै काम सकेर घरबाट बुबाआमासँग आशीर्वाद लिन जाँदा बुबाआमाले भने- हमार बबुवा तु खुस रह.. ।

अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य

केही दिनअघि एक राष्ट्रिय पत्रिकामा एउटा हेडलाइन आएको थियो– देश नै विदेश गइरहेको । वास्तवमा दिनदिनै बाहिरिँदै गरेका युवाहरूको जमातले देशको भविष्य कस्तो हुने भन्नेतर्फ सोच्न बाध्य बनाउँछ । यति मात्रै होइन हामीले वर्षौंदेखि भन्दै आइरहेको आजको बालबालिका भोलिका कर्णधार भन्ने उक्तिलाई थोरै परिमार्जित गरेर विदेशका कर्णधार भन्नेतर्फ हामी लाग्नुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको प्राङ्गणमा गएपछि यस्ता दृश्य धेरै देख्न पाइन्छ । कसैको बच्चा रोइरहेको हुन्छ, कसैका आमाबुबा, पत्नी रोइरहेकी हुन्छिन् । अनेकन हृदयविरादक दृश्यहरू देख्न सकिन्छ । तर जानेको बाध्यता हुन्छ उसलाई वैदेशिक रोजगारमा जानैपर्ने हुन्छ । यस स्थितिमा आफ्नो रहरले १० प्रतिशत जान्छन् भने बाध्यताले ९० प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेका छन् । कतिलाई त आफू त्यो देशमा गएर के काम गर्ने हो भन्ने पनि थाहा नहुने रहेछ । रोजगारीमा जाने व्यक्तिहरूसँग सामान्य रूपमा सोधपुछ गर्दा ‘…अब हेरौँ त्यहीँ नै केही काम दियो भने गर्ने’ जस्तो उत्तर पनि हामीले पाएका थियौँ । के स्वदेशमा रोजगार नदेखेर विदेश जाँदै हुनुहुन्छ ? भनेर सोध्यौँ भने सबैको साझा उत्तर आउँछ– नेपालमा केही छैन, यहाँ बसेर केही हुन्न, नेताहरूले देश बिगारे, उनका आफन्तीहरू बने तर जनता बनाएनन्… ! यस्ता उत्तर धेरै आउने गरेको छ । यसरी नेतालाई दोष दिएर विदेसिनेहरू दिन-प्रतिदिन बढ्दो क्रममा छन् । गाउँघर युवाहरूले रित्तो हुने अवस्था नेपालमा भइसक्यो । काम गरेर खान डर र लाज मान्नु हुँदैन भन्छन् तर कति युवाहरू देशमा काम गर्न लाज लाग्ने त्यही काम विदेशमा गर्यो भने सम्मान पाइने भन्दै बताएका थिए । अनेकन दृश्य देख्न पाइन्छ ।

चर्चा वैदेशिक रोजगारीको

मान्छेलाई आवतजावत गर्ने पूर्ण अधिकार छ । हाम्रा पुर्खाहरूको इतिहास हेर्ने हो भने पनि उनीहरू बाहिर कहीँकतैबाट स्थानान्तरण भएर आएका बुझिन्छ । यसरी विश्व समुदाय एक ठाउँबाट अर्को ठाउँमा जानलाई रोक्न र छेक्न हुन्न भन्ने मान्यता छ । मान्छेको जीवन धान्न महत्वपूर्ण माध्यम नै रोजगार हो । रोजगार सानो ठूलो भन्ने हुँदैन । देश बनाउन विभिन्न प्रतिवद्धता गरेर गएका नेताहरू आफू बने तर देश र आफ्नो क्षेत्रका युवालाई बनाएनन् । राजनीतिक दलले युवाहरूलाई भ¥याङको रुपमा प्रयोग गरे । तर युवाहरूको पक्षमा यसको नतिजा नकारात्मक आयो । दिन–प्रतिदिन देशमा बढेको आन्तरिक कलह प्रमुख कारण हो । यसले काम गर्नेलाई पनि काम गर्न वातावरण दिँदैन । राजनीतिक दलको काँध चढेर आएको व्यक्ति नै त्यहाँ हाबी हुन्छ ।

वैदेशिक रोजगारीमा विभिन्न बहानाले जाने तर त्यहाँ पुगेपछि सबैको उद्देश्य त्यहीँ काम गर्ने नै हुन्छ । एक आर्थिक सर्वेक्षणका अनुसार २०७९ फाल्गुनसम्म ५५ लाख २६ हजार ७०० जनाले वैदेशिक रोजगारीमा जान औपचारिक श्रम स्वीकृति लिएका छन् । त्यसैगरी राष्ट्रिय जनगणना २०७८ ले परिवारबाट अलग भइ विदेशमा बसोबास गर्ने नेपालीको संख्या करिब २२ लाख रहेको देखाएको छ । रोजगारी गर्न पाउने अधिकार हो तर आफू कुन देश जाँदैछु, काम के हो, आफूसँग सीप छ या छैन ? यस्ता कुरा जाने युवाहरूले बुझ्न जरुरी छ ।

वैदेशिक रोजगार बाध्यात्मक रोजगारीको रुपमा सृजना भइरहेको छ । विदेश जान रे कमाउने सबै नेपालीको सपना नै भइसक्यो । ‘आमाबुबाले सरकारी जागिर गर भनेर आशीर्वाद दिनुहुन्थ्यो, तर अब त विदेशमा राम्रो कम्पनी हेरेर जा बाबु भन्नुहुन्छ’ भन्छन् कतिपय युवा । अनेकन जोखिम मोलेर विदेशको तातो घाममा पसिना बगाउन पुग्ने ती युवाहरूले देशका लागि रेमिट्यान्स भित्र्याउँछन् तर उनीहरु घर आउँदा स्वयमको घरबार-परिवार नै नहुने स्थिति पनि छ । यसबारे राज्य पुरै बेसरोकार नै छ । केवल युवाहरूको रेमिट्यान्स नहेरौँ, जो घर-परिवारको लागि कमाउन दुःख गर्न विदेश गएका छन् त्यस्ताको परिवारहरूको अवस्था पनि हेरौँ । कहीँ तिनीहरू ठगीमा परेका त छैनन् ? पतिको अनुपस्थितिमा पत्नीलाई कसैले बहकाएको त छैन ? यो पनि एक सामाजिक कारण हो भन्नेतर्फ सचेत रहनु आवश्यक हुन्छ ।

वैदेशिक क्षेत्रमा सुशासनको अभाव

अनुशासन र सुशासन यी दुई महत्वपूर्ण शब्द सबैको जीवनमा लागू हुन्छ । अनुशासनले व्यक्तिविशेषको चरित्र मापन गर्छ भने सुशासनले देशको नीति बलियो भन्ने कुरा बताउँछ । देशको रेमिट्यान्स धानेको वैेदेशिक क्षेत्र साँच्चै सुशासनको अभावमा हिँडिरहेको छ । सरकार फेरेसँगै नयाँ-नयाँ नीतिहरू आउने गरेका छन् । यसमध्ये सबैभन्दा ठूलो फ्रि भिसा फ्रि टिकट प्रमुख हो । सरकारले फ्रि भिसा फ्रि टिकटको नीति ल्याएपनि युवाहरू बढी रकम तिरेर जान बाध्य छन् । यस सन्दर्भमा सरकारले अनुगमन नगरेको हो या युवाहरूले नै सकरकारी नीति बुझ्न नखोजेको हो भन्ने प्रश्न आउँछ । वैदेशिक रोजगारमा जाने तीन तरिका- पहिलो संस्थागत रुपमा जस्तै मेनपावरहरूबाट जाने, सरकारी रूपमा जस्तै कोरिया, इजराल र जापानलगायत देशमा सरकारले नै खुलाएको काम र व्यक्तिगत तरिकाबाट यसअन्तर्गत आफ्नो चिनेजानेको व्यक्तिहरूबाट पनि वैदेशिक रोजगारीमा जाने गरेको देख्न पाइन्छ । मेनपावरहरूले अत्याधिक मात्रामा पैसा लिने र जाने व्यक्ति चर्को व्याजदरमा ऋण लिन बाध्य हुने । यस्ता समस्या अझैसम्म पनि कायम नै छ । यसैबीच वैध र अवैध बाटो भएर जानेहरूको पनि जमात छ । श्रम स्वीकृति नलिइ अर्काको पासपोर्टमा खाडीमा पुगेको घटना पनि हामीले सुन्न र देख्न पाउँछौँ । यति मात्र होइन नेपालमा काम एउटा विदेशमा अर्को काम लगाउने गलत प्रवृत्ति पनि धेरै छ । यो सबै समस्यामा राज्यको अनुगमन फितलो देखिन्छ । श्रममन्त्री जो आएपनि कमदारको हितमा बोल्छन् या मेनपावरको हितमा बोल्छन्, सबैको चासोको विषय हुन्छ तर श्रममन्त्रीहरूको आउनेजाने क्रमले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सकेको देखिन्न ।

आप्रवासी कामदारको पक्षमा भएका केही प्रयासहरू

आप्रवासी कामदराको प्रवाह बढेसँगै श्रम आप्रवासनलाई व्यवस्थित र नियमन गर्न र आप्रवासी कमदारहरूको अधिकारको रक्षाको निमित्त सुरक्षा मापदण्ड अपनाउन थालिएको छ । यसका साथै सुरक्षित व्यवस्थित र मर्यादित श्रम आप्रवासनको लागि बहुपक्षीय, क्षेत्रिय र द्विपक्षीय कानुन व्यवस्थाका साथै अन्तराष्ट्रिय संयन्त्र र क्षेत्रिय परामर्श प्रक्रिया समेतको व्यवस्था भएको छ । यसै सन्दर्भमा, द्विपक्षीय सम्बन्धबाट कायम भएको परामर्श प्रक्रिया र संयन्त्रहरू अन्तराष्ट्रिय श्रम-संगठनका साथै राष्ट्रिय अभ्यासहरूले समेत पहिचान र पुष्टि गरेको अवस्था छ । ‘पिपुल्स फोरम’का अनुसार आईएलओ रोजगारीको लागि आप्रवासन महासन्धि १९४९ आप्रवासी कामदारहरको अधिकारहरू सम्बोधन गर्ने महासन्धी आप्रवासी कामदारहरूको महासन्धि १९७५ र आइ.एल.ओ. सिफारिस नम्बर ८६ मा समेत आप्रवासी कामदारहरूको अधिकार संरक्षणको निम्ति चाल्नुपर्ने कदमहरूको बारेमा उल्लेख गरिएको छ ।