सोह्रश्राद्ध र श्राद्ध : पुर्खाप्रतिको श्रद्धा र सम्मान

सोह्रश्राद्ध र श्राद्ध : पुर्खाप्रतिको श्रद्धा र सम्मान


पुर्खालाई संवेदनशील भएर तर्पण दिनुको अर्थ उहाँहरूप्रति समर्पित भएर आत्मालाई तृप्त पार्ने कोशिस हो । हावाले बास्ना लिएर फुलचाहिँ बोटमै छोडिदिए जस्तो शरीरलाई छोडेर आत्मा डुलिरहेको हुन्छ या जीवितै हुन्छ भन्ने मान्यतामा रहेर श्राद्धले निरन्तरता पाएको हो ।
✍ बबिता बस्नेत

वि.सं. २०७६ असोज ८ गते प्रकाशित मेरो लेख ‘श्राद्ध किन गर्ने ?’ लाई लिएर काठमाडौंको बाँसबारीनिवासी सरोजजीले लेख पढेर आवश्यककता पर्नेहरूलाई खान दिन थालेको बताउनु भएको थियो । अहिलेपनि बेला बेलामा विभिन्न आश्रममा खाना खुवाएको फोटोहरू पोष्ट गरिरहनुहुन्छ । कहिलेकाँही लेखेर के हुन्छ र? जस्तो लाग्छ, फेरि यस्ता प्रतिक्रियाहरू पाउँदा केही त भइरहेको छ र हुन्छ भन्ने लाग्छ । यो पुरानै लेखको परिमार्जित रुप हो । हाम्रा पुर्खाहरूले चलाएका कतिपय चलनहरू धेरै राम्रा छन् । काजक्रिया र श्राद्ध तिनै धेरै राम्रा कार्यमध्ये पर्छन् ।

महाभारतको युद्धपछि युद्धका नायक, महानायक मध्ये युधिश्ठिरलाई मात्रै स्वर्गको बाटो खुल्ला भएको थियो भनिएको छ । तथापि, स्वर्गको बाटोमा विभिन्न पात्रहरूको एकार्कासँग भेट भएको थियो । सबैको आ-आफ्नो कथा छ तर सोह्र श्राद्धको कथा महाभारतका एक प्रमुख पात्र कर्णसँग सम्बन्धित छ । जब कर्णको मृत्यु भयो, उनको आत्मा स्वर्गमा पुग्यो । कर्णको आत्मालाई स्वर्गमा ठुलो सम्मान गर्दै खाना खानेबेलामा सुनको थालमा राखेर सुन नै खानका लागि दिइयो । सुन खान सक्ने कुरा भएन, अति भोक लागेपछि कर्णले स्वर्गका राजा इन्द्रसँग आफूलाई खानाको साटो किन सुन दिइयो भनेर सोध्छन् । कर्णले सधै सुन मात्रै दान गरेकाले खानाको रूपमा सुन पाएको जवाफ पाउँछन् । दानी भनेर कहलिएका कर्णले कहिल्यै कसैलाई खाना, बस्त्र जस्ता कुरा दान गरेका हुँदैनन् । अब के गर्ने ? इन्द्रसँगको सल्लाहमा कर्ण स्वर्गबाट १६ दिनका लागि पृथ्वीमा आएर भोजन र पानी दान गर्छन् ।

जीवित मानिसहरूका लागि मात्र नभएर उनले पितृले समेत पाउने गरी दान गरेकाले त्यही समयदेखि सोह्रश्राद्धको चलन बस्यो भन्ने मान्यता छ । यसले मानिसका लागि सुन, हिरा, मोती भन्दा खाना र पानीको महत्व दर्शाउँछ । साथै खानेकुरा बाँडेर खान र खान नपुग्नेहरूलाई खुवाउन प्रेरित गर्छ । सामान्यतया हामीकहाँ ‘अन्नपानीको शरीर’ भन्ने चलन छ । मानिस बाँचुन्जेल खानाको सन्तुलन मिलाउन आवश्यक छ, श्राद्धमा पनि जल र भोजन नै पितृलाई चढाइन्छ । विश्वास या अन्धविश्वास आफ्ना ठाउँमा होलान्, पितृको सम्मान र पुर्खासँगको ‘कनेक्सन’का लागि श्राद्ध महत्वपूर्ण छ । विगतमा छोराले गर्ने चलन भएपनि श्राद्ध छोरा या छोरी सन्तान जसले गरेपनि हुन्छ ।

जीवन र मृत्युको बीचमा एउटा मात्रै कुरा छ, त्यो हो सास । हामीले सास फेर्न छोड्यौँ या सकेनौँ भने मृत शरीरमा परिणत हुन्छौँ । मान्छे मरेपछि के हुन्छ ? कहाँ जान्छ ? यस्तै हुन्छ, यहीँ पुग्छ भनेर अहिलेसम्म कसैले भन्न सकेको छैन । तर पनि स्वर्ग र नर्कको परिकल्पना भने गरिएको छ । मरेपछि पनि सुखद् अनुभुति गर्ने अवस्थामा पुग्यो या रह्यो भने स्वर्ग, कष्ट भोग्नुपर्ने या दुःखद अनुभूति गर्ने अवस्था आए, नर्क । स्वर्ग र नर्क भौगोलिक स्थान नभएर अनुभूति गर्ने अवस्था हुन् भन्न सकिन्छ । मानिस मरेपनि आत्मा जीवित रहन्छ भन्ने छ । जसका कारण शरीर मरेपछि पनि आत्माले शरीरमा पुन प्रवेश गर्ने कोशिस गरिरहन्छ भनेर गुरु, सद्गुरुहरूले भनेको पाइन्छ । मृत्युमा पनि सामान्य मृत्यु र अकस्मातै या भनौँ दुर्घटना लगायतबाट हुने मृत्युमा फरक हुने र अकस्मात मृत्यु हुनेहरूको आत्मा बढी भड्किन्छ भन्नेछ । सामान्यतया मानिस मरेपछि चार पाँच घण्टाभित्र जलाइसक्नु भन्ने भएपनि हिजोआज कतिका सन्तान बाहिर बस्ने हुँदा केही दिन अस्पतालमा राख्नुपर्ने अवस्था पनि छ ।

हिन्दु धर्मको सबै भन्दा राम्रो पक्ष मृत्यु वरण गरेका र जीवित सबै आफन्तका लागि सम्मान ब्यक्त गर्न कुनै न कुनै पर्व र तिथिहरू छन् । दाजुभाइ, दिदीबैनी, बाबुआमाका लागि मात्र नभएर पितृहरूलाई सम्झनका लागि पनि विशेष समय छुट्याइएको छ, त्यो हो सोह्र श्राद्ध ।

हिन्दु धर्म परम्परामा १३ दिने संस्कारका पछाडि यही आत्माको भड्काव महत्वपूर्ण पक्ष हो भन्न सकिन्छ । यद्यपि काजक्रियाका रूपमा १३ दिनसम्म या आफ्नो परम्पराअनुरुप आफन्तको शोक बार्नु मनोवैज्ञानिक रूपमा पनि धेरै महत्वपूर्ण छ । आफ्नो मान्छेको मृत्युको पीडाबाट बाहिरिनका लागि १३ दिने संस्कारले हिलिङको काम गरिरहेको हुन्छ । आफन्तहरू आउँछन्, जान्छन्, के भएको थियो, कसो भएको थियो भन्छन्, बाँच्दा जे जस्तो ब्यवहार गरेपनि मरेर गएपछि कस्तो राम्रो मानिस हुनुहुन्थ्यो भन्छन् । यस्ता कुराले बिस्तार-बिस्तार मानिसलाई आफन्तको मृत्युलाई सहज रूपमा लिन मद्दत पुग्छ । अर्को कुरा शरीर मरेर गएपनि आलो आत्मालाई प्रत्येक दिनको संस्कारमा चढाइने खानेकुरा, पानीलगायतले तृप्त गर्छ भन्ने पनि छ । हामीकहाँ काजक्रिया विभिन्न जातजातिमा फरक छ । कतिपय जनजातिमा ३ दिन मात्र काजक्रिया गर्ने चलन छ । सम्पत्ति लगायतका कुरामा मोह बढी भएका मानिसलाई मोक्षप्राप्तिका लागि समय लाग्ने र मोह कम हुनेहरू चाँडै मुक्त हुने मान्यता पनि छ । यसरी हेर्दा बाहुन क्षेत्रीलाई भन्दा जनजातिलाई मोह कम भएर काजक्रिया पनि कम भएको हो कि जस्तो पनि लाग्छ । सन्यास लिएका साधुहरूलाई पनि जिन्दगी र सम्पत्ति प्रतिको मोह हुँदैन । उनीहरूको काजक्रियाको प्रक्रिया पनि छोटो हुन्छ ।

मानिस मरेपछि सुरुमा १३ दिन, त्यसपछि ४५ दिन र एक वर्षसम्म प्रत्येक महिना मासिक श्राद्ध र पछि वर्षमा एक पल्ट तिथि मिलाएर श्राद्ध गरिन्छ । यसैगरी पितृका नाममा प्रत्येक वर्ष सोह्रश्राद्धमा श्राद्ध गरिन्छ । श्राद्धको अर्थ श्रद्धा हो, आफ्ना पिता पुर्खा प्रतिको श्रद्धा । हिन्दु धर्मको सबै भन्दा राम्रो पक्ष मृत्यु वरण गरेका र जीवित सबै आफन्तका लागि सम्मान ब्यक्त गर्न कुनै न कुनै पर्व र तिथिहरू छन् । दाजुभाइ, दिदीबैनी, बाबुआमाका लागि मात्र नभएर पितृहरूलाई सम्झनका लागि पनि विशेष समय छुट्याइएको छ, त्यो हो सोह्र श्राद्ध । श्राद्ध पितृ (पुर्खा) को सम्झना र संस्कृतिको माध्यमबाट उहाँहरूसँगको सम्पर्कसँग जोडिएको छ । हामीले जतिसुकै इन्कार गरौँ हाम्रा पुर्खाको कुनै न कुनै अंश हामीसँग शारीरिक रूपमा जोडिएर आएको हुन्छ ।

पुर्खालाई संवेदनशील भएर तर्पण दिनुको अर्थ उहाँहरूप्रति समर्पित भएर आत्मालाई तृप्त पार्ने कोशिस हो । हावाले बास्ना लिएर फुलचाहिँ बोटमै छोडिदिए जस्तो शरीरलाई छोडेर आत्मा डुलिरहेको हुन्छ या जीवितै हुन्छ भन्ने मान्यतामा रहेर श्राद्धले निरन्तरता पाएको हो । श्राद्ध गरेपछि मैले तिमीहरूले दिएको पाएँ भन्नेहरू भेटिएका छैनन् होला तर श्राद्ध नगर्ने, काजक्रिया नभएका कतिपय आत्माहरूले अरुको शरीरमा आएर मैले खान पाइनँ, म मोक्ष भएको छैन भनेका अनेक उदाहरणहरू हाम्रो समाजमा छन् । त्यस प्रकारका कुरा सुनेपछि कतिले पुस्तौँअघिका आफ्ना पुर्खाको मृत्यु संस्कार गरेका घटनाहरू पनि छन् ।

मृत्यु संस्कार गर्नुअघि र गर्दैगर्दा आत्माले आफन्तको शरीरमा पस्ने कोशिस गर्ने भएकाले आत्माको मुक्तिको कुरा गर्नेहरू पनि छन् । मान्छे जिउँदो हुँदा स्वतन्त्रता चाहन्छ र मरेपछि पनि मुक्ति नै चाहन्छ । मोक्ष, मुक्ति, पुनर्जन्म जस्ता कुरा हिन्दुशास्त्रहरूमा उल्लेख गरिएको छ । कतिपयले हिजोआज अब समयअनुसार चलन, परम्परा पनि परिवर्तन गर्नुपर्छ, कहाँ श्राद्ध गर्नु ? यसो जल चढायो भइहाल्छ नि, मनले पो मान्ने हो भनेको पनि सुनिन्छ । तर कतिपय हाम्रा परम्पराहरू नसोचिकन चलाइएका छैनन् । निश्चय नै जतिसुकै निकटवर्ती भएपनि मरिसकेको मानिसले मैले पाएँ या पाइनँ भन्दैन, त्यसैले विश्वास, अन्धविश्वास जे मानेपनि हुन्छ तर पुर्खाप्रतिको श्रद्धा आदर र सम्मान हो । जुन श्रद्धा मानिसहरूले श्राद्धमार्फत गर्छन् । यदि तिथि, श्राद्ध जस्ता कुराहरू हुँदैनथे त मानिसले आफ्नो पृष्ठभूमिलाई संवेदनशील भएर सम्मान ब्यक्त गर्ने अवसर पनि पाउँदैन थिए होला । सोह्र श्राद्ध भनेर सोह्र दिनसम्म सबै पितृलाई सम्झनका लागि विशेष समय छुट्याइएको छ । यसलाई पितृप्रतिको सामूहिक सम्मान पनि भन्न मिल्छ ।