नेपाल र चीनबीच सम्झौता गर्दा विशेष ध्यान दिन विज्ञजनको आग्रह

नेपाल र चीनबीच सम्झौता गर्दा विशेष ध्यान दिन विज्ञजनको आग्रह


आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि अगाडि बढाउँदा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा विज्ञहरूले परिवर्तन र प्रविधिको विकाससँगै राजनीतिक चेतनामा पनि विकास र परिवर्तन आएको भन्दै दुई देशबीच सम्झौता गर्दा विशेष ध्यान दिन आग्रह गरेका हुन् ।

वक्ताहरूले नेपाल–चीन सहयात्रा, सहकार्य, विकास र समृद्धिलाई विशेष जोड दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा छन् । तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्ड करिब १० महिनापछि छिमेकी मुलुक चीनको भ्रमणमा गएका हुन् ।

साक्षात्कारमा अर्थविद डा. चन्द्रमणि अधिकारीले दुई देशबीच कुनै पनि सम्झौता अगाडि बढाउँदा आर्थिक सम्बन्ध, सामाजिक सम्बन्ध, व्यापारिक सम्बन्ध, देशको सार्वभौमसत्ता, स्वाभिमान र राष्ट्रिय अखण्डतालाई विशेष ख्याल गर्नपर्नेमा जोड दिए । “हामीले पनि दुई देशबीचको सहयोग अगाडि बढाउँदा आर्थिक सम्बन्धलाई सुदृढ गर्ने, व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, विकाससम्बन्धी सम्बन्धलाई सुदृढ गर्ने कुरालाई हेर्नुपर्छ, अर्कातिर स्वाभिमान, राष्ट्रिय अखण्डताको विषयलाई पनि ख्याल गर्नपर्ने हुन्छ”, उनको भनाइ थियो । नेपाल दुई ठूला शक्ति राष्ट्रहरूको बीचमा रहेकाले शक्ति, राजनीति, स्रोत, बजार, सम्भाव र प्रविधिलाई मध्यनजर गरेर अगाडि बढ्नुपर्ने तर्क डा. अधिकारीले दिए ।

यस्तै, चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले हरेक सम्झौता आफ्नो देशको राष्ट्रिय स्वार्थ र हितमा हुनुपर्ने बताए । कुनै पनि किसिमको सहयोग लिँदा देशको आर्थिक अवस्था, जनताको क्रयशक्ति, रोजगारी वृद्धि, जनतालाई सुख सुविधा पुग्ने र देशको आर्थिक अवस्था बलियो हुने रूपमा सहयोग केन्द्रित हुनुपर्ने उनको धारणा छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा त्यहाँको बजारमा नेपाली उत्पादनको उपस्थिति हुने खालका सम्झौताहरू गर्न आवश्यक रहेको औँल्याए ।