‘ॐ’ को अर्थ र महत्व

‘ॐ’ को अर्थ र महत्व


पवित्र शब्द ॐलाई अनावश्यक विवादमा ल्याउने काम नगरौँ । एकान्तमा ॐ ध्वनीसँगै ध्यानको सुरुवात गरेर तनावपूर्ण जिन्दगीलाई सहज बनाउने कोसिश गरौँ । जीवन बाँच्दा शरीर, मन र मष्तिष्कलाई आनन्द दिने र जिन्दगीको अन्तिम सास फेर्दै गर्दा आफ्नो महाप्रस्थानलाई सहज बनाउने ॐ को सम्मान गरौँ ।
✍ बबिता बस्नेत

ओमित्येकाक्षरं ब्रह्म व्याहरन्मामनुस्मरन् ।
यः प्रयाति त्यजन्देहं स याति परमां गतिम् ।

श्रीमदभागवत गीताको आठौँ अध्यायमा उल्लेख गरिएको यो श्लोकको अर्थ हुन्छ- ‘जसले सबै इन्द्रियहरूलाई रोकेर, आफ्नो प्राणलाई मष्तिष्कमा स्थापित गरी ब्रम्हास्वरुप एक अक्षर ॐ उच्चारण गर्दै देह त्याग गर्छ उसलाई परमगति नारायाण प्राप्त हुन्छ ।’ परमगति नारायण प्राप्त गर्नुको अर्थ यहाँ मोक्षप्राप्ति हो । ॐ भन्दा भित्रैबाट सास बाहिर आउने हुनाले जिन्दगीको अन्तिम सास फेर्नका लागि सहज हुने अर्थमा यसको महत्व श्रीकृष्णले अर्जुनलाई बताउनुभएको हो भनेर बुझ्न गाह्रो पर्दैन ।

हिन्दु धर्ममा सबैभन्दा महत्वपूर्ण शब्द ॐ को धार्मिक, आध्यात्मिक पक्षसँगै वैज्ञानिकहरूले यसको ध्वनीको वैज्ञानिक पक्षमा पनि खोज अनुसन्धान गरेका छन्, गरिरहेका छन् । ब्रम्हाण्डको पहिलो ध्वनी र शब्द मानिने ॐ लाई मन्त्रका रूपमा एक सय आठ पल्ट उच्चारण गर्दा शारीरिक उर्जा प्राप्त हुने, मानसिक, मनोवैज्ञानिक र भावनात्मक रूपमा सकरात्मक सोच र भाव पैदा हुने भनिएको छ । एक सय आठ उच्चारणको अर्थ एक दुई पल्ट मात्र नभइ केही लामो समय गर भन्ने अर्थमा राखिएको हुनसक्छ । ॐ शब्दको अर्थ यो नै हो भनेर कसैले भन्न सकेको छैन । तथापि, विभिन्न पक्षबाट यसलाई विश्लेषण गर्ने गरिएको छ ।

ब्रम्हा, बिष्णु, महेश्वर तिनैलाई जनाउने शब्दको रुपमा ॐ लाई लिइन्छ । जो उत्पति, पालन र रुपान्तरणसँग सम्बन्धित छ । ॐ लाई मानसिक शान्ति अर्थात् सतोगुण बढाउने शब्द र ध्वनीका रूपमा लिइन्छ । शारीरिक रूपले बाथ, पित्त, कफको सन्तुलनका लागि ॐ मन्त्र महत्वपूर्ण मानिन्छ भने ध्यानमा एकाग्रताका लागि ध्यानको सुरुमै ॐ शब्द उच्चारण गरिन्छ । हाम्रा देवी–देवताका अगाडी ॐ लगाएर आरती गर्ने या पुकार्ने गरिन्छ । हिन्दु धर्ममा सबैभन्दा बढी प्रयोग हुने शब्द ॐ नमः शिवाय हो । ॐ जयजगदिश हरे, ॐ गणेशाय नमः, ॐ भगवतेवासुदेवायः लगायतका धेरै मन्त्र र प्रार्थनाहरू ॐ बाट सुरु हुन्छन् । ॐ ‘अ’ ‘उ’ र ‘म’ तीन शब्दको संयुक्त रूप हो । जसले सचेतनायुक्त, गहिराइ र फराकिलो अर्थ दिन्छ । ‘अ’ को उच्चारण गर्दा नाभीमा प्रभाव महसूस हुन्छ, ‘उ’ को उच्चरणले हृदयमा र ‘म’ को उच्चारणले मष्तिष्क र शरीरमा प्रभाव र संवेदना महसूस हुन्छ । नाभीको सम्बन्ध जननीसँग छ, हृदय भावनाको केन्द्र हो भने शरीरले बाह्यस्वरुपको प्रतिनिधित्व गरिरहेको हुन्छ । ॐ नै यस्तो ध्वनी हो जसबाट सबै ध्वनीहरू उत्पन्न हुन्छन् भनिन्छ । ॐ शब्द पहिलोपल्ट उल्लेख भएको शास्त्र वेद हो । वेदको मूल स्वरुपमा ॐ उल्लेख भएको विभिन्न दस्ताबेजहरूमा उल्लेख छ ।

यो संसारमा भगवान छन् कि छैनन् ? आत्मा हुन्छ कि हुँदैन ? पुनर्जन्म हुन्छ कि हुँदैन ? भन्ने कुरालाई लिएर विभिन्न धर्ममा फरक मान्यताहरू छन् । तर ॐ को बोरमा हिन्दु, बौद्ध, जैन यी तीन धर्ममा करिब उस्तै-उस्तै मान्यताहरू रहेका छन् । बौद्ध धर्मको मन्त्र ‘ॐ मणी पद्मे हुँ’ शरीर, बाणी र मनसँग सम्बन्धित छ । जीवनलाई कमलको फूल जस्तै कन्चन र स्वच्छ राख्दै मणीरुपी गुणले युक्त पार्नुपर्छ भन्ने मूल भाव रहेको ‘ॐ मणी पद्मे हुँ’ संसारभरीका बौद्ध धर्मवालम्बीहरूले जप्ने मन्त्र हो । हिन्दु, बौद्ध र जैन यी तिनै धर्ममा ॐलाई पवित्र शब्द मानिएको छ । ॐ लाई ब्रम्हाण्डको रहस्यमय ध्वनी मानिन्छ ।

हिन्दु धर्ममा हामीले सानैदेखि अर्थ नै नखोजी ॐ शब्द उच्चारण गर्दै आयौँ । सनातनी धर्मका कतिपय कुराहरू बुझ्दै जाँदा शारीरिक, मानसिक र भावनात्मक रूपमा मानिसलाई चुस्त दुरुस्त राख्नका लागि प्रयोग हुने गरेका रहेछन् । तीमध्ये महत्वपूर्ण मन्त्र ॐ हो । एकान्तमा रहेर उच्चारण गरिने ॐको ध्वनीले मानिसमा तनाव कम गर्ने, लोभ, इष्र्या जस्ता कुरालाई आफूबाट टाढा राख्ने भनी प्रयोगकर्ताहरूले विभिन्न फोरममा आफ्ना अनुभवहरू सेयर गर्ने गरेका छन् । नकरात्मक सोच हटाएर सकारात्मक सोचको विकास गर्नका लागि पनि ॐ मन्त्रोच्चारण महत्वपूर्ण मानिएको छ । ॐ लाई शून्यको आवाज पनि भनिन्छ । लामो समय ध्यान गर्नेहरूले एकान्तमा बस्दा आफूले या अरु कसैले उच्चारण नगर्दै पनि ॐ को ध्वनी स्वतः कानमा गुञ्जिने गरेको बताउने गरेको छन् । आध्यात्म मार्गमा हिँडेकाहरूको ध्यानको मात्रा बढ्दै जाँदा आँखा चिम्लिएर बसेपछि ॐ को आवाज सुनिने अवस्था सिर्जना हुन्छ । तर आफूलाई त्याहाँसम्म पुऱ्याउनका लागि निरन्तरको मेहेनत र लगनशीलताको आवश्यकता पर्छ । ॐ सानतन धर्मको प्रतीक हो, शिवको प्रतीक हो । आत्मा, ब्रम्ह र मोक्षका बारेमा जान्ने चाहना राख्नेहरूका लागि ॐ महत्वपूर्ण शब्द हो, मन्त्र हो । ध्वनी उत्पन्न हुनका लागि घर्षण आवश्यक हुन्छ, ॐलाई बिनाघर्षण उत्पन्न ध्वनी मानिन्छ ।

विश्वमा ॐ ध्वनी र ॐको चित्र अर्थात् प्रतीकको प्रयोग विभिन्न स्थानमा फरक-फरक तवरले प्रयोग भएको हुनसक्छ । हिजोआज कतिपय स्थानमा कुनैपनि दुर्घटनावश मानिसको आवाज जाँदा आवाज फर्काउनका लागि गरिने स्पीच थेरापीको सुरुवात ॐ बाट गरिने रहेछ । मनोवैज्ञानिक उपचारका लागि पनि ॐ निकै लाभदायक रहेको प्रयोगकर्ताहरूले विभिन्न सञ्चारमाध्यमबाट बताएको सुनिन्छ । यस्तो एउटा पवित्र शब्द ॐ को प्रयोग सकरात्मक अर्थमा जसले जसरी गरेपनि हुन्छ । प्रज्ञा नेपाली बृहत् शब्द कोषमा ॐ लाई १. प्रणव र इश्वरवाचक शब्द २. ब्रम्हाण्डको सार भनिएको छ । यसैगरी ॐकारलाई १. अ उ म, यी तीन अक्षर जुटेर बनेको ॐ अक्षर, परमात्मा स्वरुप र सर्वत्र ब्यापक मानिएको अक्षर, यज्ञ, दान, तप आदि कर्म गर्दा मन्त्रको अगाडि प्रयोग गरिने बीज र वेदको आदि अक्षर, २. अब्ययात्मक रूपमा सम्मान, स्वीकृति, गम्भीरता, समर्थन, असलपन, मंगलता, बचाउ आदिलाई बुझाउने शब्द, ३. बम्हाको मुखबाट उत्पन्न स्वर, ४. वेदाध्यययनको आदि र अन्त्यमा प्रयोग गरिने पवित्र शब्द भनिएको छ । यस्तो पवित्र शब्द ॐलाई अनावश्यक विवादमा ल्याउने काम नगरौँ । एकान्तमा ॐ ध्वनीसँगै ध्यानको सुरुवात गरेर तनावपूर्ण जिन्दगीलाई सहज बनाउने कोसिश गरौँ । जीवन बाँच्दा शरीर, मन र मष्तिष्कलाई आनन्द दिने र जिन्दगीको अन्तिम सास फेर्दै गर्दा आफ्नो महाप्रस्थानलाई सहज बनाउने ॐ को सम्मान गरौँ ।