‘आपराधिक विश्वासघात’मा मुद्दा परेका अनमोल केसीले प्रहरीलाई नै चुनौती दिएपछि…

‘आपराधिक विश्वासघात’मा मुद्दा परेका अनमोल केसीले प्रहरीलाई नै चुनौती दिएपछि…


अभिनेता भुवन केसीका छोरा एवम् फिल्म कलाकार अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अभिनेता केसीलाई साँगाबाट शुक्रबार पक्राउ गरेको हो ।

केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् । एसएसपी राठौरका अनुसार केसीलाई अहिले काठमाडौं ल्याइएको छ ।

चलचित्र ‘रावायण’मा अभिनय गर्नका लागि अनमोल केसीले रु १० लाख लिएको तर सम्झौता गर्न पनि नमानेको र सुटिङमा पनि नआएको भनी जाहेरी परेपछि सोही जाहेरीका आधारमा पक्राउ गरिएको राठौरले जानकारी दिए । सहमतिका लागि बोलाउँदासमेत नआएर प्रहरीले सकेको गरोस् भन्ने प्रतिक्रिया दिएपछि केसीलाई पक्राउ गरी अनुसन्धान थालिएको र आइतबार म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार केसीसहित चलचित्रका अन्य कलाकारले गरेर निर्माणपक्षको कूल एक करोड बढी पैसा लगेको पाइएको छ । निर्माणकर्ताले यसरी रकम लिएर सम्झौता पनि नगरेको र छायाङ्कनमा पनि नआएको भन्दै जाहेरी दिएका बताइएको छ । अन्यका हकमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।