पूर्व श्री ५ को नयाँ रणनीति

पूर्व श्री ५ को नयाँ रणनीति


राजसंस्था पुनर्स्थापनाका निम्ति अनेकौँ रणनीतिक र अदृष्य पहल गर्दै आउनुभएका पूर्व श्री ५ ज्ञानेन्द्र अब नेपाली जनताकै बलमा उठ्ने तयारीमा लाग्नुभएको छ । यसअघि सकारात्मक अपेक्षाका साथ उहाँले पटक-पटक भारतको भ्रमण गर्नुभएको थियो र, अनेकौँ कुटनीतिक पहल पनि गर्ने गर्नुभएको थियो ।

विभिन्न जिल्लाको भ्रमणका क्रममा जनताको साथपछि उत्साहित हुनुभएका राजा ज्ञानेन्द्र यही असोज ७ गते भक्तपुरको भ्रमणपछि थप उत्साहित हुनुभएको छ । तलेजु भवानी र भैरबको दर्शन गर्ने क्रममा भक्तपुरमा स्थानीयवासीको ब्यापक सहभागिता रहेको थियो । स्थानीयवासीले राजा ज्ञानेन्द्रलाई स्वागत गर्ने क्रममा स्वस्फूर्त रूपमा ‘नारायणहिटी खाली गर’को नारा लगाएका थिए ।

प्राप्त जानकारीअनुसार, राजाको भ्रमण आयोजकहरूले हाम्रो राजा हाम्रो देश, राजसंस्था जिन्दावादलगायतका नारा तय गरेपनि नारायणहिटी खाली गर भन्ने नारा भने पूर्वनिर्धारित थिएन । भक्तपुरमा हुने कुनैपनि जात्रा, सभा, समारोहमा भन्दा कैंयौँ गुणा बढी मानिसहरूको उपस्थिति त्यसदिन देखिएको थियो । राजारानीको स्वागत गर्नका लागि स्थानीयबासीहरू घर खाली गरेर सडकमा ओर्लिएका थिए । भक्तपुरका विभिन्न स्थान र मूख्य द्वारमै ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको ऐतिहासिक एवम् साँस्कृतिक नगर भक्तपुर भ्रमणमा हार्दिक स्वागत गर्दछौँ’ भनी राजाको फोटोसहित तुल, ब्यानरहरू राखिएको थियो ।

राजा ज्ञानेन्द्रको स्वागतका लागि भक्तपुरका स्थानीय अनन्त धौभडेलको संयोजकत्वमा आयोजक समिति बनेको थियो । उक्त समितिले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार भनी सम्बोधन गर्दै एकातिर राजा र अर्कोतिर रानी कोमलको तस्बिरसहित निमन्त्रणा पत्र पठाएको थियो । निमन्त्रणापत्रमा ‘२०८० असोज ७ गते आइतबारका दिन यस भक्तपुर जिल्लाले श्री ५ महाराजाधिराज सरकार तथा श्री ५ बडामहारानी सरकारको भब्य स्वागत अभिवादनका लागि सरकारका जुनाफमा सभक्ति निमन्त्रणा टक्र्ऱ्याउँछौँ’ भनी लेखिएको थियो । पत्र सदस्यसचिव रामेश्वर थापा र संयोजक अनन्त धौभडेलको तर्फबाट वितरण गरिएको थियो ।

जब कि भक्तपुरमा राजाको त्यस्तो भब्य स्वागतका लागि नेपाल मजदुर किसान पार्टीको सहमतिबिना सम्भव देखिँदैन । त्यसो भए राजाको भ्रमणमा के नेपाल मजदुर किसान पार्टी र नेता नारायणमान बिजुक्छेको समर्थन थियो त भन्ने प्रश्न स्वभाविक रूपमा उठ्दछ । श्रोतका अनुसार, नेता बिजुक्छेको असहमति थिएन । नेता बिजुक्छे र उहाँको दलले अड्चन पैदा गरेको भए त्यो सब सम्भव थिएन, तर त्यस्तो कुनै अड्चन पैदा गरिएन । घर-घरबाट मानिसहरु जाँदा नगएपनि हुन्छ या नजाउ भनिएन । राजाले भक्तपुर पुगेपछि नेता नारायणमान बिजुक्छेसँग भेट्न चाहेको तर उहाँले अहिले नगरौँ भन्ने जवाफ दिनुभएको थाहा भएको छ ।

प्राप्त जानकारीअनुसार, राजा ज्ञानेन्द्रलाई अहिले कीर्तिपुर र ललितपुरबाट पनि भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको छ । मंगलबजारका स्थानीय जनताको तर्फबाट ललितपुर भ्रमणको निमन्त्रणा गएको तर कहिले गर्ने मिति तय नभइसकेको बुझिएको छ ।

गणतन्त्र घोषणाको १५ वर्षसम्म पूर्व श्री ५ ‘जसले गणतन्त्र घोषणा गराएका थिए, तिनैलाई विश्वासमा लिएर मात्र राजसंस्था पुनर्बहाली हुने’ विश्वासमा हुनुहुन्थ्यो । यस अवधिमा उहाँले पटक-पटक भारतको भ्रमण गरेर विश्वास पुनस्थार्पित गर्ने प्रयास गर्नुभएको थियो । तर, अहिलेसम्मका प्रयासले परिणाम नदिने देखिएपछि उहाँले नेपाली जनताकै बलमा राजसंस्था पुनर्स्थापित गर्ने नयाँ रणनीतिका साथ विभिन्न कार्यक्रमको आयोजना गर्न थाल्नुभएको छ ।